+
+

माग्ने बूढाकी श्रीमतीको फिल्ममा डेब्यु, ‘सानो संसार’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:३२

काठमाडौं । माग्ने बूढाको रुपमा प्रसिद्ध कलाकार केदार घिमिरेको परिवार नै कलाकारितामा संलग्न भएको छ । उनका छोरा आशिषले गत महिनादेखि टिभी सिरियल ‘रिटायर हल्दार २’ को निर्देशन थालेका छन् ।

यतिबेला उनकी श्रीमती सीतादेवी तिमल्सिनाले पनि फिल्म अभिनयमा डेब्यु गरेकी छन् । यसअघि ‘मेरी बास्सै’ लगायत सिरियलमा समेत देखिएकी उनले निर्माण हुन लागेको नयाँ फिल्म ‘सानो संसार’मा शीर्ष भूमिका निर्वाह गर्नेछिन् ।

शुक्रबार कमलादी गणेश मन्दिरमा आयोजित समारोहमा शुभसाइत गर्दै फिल्मको छायांकन भएको जानकारी दिइयो । यो फिल्मलाई चर्चित फिल्म सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् ।

फिल्मको शुभसाइत समारोहमा माग्ने बूढा पनि श्रीमतीलाई शुभकामना दिन उपस्थित थिए । ‘अब घरपरिवार र कामलाई सन्तुलन मिलाएर अघि बढ्छौं,’ अनलाइनखबरको प्रश्नमा उनले भने, ‘श्रीमानको रुपमा म उनलाई करिअरमा सहयोग गर्नेछु ।’

सीतादेवीले पनि फिल्म अभिनय आफ्नो रुचि रहेको बताउँदै श्रीमानको साथ मिलेको बताइन् । पारिवारिक कथावस्तुमा बन्न लागेको यो फिल्ममा सबैजना नयाँ कलाकार छन् । सिद्धार्थ पुडासैनीले निर्देशन गर्ने यो फिल्ममा तिमल्सिनासहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटीको शीर्ष भूमिका छ ।

शंकर पाण्डेको निर्माण नियन्त्रण रहने यो फिल्मले सानो परिवारको कथावस्तु पेश गर्ने निर्माता अर्जुन कुमारले बताए । जेठको अन्त्यदेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र आसपासका क्षेत्रमा खिचिनेछ ।

निर्माता अर्जुनले फिल्म स्टारले भन्दा कन्टेन्टले चल्ने भएकाले आफूले नयाँ कलाकारलाई लिएको बताए । ‘स्टारडमको भ्रम कसैलाई नहोस्,’ उनले भने, ‘हिजो मैले फिल्ममा खेलाएका र काम गराएकाहरु लाखौं पारिश्रमिक बुझ्छन् । भोलिको स्टार बनाउन मैले नयाँ कलाकार लिएको हुँ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?