+
+

पशुपतिको गुरूयोजना तयार, असार १ देखि चारै ढोका खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १४:४२

१७ जेठ, काठमाडौँ । १ असारदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि चारवटै ढोका खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूलढोका खुला गर्ने निर्णय गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खोल्ने निर्णय भएको बताएका छन्। उनले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको जानकारी दिए ।

‘धार्मिक पर्यटकलाई बढीभन्दा बढी भित्र्याउन धेरै कुरा व्यवस्थित गर्नुपर्ने छ। अहिले दर्शन गर्ने वातावरण सहज बनाउनुपर्ने देखियो । त्यसैले मन्दिरमा आउने हरेक भक्तजनले सहजै दर्शन गर्न पाउने व्यवस्था मिलाएका हौँ,’ उनले भने।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार अहिलेसम्म पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुन्थ्यो भने उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ :३० बजेदेखि ११ :३० सम्म मात्र खुला हुँदै आएको थियो ।

‘दर्शनार्थीको सङ्ख्या वृद्धि भएपछि सजिलो गरी दर्शन गर्न असुविधा भइरहेको गुनासो आयो । त्यसैले परम्परागत धार्मिक पक्षलाई कायम राखेर दर्शनार्थीको सुविधालाई दृष्टिगत गरी चारवटै ढोका खुला गरिएको हो’, उनले भने ।

डा. थापाले पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरुपता ल्याइने बताएका छन्। साथै हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको छ। महाशिवरात्री पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गरिन्छ ।

गुरूयोजना तयार

संस्कृतिमन्त्री तामाङले धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ पशुपतिनाथ मन्दिरको गुरूयोजना तयार गरिएको बताएका छन् । उनले गुरूयोजना अध्ययन गर्दै क्रमशः कार्यान्वयन गर्दै जाने उल्लेख गरे।

‘कतिपय काम विगतको निर्णयका आधारमा कार्यक्रमिक रुपमा अघि बढाउनुपर्ने हुन्छ । कतिपय काममा नीतिगत पक्षमा सुधारमार्फत अघि बढाउनुपर्ने छ । क्रमशः काम अघि बढाउँदै छौँ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?