हालैको साता हामी मुगु पुगेका थियौं । त्यहाँ नाक, कान, घाँटीको शिविर सञ्चालन हुँदै थियो । शिविरमा गाउँलेहरुको पंक्ति देख्दा लाग्थ्यो, यहाँ भएभरका मान्छे रोगी छन् । उनीहरु लामो बाटो हिंडेर आएका थिए र उत्तिकै लामो पंक्तिमा उभिएका थिए । यसरी उभिएकामध्ये धेरैलाई कानको समस्या थियो । त्यो पनि सामान्य होइन, शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका ।
बुढापाका र वयस्क मात्र होइन, साना बालबालिकामा पनि कानको जटिल समस्या देखियो । उनीहरुमा त्यो समस्या जन्मजात आएको होइन । बरु सरसफाइको अभावमा त्यस्तो भएको पाइयो ।
एउटा बच्चा, जो कानको जटिल समस्या बोकेर बाँचिरहेका छन् । न उनीहरुले कहिल्यै चिकित्सक भेटेका छन्, न कहिल्यै अस्पताल देखेका छन् । त्यही कारण कान सुन्ने क्षमता गुमाइसक्दा पनि उनीहरु चुपचाप बसिरहेको पाइयो । अर्थात् बहिरोपन हुनु उनीहरुलाई सामान्य जस्तै लागिरहेको थियो ।
खासमा अहिलेको विश्वमा नाक, कान, घाँटीको समस्या यतिविघ्न नदेखिनुपर्ने हो । किनभने सामान्य सचेतना वा सतर्कता अपनाए नाक, कान, घाँटीको समस्या आउँदैन । विकसित मुलुकमा त यस्तो समस्या शून्य बराबर छ । तर हामीकहाँ धेरैजसो मान्छे यही समस्या झेल्न बाध्य छन् ।
त्यो दुई दिने शिविरमा पाँच सय बढी बिरामीको जाँच तथा उपचार गरियो । त्यसमध्ये ५० जना त यस्ता थिए, जसको शल्यक्रिया गरिएन भने श्रवण क्षमता नै गुमाउने स्थिति छ । शिविरबारे थाहा नपाएका, आउन नचाहेका वा नसकेका पनि कति थिए होलान् ।
यति सानो जनसंख्यामध्ये त्यति धेरैलाई कानको समस्या हुनु भनेको सामान्य हुँदै होइन ।
शल्यक्रिया गर्नै डराए
सामान्य रेखदेख गरियो भने कानको समस्या नै हुँदैन । तर हाम्रा सानोतिनो खेलाँचीले कानमा समस्या आउँछ । यसरी समस्या सुरु भएपछि रोगको प्रकृति हेरेर सामान्य वा जटिल किसिमको उपचार गरिन्छ । कतिमा औषधिले निको हुन्छ भने कतिलाई शल्यक्रिया गर्नुपर्छ ।
कानको समस्या सामान्य भएपनि त्यसको उपचार गरिएन भने त्यो यति जटिल बन्न सक्छ कि जसले मस्तिष्कलाई संक्रमित गराउने जोखिम हुन्छ ।
मुगुमा भेटिएका बिरामीमध्ये यस्तै जोखिमवर्गमा रहेकालाई हामीले निःशुल्क शल्यक्रियाका लागि बोलायौं । शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्था मिलाइएको थियो । बसमा चढ्दा त्यहाँ आवतजावत गर्न सात घण्टा लाग्छ ।
हामीले बोलाएका बिरामीलाई ‘सित्तैंमा उपचार गर्छौं’ भनेका थियौं, तर उनीहरु आएनन् । उनीहरु नआउनुमा दुईवटा कारण थियो । एक त आउने जाने खर्च नै नभएर । अर्को चाहिं कानको समस्या ठूलो कुरा होइन भनेर ।
कानको शल्यक्रिया गरेर के हुन्छ ? निको हुन्छ ? त्यसपछि के–कसरी औषधि गर्ने ? भन्ने कुरामा उनीहरु दुविधाग्रस्त थिए । उनीहरुले न त शल्यक्रियामा विश्वास गरेका थिए, न कानको समस्याले निम्त्याउन सक्ने जटिलताबारे नै सोचेका थिए ।
शल्यक्रिया गरेपछि लामो समय आराम गर्नुपर्छ भनेरसमेत उनीहरु डराएका रहेछन् । किनभने धेरैजसोको अवस्था काम नगरी खानै नपुग्ने छन् । उपचार गर्ने, आरम गर्ने स्थिति पनि छैन ।
‘कानको शल्यक्रिया गरेपछि दुख्ने, चिलाउने, पिप र रगत आउने समस्या बन्द हुन्छ । फेरि राम्ररी सुन्न सकिन्छ’ भनी सम्झाइबुझाई गर्न निकै गाह्रो भयो । यो कुरा बुझेका २० जना वयस्कलाई अस्पताल आए । उनीहरुको शल्यक्रिया गरियो ।
तर मन हलुंगो भएन । किनभने थुप्रै बालबालिका थिए, जसको शल्यक्रिया गर्नैपर्ने थियो । शल्यक्रिया गर्न ल्याइएन । शिविर सकेर काठमाडौं फर्कंदै गर्दा यही कुराले मन अमिलो भइरह्यो ।
कानको जाली फाटेको छ, जडीबुटी खाइरहेका छन्
शल्यक्रिया गर्नुपर्ने जति पनि बिरामी आएका थिए, उनीहरुले सामान्य लापरवाहीले कान बिगारेका थिए । कहिलेकाहीं कानमा पानी पस्छ, संक्रमण हुन्छ । दुख्ने, चिलाउने हुन्छ । यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने उनीहरुमा ज्ञान भएन । त्यही कारण कान चिलायो, दुख्यो, पिप आयो भने घाँसपात (जडीबुटी)को पातबाट रस निकालेर हाल्ने गरेको पाइयो ।
त्यस्तै कान चिलायो भने कोट्याउने र घाउ नै बनाउने गरेको पाइयो । यसरी कोट्याउने क्रममा जाली फाट्ने र जाली फाटेपछि फेरि झारपातको रस हाल्ने गरेका रहेछन् ।
यस किसिमको लापरबाहीले कान जस्तो संवेदनशील अंगमा जटिल समस्या ल्याउने नै भयो । समस्या जटिल भएपछि पनि उनीहरु अस्पताल वा उपचार खोज्न गएनन् ।
कानमा जथाभावी तेल, झोल हाल्नु हुँदैन भन्ने सामान्य सचेतना पनि उनीहरुमा छैन । यसो हुनुमा अज्ञानता त हो नै । त्यससँगै उपचारको सहजता नहुनु, अस्पतालको पहुँच नहुनु, उपचार खर्चको अभाव हुनु मुख्य कारण हो ।
रोगले ग्रस्त छ सिंगो गाँउ
धेरैलाई लाग्न सक्छ, मुटुदेखि अन्य रोगको जोखिम समुदायमा बढी छ । तर विकट क्षेत्रमा जाँदा कान पाक्ने जस्ता समस्या बढ्दो देखिए ।
कानकै समस्या लिएर आउनेको संख्या देख्दा हाम्रा चिकित्सक टोली अचम्ममा परेको थियो । यो त एउटा मात्र रोग भयो । यस्ता कति रोग होलान्, जो शिक्षा र अस्पतालको पहुँच नभएकै कारण पालेर बस्न बाध्य छन्, दुर्गम क्षेत्रको नागरिक । उनीहरुलाई आधारभूत आवश्यकता गाँस, बाँस र कपास पुर्याउन धौ-धौ छ । यस्तो ठाउँमा रोग लागिहाले उपचार कताबाट पाउने ? न त अस्पतालसम्म जाने खर्च छ, न त अस्पताल जानुपर्छ भन्ने सचेत नागरिक ।
यो शिविर मेरो लागि पहिले होइन । यसअघि पनि थुप्रैपटक विकट क्षेत्रमा सेवा दिने मौका पाएँ । तर समस्या घट्नुभन्दा बढी बढेको छ । कानमा समस्या आए के गर्ने ? कानको हेरचाह कसरी गर्ने ? यससम्बन्धी ज्ञान भएकालाई पनि उपचार विधि थाहा नहुनाले ग्रामीण भेगमा कानका बिरामी बढ्दो देखिन्छन् ।
उपचारभन्दा रोकथाम महत्वपूर्ण
हाम्रो स्वास्थ्य सेवा ग्रामीण र दुर्गम भेगमा पुगेकै छैन । त्यहाँ बस्ने गरिब मान्छेहरु रोगैरोगले थलिएका छन् । रोग बोकेरै सकिनसकी जीवन गुजारा गरिरहेका छन् ।
स्वास्थ्य सेवा पाउनु वा निरोगी जीवन बाँच्न पाउनु सम्भवत: हरेक मुलुकका नागरिकको आफ्नो हक हो । तर उनीहरुले त्यस्तो हक पाएका छैनन् ।
अज्ञानता र गरिबीले गर्दा सहरमा उपचार गराउन कठिन छ । चिकित्सक चिनेका छैनन्, अस्पताल जाने खर्च छैन । आफ्नो पायक पर्ने क्षेत्रमा स्वास्थ्य संस्था वा अस्पताल छैन । चिकित्सक छैन । त्यही कारण उनीहरु रोगी शरीर लिएर बाँच्न बाध्य छन् ।
दुर्गम भेगका बासिन्दालाई उपचार भनेको आकाशको फल जस्तै छ । उनीहरुलाई कसरी निरोगी र स्वस्थ जीवन बाँच्न सहुलियत दिने ? यसमा राज्य गम्भीर हुनैपर्छ ।
अहिले नेपालको स्वास्थ्य प्रणालीमा धेरै सुधार आइसकेको छ । सहरमा सुविधाजनक अस्पतालहरु खुलेका छन्, हरेक रोगको उपचार नेपालमै हुन थालेको छ । तर पनि विकट भेगको अवस्थामा भने उल्लेखनीय सुधार हुन सकेको छैन ।
मलाई लाग्थ्यो, विकट क्षेत्रमा उपचारको अभावले सानो रोग ठूलो बनिरहेको छ । तर होइन । उनीहरुमा रोगबारे जानकारी नहुँदा समस्या बढिरहेको छ । त्यसैले अबका दिनहरुमा समस्या आउन नदिनका लागि अभिमुखीकरणका कार्यक्रम लाने तयारी गर्नेछु ।
अभिमुखी कार्यक्रममा स्वास्थ्यमा के कस्ता समस्या हुनसक्छन् ? कसरी हेरचाह गर्ने ? समस्या भए के गर्ने ? जस्ता शिक्षा दिनु आवश्यक रहेको देखिन्छ ।
सरकारले पनि रोग लागेपछि उपचार भन्दा अभिमुखीकरण कार्यक्रमका योजनाहरु गाउँगाउँका स्कुल, महिला समूह, स्वास्थ्यचौकी जस्ता स्थानमा लिएर जानुपर्छ ।
(मुगुको खत्याड गाउँपालिका र लामो समयदेखि मुगुमा स्वास्थ्य, शिक्षा र सरसफाइमा काम गर्दै आएको गैरसरकारी संस्था ब्याक टु लाइफको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डा. केसीको नेतृत्वमा काठमाडौंबाट गएको चिकित्सकको टोलीले शिविर सञ्चालन गरेको थियो ।)
प्रतिक्रिया 4