+
+

दर्जन बढी ठूला जलविद्युतको वित्तीय व्यवस्था र निर्माण सुरु घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १७:१२
Photo Credit : नवीन बराल/द थर्ड पोल
फाइल तस्वीर

१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) भित्र दर्जन बढी ठूला जलविद्युत् आयोजनाको पूर्वतयारी सक्ने, वित्तीय व्यवस्था गर्ने र निमार्ण अगाडि बढाउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम संसद्‍मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

सरकारले बूढीगण्डकी र नलसिंगाड जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने घोषणा गरेको हो । दुधकोशी जलाशययुक्त आयोजना निमार्ण पूर्वका कार्य सम्पन्न गर्ने घोषणा गरेको हो ।

यस्तै माथिल्लो अरुण, फुकोट कर्णाली, तामाकोशी–५, जगदुल्लाह र चैनपुर सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सहित कार्यन्वयन सुरु गर्ने घोषणा गरेको हो ।

घुन्सा र सिम्भुवा जलविद्युत् आयोजना रेमिट हाइड्रोको अवधारणा अगाडि बढाउने घोषणा सरकारले गरेको छ । यस्तै कर्णाली चिसापानी जलविद्युत् आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने भएको छ ।

प्रसारण लाइनतर्फ हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निमार्ण आगामी आवमा सम्पन्न गर्ने भएको छ । यस्तै बूढीगण्डकी करिडोर प्रसारण लाइन निमार्ण सुरु गर्ने तथा न्यु–बुटवल गोरखपुर प्रसारण लाइन निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो ।

इनरुवा–पूर्णिमा र दोधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तयार गरी निमार्ण सुरु गर्ने घोषणा पनि सरकारले गरेको छ ।

राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत्, सौर्य एवम् वायु ऊर्जामार्फत् विद्युतीकरण गर्ने तथा आगामी आवभित्र कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा विद्युतीकरण गर्ने घोषणा सरकारले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?