+
+

बागमतीका ५ हजार जनालाई सीप सिकाउँदै युवा परिषद्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १२:५०

२५ वैशाख, हेटौंडा । हेटौंडामा दोस्रो प्रदेश युवा सम्मेलन आयोजना हुँदैछ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत २८, २९ र ३० वैशाखमा युवा सम्मेलन हुन लागेको हो ।

३ दिने कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका युवा सहभागी हुने प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । सम्मेलनमा २ सय जनाभन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा सहभागी हुनेछन् ।

सम्मेलनमा युवाको ज्ञान सीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । युवा सम्मेलनमा ‘शिक्षामा कहाँ छ समस्या ?’, ‘नीति, राजनीति र समृद्धि’, ‘डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना’, ‘नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता’, ‘विदेशमा आर्जित ज्ञान र सीपः देशमा लगानीको सम्भावना’ र मुख्यमन्त्रीसँग कुरालगायत विषय वस्तुमाथि छलफल हुने परिषद्ले जनाएको छ ।

युवा सम्मेलन पश्चात् २०८१ लाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईं बताउँछन् । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उनले जनाए । ३९० घण्टाको सीपमूलक निःशुल्क मन्टेस्वरी तालिम आयोजना सुरु भइसकेको उनको भनाइ छ ।

युवा सम्मेलनका लागि १५ लाख बजेट विनियोजन गरिएको परिषद्ले जनाएको छ । कुल १२ करोड रुपैयाँ बजेटमध्ये ५ करोड रुपैयाँ तालिम र सीप परीक्षणमा खर्च गर्ने योजनामा परिषद् रहेको उपाध्यक्ष चौलागाईंले बताए । बाँकी बजेट रकम उद्यमशीलताका लागि टेवा पुँजीमा प्रयोग गर्ने गरी अघि बढेको उनले बताए ।

परिषदले प्रदेश युवा नीति–२०७९ तयार पारेर काम गरिरहेको जनाएको छ । परिषदले गतवर्ष आयोजना गरेको युवा सम्मेलनबाट चालू आर्थिक वर्ष ०८०÷८१ का लागि आवश्यक बजेट विनियोजन भएको थियो । पहिलो प्रदेश युवा सम्मेलनले तयार गरेको ११ बुँदे घोषणा पत्रमा ७ वटा विषयलाई प्रदेश सरकारले चालु आर्थिक वर्षबाट कार्यान्वयन गरेको उपाध्यक्ष चौलागाईले दाबी गरे ।

कस्ता तालिम दिँदैछ परिषद् ?

परिषद्ले १० वटा क्षेत्रमा एक सय पेशाका सीप सिकाइ, सीप परीक्षण पश्चात् टेवा पुँजी प्रदान गर्ने गरी कार्यक्रम तयार पारेको छ । १० हजार बढी युवाबाट तालिमका लागि प्रस्ताव आएको परिषद्ले जनाएको छ ।

सिलाइबुनाई, ब्युटीपार्लरलगायतका माग बढी आएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए । सीप परीक्षण नहुने र पाठ्यक्रम नभएकाले फरक र आवश्यकता अनुसारको तालिम सञ्चालन गर्न कठिन रहेको उनको भनाइ छ ।

सूचना प्रविधिको क्षेत्रका केही विषयमा तालिम सञ्चालन गर्ने तयारीमा परिषद् छ । ग्राफिक्स डिजाइन, फोटोसप, इम्ब्रोइडरीलगायतका नयाँ विधामा तालिम सञ्चालनको तयारी भइरहेको परिषद्ले जनाएको छ । होटल तथा पर्यटन, निर्माण, कृषि, सेवा, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा प्रदेशका १३ वटै जिल्लाका युवालाई सीप सिकाइने भएको हो ।

उनीहरुलाई तालिम दिएर सीप परीक्षण पनि गर्ने उपाध्यक्ष चौलागाईंले बताए । स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात् सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने उनले बताए ।

युवा सम्मेलनमा के कार्यक्रम हुन्छन् ?

युवा सम्मेलनमा जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइने परिषद्ले उल्लेख गरेको छ ।

सम्मेलनमा शिक्षा, सीप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका क्षेत्रमा गरेर ५ वटा विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । यी सत्रमा उठान भएका मुद्दामा छलफलका लागि युवा सम्मेलनको अन्तिम दिन अर्थात् २९ वैशाखमा मुख्यमन्त्रीसँग युवा कार्यक्रम गर्ने तयारी परिषद्को छ ।

युवा लक्षित व्यावहारिकता र प्रयोगात्मक शिक्षा प्रणालीको विकासका सन्दर्भम पनि बहस हुने जनाइएको छ । ‘शिक्षाः कहाँ छ समस्या ?’ भन्ने विषयमा डा. विश्वनाथ कोइराला र सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले सहजिकरण गर्नेछन् । उक्त सेसनका लागि बाल शिक्षामा पीएचडी गरेकी मिनाक्षी दाहाल प्यानलिष्टमा रहने तयारी भएको छ ।

यसैगरी, डिजिटल साक्षरताका विषयमा विशेष प्रस्तुति हुने उपाध्यक्ष चौलागाईंले जानकारी दिए । डिजिटल साक्षरताको अभावका कारण प्रविधिको दुरुपयोग बढ्दो क्रममा रहेको र त्यसले समाजमा नकारात्मक असर थपिएको बरे अन्तरक्रिया हुने उनले बताए । नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा पनि विशेष प्रस्तुति रहनेछ ।

सम्मेलनमा युवाहरुको राजनीतिक चेत, सहभागिता, नीतिगत सुधारका विषयमा रहेका समस्या समाधानकाको उपाय खोजिने र नेपालको सम्भावनालाई बहसमा उतार्न संघीय सांसदहरुसँग पनि अन्तरक्रिया गरिने भएको छ । जसका लागि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेस सचेतक सुशिला थिङ, माओवादी केन्द्रका सांसद माधव सापकोटा र रास्वपाका मनिष झा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?