+
+

रास्वपाको विश्वास : राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने दिन संसद् अवरोध हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १९:५९
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार

३० वैशाख, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन संसद्‌मा कुनै पनि राजनीतिक दलले अवरोध नगर्ने विश्वास व्यक्त गरेको छ ।

आगामी जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने तय भएको छ ।

उक्त बैठकको तयारीका लागि सभामुख देवराज घिमिरेले आइतबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका थिए ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने दिन संसद् अवरोध नहुने विश्वास व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘नीति तथा कार्यक्रम महत्त्वको विषय हो । त्यस दिन (राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने दिन) असंसदीय गतिविधि हुन्छन् भन्ने लाग्दैन ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने उसको माग छ ।

यही माग राखेर कांग्रेसले गत शुक्रबार बसेको बर्खे अधिवेशनको पहिलो दिनको बैठकमै वेल घेराउ र नाराबाजी गरेको थियो । कांग्रेसको अवरोधका कारण अधिवेशनको पहिलो दिनको बैठक नै कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

अब बस्ने बैठक अगाडि संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ । अन्यथा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम प्रभावित हुन सक्ने कांग्रेसका कतिपय नेताहरूले बताउँदै आएका छन् ।

तर राष्ट्रपति नै संसद्‌मा आउने दिन अवरोध गर्ने जस्तो कार्य नहुनेमा आफूहरू विश्वस्त रहेको रास्वपाका प्रमुख सचेतक परियारले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?