+
+

प्रकाश दूतराजको म्युजिकल फिल्म ‘करिम’को प्रशंसासँगै किन भइरहेको छ आलोचना ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २ गते १२:३६

काठमाडौं । गायक प्रकाश दूतराजले ल्याएको ‘म्युजिकल फिल्म’ ‘करिम’ यतिबेला चर्चामा छ । रिलिज भएको दुई दिनमा यसलाई ३ लाख ४० हजार पटक हेरिएको छ ।

१५ मिनेट लामो यो सांगीतिक फिल्मले वादी समुदायका चेलीलाई जबर्जस्ती यौन व्यवसायमा लाग्न बाध्य तुल्याउने र उनीहरुलाई शोषण गरिएको मर्मस्पर्शी कथा पेश गर्छ ।

भिडियोको सुरुमै दलित समुदायभित्रको पनि सीमान्तकृत समुदाय वादीको ऐतिहासिक र सामाजिक अवस्थाको तथ्य पेश गरिएको छ । वादी समुदायका छोरी, चेली र आमाप्रति यो म्युजिकल फिल्म समर्पित गरिएको उल्लेख छ ।

दूतराजकै शब्द, संगीत रहेको गीतमा प्रकाश र शान्तिश्री परियारको स्वर छ । एक युवती पात्रमार्फत दूतराजले फिल्ममा बादी समुदायको परिस्थितीको चित्रण प्रयत्न गरेका छन् । उनी स्वयं यसमा हुलाकीको भूमिकामा छन् ।

चरित्र चित्रण, छायांकन र लेखनको कोणबाट दूतराजले यो सांगीतिक फिल्म बनाउन मेहनत गरेको देखिन्छ । आफ्नो ‘एकल दृष्टिकोण’ शैलीको कथावाचनबाट उनले संगीतसँगै कथा भनेका छन् । नवीन घर्ती मगरको निर्देशन र अनिल मानन्धरको छायांकनसँग दूतराजले सांगीतिक संयोजन गरेका छन् ।

यो सांगीतिक फिल्मको मुख्य विषयवस्तु वादी समुदायका बालिका र युवतीलाई पैसाको लागि जबर्जस्ती यौन कार्यमा लाग्न बाध्य बनाउने पक्ष हो । यो भिडियोलाई लिएर दूतराजले एकैसाथ प्रशंसा र आलोचना प्राप्त गरेका छन् ।

धेरैले उनको गायन र संगीतको पक्ष प्रशंसा गरेका छन् भने वास्तविक कथावस्तुलाई चित्रण गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सुनिता परियारले गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लैजान खोजेको बताउँदै वादीहरु जति पढेलेखेको भएपनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको तर्क गरेकी छन् ।

यस्तो प्रकारको दृश्य र गीतले बादी जातिलाई सयौं वर्ष पछाडि धकेल्न खोजिएको आरोप उनको छ । ‘त्यही भूमरीमा हुर्केर, बढेर र पढेर सक्षम भएका बादी युवाहरू जति पनि पाउनुहुन्छ । उनीहरूको जीवनको बारेमा अध्ययन खोइ ? केवल बादी महिलाको देहलाई व्यापार गर्ने मनोविज्ञानबाट प्रेरित नहुनुहोस्,’ उनी लेख्छिन् ।

अर्की प्रयोगकर्ता सुनिता नेपालीले पनि भिडियोमा समावेश केही दृश्य आपत्तिजनक भएकाले हटाउन भनेकी छन् । उनी लेख्छिन्, ‘बादी समुदायको वास्तविकता यो होइन  । अहिले बादी समुदायका छोरी पनि पढेलेखेका र आफ्नै खुट्टामा उभिएर धेरै राम्रा काम गरेका छन । यस्ता सिर्जनाले गर्दा बादी समुदायका छोरीमा नकारात्मक सामाजिक र मानसिक असर पर्ने भएकाले यो भिडियोको घोर विरोध गर्दछु र केही दृश्यहरु तुरुन्तै हटाउन अनुरोध गर्दछु ।’

गायक दूतराजले पनि सामाजिक सञ्जालबाट आलोचनाको प्रष्टीकरण दिएका छन् । उनी लेख्छन्, ‘यस गीतमा प्रस्तुत गरिएको कथा तथा दृश्य आजभन्दा करिब दुई-तीन सय वर्षअघि भएगरेका घटनामा आधारित रहेर बनाइएको दृश्य तथा कथा हो । आजभोलि यो कुराहरु धेरै हराइसकेको छ । प्रस्तुत समुदायका छोरीचेलीहरु आधुनिकतासँगै परिवर्तनशील भई विभिन्न क्षेत्र तथा देश–विदेशका विभिन्न ठाँउहरुमा रही आफ्नै मेहनतले जीवन चलाइरहनु भएको सुन्न र देख्न पाउँछौं ।’

समग्रमा दूतराजको यो पछिल्लो म्युजिकल फिल्मले आलोचनाभन्दा प्रशंसा बटुलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?