+
+

सिप मेलाबाट तालिम लिएकालाई रोजगारी दिने निजी क्षेत्रको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १४:५४

९ जेठ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा सञ्चालन भइरहेको सिप मेलाबाट तालिम लिएका जनशक्तिलाई रोजगारीको अवसर दिने प्रतिबद्धता निजी क्षेत्रले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिप मेलामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था, शैक्षिक क्षेत्र लगायतका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

महानगरले ‘शिक्षालाई सिपसँग’,‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरेको हो ।

महानगरले २०८१ सालको सुरुमा २ हजार ८१ जनालाई सिपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने योजना बनाएको छ ।

कसले के भने ?

कार्यक्रममा ज्योती समूहका निर्देशक सौरभ ज्योतिले रोजगारी दिन तयार रहेको जनाए । उद्यमशीलसहित कार्यक्रमलाई एकीकृत अवधारणामा रुपान्तरण गरेर सञ्चालन गर्न महानगरसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

नेपाल चेम्बर अफ कमर्सका दिपक श्रेष्ठले उद्योगहरूमा जनशक्ति आवश्यकता अनुसार माग अध्ययन गर्नुपर्ने बताएका थिए ।

होटल संघ नेपालका अध्यक्ष विनायक शाहले गुणस्तरीय कामका लागि सिपयुक्त जनशक्ति आवश्यक रहेको भन्दै हस्पिटालिटीमा सीप सिकेका जनशक्तिलाई रोजगार दिन सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रकान्त अधिकारीले निजी क्षेत्रले प्राविधिक जनशक्तिको अभाव महसुस गरिरहेका बताए । तालिम लिएका जनशक्तीलाई क्षमता हेरेर रोजगारी दिन सकिने उनको भनाइ थियो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का रामहरि सिलवालले उच्च शिक्षालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले बैंकहरूमा मात्रै इन्टर्न गर्न पाएको भन्दै उद्योग क्षेत्रमा पनि अवसर दिनुपर्नै बताएका थिए ।

उद्योग वाणिज्य महासंघ उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले तालिमसँगै काम ठूलो र सानो हुँदैन भन्ने भावना विकास गराउनु पर्नेमा जोड दिइन् । मेलाबाट सिप सिकेका जनशक्तिलाई सम्भव भएसम्म धेरैलाई रोजगारी उपलब्ध गराउन आफूहरू तयार रहेको उनले बताइन् ।

कम्प्युटर एससिएसन नेपालका रञ्जितकुमार पोडारले उद्योग र शिक्षा क्षेत्रका बीचमा संवाद नरहेको भन्दै कम्प्युटर इन्जिनियर अध्ययन गर्ने व्यक्तिहरूले इन्टर्न गर्न नपाएका गुनासो गरे ।

कम्प्युटर अध्ययन गरिरहेका विद्यार्थीलाई उद्योगहरूमा इन्टर्नको अवसर प्रदान गर्न सकियो भने युवामा पढेर विदेश जाऔं भन्ने सोच हट्ने उनको भनाइ थियो ।

वाटर एड नेपालका कवीन्द्र पुडासैनीले विदेश जाने युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु पर्ने बताए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफ–पीटीईएन) का बद्री दाहालले सिप भएका जनशक्तिले नेपालमा पनि पढ्दै कमाउन सक्ने बताए ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अच्युत नेपालले छोटो अवधिको व्यावसायिक तालिममा आकर्षण देखिएको भन्दै अब १ महिने, ३ महिने, १ वर्षे कोर्षका लागि पनि आकर्षण बढाउनु पर्ने बताए ।

१९ वैशाखदेखि सुरु भएको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम कक्षा सकिएको छ । अहिले दोस्रो चरणमा कक्षाहरु सञ्चालन भइरहेको योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए ।

‘पहिलो चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका थिए । ६ गतेदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन्,’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?