१८ जेठ, अमेरिका (डालस) । आईसीसी टी–२० विश्वकप अघि ओपनर आसिफ शेख र कुशल भुर्तेलको खराब लय नेपाललाई चिन्ताको विषय बनेको छ । पछिल्लो ६ महिनायता प्रदर्शन कमजोर रहे पनि २०२१ देखि निरन्तर टोलीमा रहँदै आएका ओपनर कुशल र आसिफलाई नेपालले विश्वकपमा निरन्तरता दियो ।
तर, दुवैले आफ्नो लय समाउन सकेका छैनन् । त्यसको असर समग्र टोलीको ब्याटिङ र प्रदर्शनमा परेको छ । सन् २०२३ नोभेम्बर यता १६ टी–२० आई खेलमा कुशलको प्रदर्शन २६, ११, ३१, ०, ०, १२, २०, २, ५९, ५, २४, १२, ३२, ०, ०, ० रन छ ।
गत मे घरेलु मैदान टीयुमा वेस्टइन्डिज ए’विरुद्ध टी–२० खेलमा कुशलले १६, २, १, १३ रन तथा क्यानडासँग वार्मअप खेलमा १० रनमात्र जोडे ।
अर्का ओपनर तथा विकेटकिपर आसिफ शेखको ब्याटबाट पनि औसत रन निस्केको छ । सन् २०२३ नोभेम्बर यता आसिफले टी–२० आईमा ५, ६४, ६, ६, ३४, १, ८, ४७, ३२, ५२, ४०, २, ८ र ५ रनमा जोडेका थिए । टी–२० आई मान्यता प्राप्त खेलमा नोभेम्बर यता कुशल र आसिफको नाममा १–१ अर्धशतक छ ।
सन् २०२१ अप्रिलमा टीयु क्रिकेट मैदानमा डेब्यू खेलमा आसिफ र कुशलले टी–२० आई त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ओपनिङ गर्दै ११६ रनको शतकीय साझेदारी गरेका थिए । सुरुवात नै शतकीय साझेदारीबाट गरेका आसिफ र कुशलले त्यसपछि उक्त प्रदर्शनलाई निरन्तरता दिन सकेका छैनन् ।

त्यही त्रिकोणात्मक सिरिजमा मलेसियासँग १०२ र २०२३ मा सिंगापुरविरुद्ध ८५ रनको ओपनिङ साझेदारी गरेका थिए ।
अल अमरेतमा सन् २०२३ अप्रिलमा एसीसी प्रिमियर कपमा समूह चरणमा हङकङविरुद्ध ७० रनको साझेदारी गरेका थिए । त्यो नै आसिफ र कुशलले विदेशी भूमिमा टी–२० आईमा गरेको उच्च साझेदारी हो ।
यी दुई ओपनरले एसीसी प्रिमियर कपमा सेमिफाइनलमा यूएई, तेस्रो स्थानमा हङकङ र समूह चरणमा साउदी अरेबियासँग रनको खाता खोल्न सकेका थिएनन् । कतारसँग १८ र मलेसियासँग ४९ रनको साझेदारी गरेका थिए ।
त्यसपछि वेस्टइन्डिजसँग चौथो खेलमा शून्य र पाँचौं खेलमा १३ रनको साझेदारी गरेका थिए । यसै साता ह्युस्टन हरिकेन्ससँग दुई टी–२० अभ्यास खेलमा आसिफ र कुशलले ६ र ८ रनको साझेदारी गरेका थिए । क्यानडासँग १८ रनको साझेदारी गरेका थिए ।
विश्वकप अघि नेपालले ब्याकअप ओपनरमा अनिल साह, लोकेश बम र विनोद भण्डारीलाई हेरेको थियो । ब्याकअप ओपनरको रुपमा विश्वकप टोलीमा परेका अनिलले पछिल्ला खेलहरुमा तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् ।
ओपनिङ जोडी परिवर्तनको सम्भावना छ ?
लगातार खराब प्रदर्शनले नेपाली टोलीमा ओपनर जोडी परिवर्तन गर्नुपर्ने आवाज उठ्न थालेको छ । मंगलबार नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकप सुरुआत गर्नेछ ।
सुपर–८ को महत्वकांक्षी सपना राखेको नेपाललाई पहिलो खेलमा जित आवश्यक छ । तर विशाल योगफल बनाउन वा पूरा गर्न ओपनरले राम्रो सुरुवात दिनुपर्छ । सामान्य पदर्शनले एसोसिएट शीर्ष टोलीलाई हराउन कठिन पर्ने देखिन्छ ।
खराब लयमा भएका कुशल र आसिफको ओपनिङ जोडी निरन्तरता दिने वा परिवर्तन गर्ने नेपालले ठूलो जोखिम लिनुपर्छ । यदि परिवर्तन गर्न चाहेमा विश्वकप खेल्ने नेपालको १५ सदस्य टोलीमा अनिल र कुशल मल्ल विकल्पमा हुनेछन् ।
कुशल मल्लले नेपालबाट ३ टी–२० आई खेलमा ओपनिङ गर्दै ५५ रन बनाइसकेका छन् । सन् २०२० मा ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्दै कुशलले एसीसी इस्टर्न रिजनमा मलेसियासँग शून्य, हङकङसँग १९ र थाईल्यान्डसँग ३६ रनको अविजित इनिङ खेलेका थिए ।

उनले तेस्रो नम्बरमा टी–२० आईमा ९ खेलमा २५८ रन बनाएका छन् । सेप्टेम्बरमा मंगोलियाविरुद्ध १३७ रनको शतक तेस्रो नम्बरमै खेलेका थिए । कुशल विष्फोटक ब्याटर हुँदा पावर प्लेको फाइदा उठाउँदै राम्रो प्रदर्शन गर्न सक्छन् । अनिल टोलीका नियमित ओपनर नै हुन् ।
तर नेपालका कप्तान रोहित पौडेल टी–२० विश्वकपमा ओपनिङ परिवर्तन गर्न सही नहुने बताउँछन् ।
‘अब यो अन्तिम समयमा ओपनिङ जोडी परिवर्तन नगर्दा उत्कृष्ट हुन्छ जस्तो लाग्छ मलाई । डेढ वर्षदेखि सबैलाई सँगै लिएर आएका छौं’, कप्तान रोहित भन्छन्, ‘अन्तिम क्षणमा आएर परिवर्तन गर्दा त्यो माहोल नै बिग्रिन्छ । १/२ खेल तलमाथि हुन्छ । तर दुबै जनाले राम्रो गर्नेमा धेरै आशावादी छौं ।’

रोहित नियमित ओपनरकै खेल प्रदर्शन सुधार हुनेमा विश्वस्त देखिँदै थप्छन्, ‘मलाई ओपनर र तेस्रो नम्बरका ब्याटरले राम्रो सुरुवात दिनेमा विश्वास छ । सबै जनाले स्टेपअप गर्नुपर्छ । ओपनिङ एकदमै महत्वपूर्ण भूमिका हो । जुन टिमको ओपनिङ राम्रो हुन्छ त्यो दिन समग्र पूरा ब्याटिङ युनिटले मोमेन्ट्स अघि बढाउँछ ।’
नेपाल पहिलो वार्मअप खेलमा क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमा अल आउट हुँदै ६३ रनले पराजित भएको थियो ।
क्यानडा र अमेरिका दुबै राम्रो टोली भएको रोहित बताउँछन् । क्यानडाले आईसीसी विश्वकप लिग–२ मा गत मार्चमा स्कटल्यान्ड र युएईलाई समान दुबै खेलमा हराएको थियो । यसै साता अमेरिकाले बंगलादेशलाई ह्युस्टनमा ३ मध्ये सुरुआती दुई खेलमा हराएको थियो ।
उच्च मनोबलका साथ विश्वकपमा जानलाई पनि नेपालले घरेलु टोली अमेरिकालाई हराउनुपर्ने हुन्छ । तर न्युजिल्यान्डका पूर्व अलराउन्डर कोरी एन्डरसनजस्ता खेलाडी सम्मिलित अमेरिकालाई हराउन सहज हुनेछैन । बंगलादेशलाई हराउँदै उच्च मनोबलका साथ अमेरिका ह्युस्टनबाट डालस आएको छ ।
‘सबै एसोसिएट टोलीले विकास गरेका छन् । समान सन्तुलन छन् । अमेरिकासँगको खेल पनि क्यानडासँग खेलको त्यहिँ मैदान र पिचमा छ । विकेटको फाइदा लिदै योजना अनुसार काम गर्नुपर्छ’, कप्तान रोहित भन्छन् ।
 
                    










 २०८१ जेठ  १८ गते ७:२५
                        २०८१ जेठ  १८ गते ७:२५                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4