+
+

वन अतिक्रमण हटाउन स्याउका करिब एक हजार बोट फाँडियो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ८:५१

१३ जेठ, काठमाडौं । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ भाडगाउँमा अतिक्रमित वन क्षेत्र हटाउने क्रममा डिभिजन वन कार्यालयले स्याउका करिब एक हजार बोट फँडानी गरेको छ । स्यानीपाताल काफलबारी सामुदायिक वन अतिक्रमण क्षेत्र हटाउने क्रममा फल दिइरहेका स्याउका बोट काटिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर स्याउ खेती गरेकाले त्यसलाई हटाइएको बताए । ‘वन क्षेत्रमा स्थानीयले कानुन विपरीत स्याउ रोप्ने, अरु बिरुवा पनि लगाउने, खेतीपाती गर्ने, टहरा बनाउने गरेका थिए । त्यसलाई हटाउन वन कार्यालयले सहयोग मागेपछि हप्ता-दश दिन अगाडि अतिक्रमण हटाउने कारबाही गरिएको हो,’ उनले भने ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा प्रहरीसमेत परिचालन गरेर धमाधम रुख बिरुवा काटिरहेको देखिन्छ । स्थानीयका अनुसार स्याउका बोट फेंदैदेखि काटिएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढथापाले यही जेठ ४ गते करिब ८ देखि १० हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको जानकारी सिंजा-हिमा सब डिभिजन वन कार्यालयले आफूहरुलाई गराएको बताए ।

सिंजा-हिमा सब डिभिजन वन कार्यालय नराकोटका प्रमुख क्षेत्रबहादुर महतले स्यानीपाताल काफलबारी सामुदायिक वनको करिब १० हेक्टर अतिक्रमण हटाइएको बताए ।

उनका अनुसार अतिक्रमित क्षेत्रमध्ये करिब आधामा स्याउ खेती गरिएको थियो भने करिब आधामा घेराबेरा गरेर जग्गा ओगटिएको थियो । त्यहाँ खेती गरिएको स्याउ सामुदायिक वनले नै संरक्षण गरेर आयआर्जनको माध्यम बनाउने विषयमा छलफल भए पनि सहमति नभएपछि स्याउका बोट काटिएको बताए ।

स्यानीपाताल काफलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावतका अनुसार पूर्वमा दिलौरी खोला, पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी खोला र दक्षिणमा भेडानागी चार किल्ला क्षेत्र अतिक्रमणमा परेको थियो ।

जोडु र भाडगाउँका नौ जनाले वन अतिक्रमण गरेका थिए । अतिक्रमण हटाउन करिब सात वर्ष अघि पनि प्रयास भएको थियो । तर सफल भएको थिएन ।

अतिक्रमण गर्नेहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँको दरले सामुदायिक वनलाई बुझाउने र जग्गा छाड्ने कागज गरेका थिए । तर कार्यान्वयन नभएको र अदालतले पनि अतिक्रमण हटाउने फैसला गरेपछि वडा कार्यालयको पहलमा अतिक्रमण हटाइएको हो ।

सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाले स्थानीयकै सहयोगमा अतिक्रमण हटाउन सफल भएको भन्दै त्यहाँ पशुचौपाया छाडा छाड्न पनि रोक लगाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?