+

गर्मीयाममा ठेउलाबाट कसरी बच्ने ?

२०८१ जेठ  २० गते १२:३९ २०८१ जेठ २० गते १२:३९
Shares
गर्मीयाममा ठेउलाबाट कसरी बच्ने ?

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । त्यसमाथि पनि गर्मीले बालबालिकामा धेरै असर पारिरहेको छ । गर्मीयाममा बालबालिकामा धेरै देखिने रोगमध्ये पर्छ चिकेनपक्स अर्थात् ठेउला ।

ठेउला भेरिसेला जोस्टर नामक भाइरस संक्रमणका कारण हुन्छ । यसलाई नेपालीमा जनैखटिरा भनेर समेत चिनिन्छ । सामान्यतया एक वर्षदेखि १५ वर्षको उमेरका बालबालिकामा ठेउलाको संक्रमण धेरै हुन्छ । यस्तै गर्भवती महिला, वृद्धवृद्धा र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई पनि हुनसक्छ ।

ठेउला आउनुअघि टाउको दुख्ने, जीउ दुख्ने, हल्का ज्वरो आउने, घाँटी सुक्खा हुने, खोकी लाग्ने, छाला सुक्खा हुने, कमजोर महसुस हुने, बान्ता हुने, चिलाउने, पोल्ने र दुख्ने जस्ता लक्षण देखिन्छन् । यसरी लक्षण देखिएको २४ घण्टा नबित्दै शरीरको पेट, ढाड, पिठ्यूँमा मसिना बिमिरा देखिन्छन् र बिस्तारै शरीरमा फैलिंदै हातमुख, अनुहार टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा फैलिन्छ । क्रमश: त्यो पानी फोका जस्तै बन्छ । यस्तो बेला खाना खान मन नलाग्ने, खाना निल्न र चपाउन गाह्रो हुने हुनसक्छ ।

पाँचदेखि सात दिन पानीको फोका बस्छ र त्यसपछि बिस्तारै सुक्दै जान्छ । १०-१२ दिनमा यो आफैं निको हुन्छ ।

उपचार

ठेउलाको लागि कुनै विशेष औषधि छैन । यसलाई राम्रोसँग हेरविचार गर्न सकेमा आफैं निको हुने रोग हो । त्यसैले बच्चाको हकमा ज्वरो घटाउन पारासिटामोल प्रयोग गर्न सकिन्छ । तर वयस्कलाई एन्टिभाइरल औषधिको प्रयोग गर्न सकिन्छ तर इबुप्रोफेन र एन्टिबायोटिकजस्ता औषधि प्रयोग गर्नुहुँदैन । शरीर चिलाउने समस्या कम गर्न लोसन र मलम लगाउन सकिन्छ । ठेउला हुँदा बढ्ता झोलिलो खानेकुरा खान दिनुपर्छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।

बच्ने उपाय

ठेउला आएको बच्चालाई आइसोलेसनमा राख्नुपर्छ । ठेउलाको संक्रमण भएको बच्चा स्कुल जाने भए नपठाउने, अन्य बालिबालिकासँग पनि टाढा राख्नुपर्छ । संक्रमित बच्चालाई छोइसकेपछि राम्रोसँग हात धुनुपर्छ । लुगा धोइसकेपछि घाममा राम्रोसँग सुकाउनुपर्छ ।

यसबाहेक नेपाल बाल चिकित्सा समाज (नेपास)बाट चिकेनपक्स विरुद्धको खोप पनि लगाउन सकिन्छ । जुन १ वर्षदेखि ४० वर्षसम्मको उमेरका व्यक्तिले लगाउन सकिन्छ । यसको दुई मात्रा लगाउनुपर्ने हुन्छ । जुन पहिलो खोप एक वर्षमा र दोस्रो खोप ( बुस्टर डोज) पाँच वर्षको उमेरमा लगाइन्छ । यदि पाँच वर्षको उमेर पहिलो खोप लगाएको छ भने दोस्रो खोप पहिलो खोप लगाएको एक महिनापछि लगाउन सकिन्छ । यो सशुल्क अभिभावकको स्वेच्छाले मात्र लगाइन्छ ।

बालबालिका तथा वयस्क मानिस र एक वर्ष भन्दा सानालाई यो रोगले समस्यामा पार्न सक्छ । गर्भवती महिला तथा रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई ठेउलाको संक्रमण धेरै हुने जोखिम हुन्छ ।

ठेउलाको समयमा उपचार गरिएन भने निमोनिया, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस तथा छालाका अन्य रोग हुने जोखिम हुन्छ ।

गर्मीयाम ठेउला डा. कविता केयल
डा. कविता केयल
लेखक
डा. कविता केयल
बालरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा कार्यरत छिन् । उनले भारतको बैंगलोरस्थित मणिपाल अस्पतालबाट बालरोगमा एमडी अध्ययन गरेकी छिन् । उनी स्वर्ण पदक विजेता चिकित्सक सकेत हुन् । साथै डा.  केयलले बोस्टन युनिभर्सिटी स्कुल अफ मेडिसिनबाट बाल चिकित्सा पोषण (पीजीपीएन)मा स्नातकोत्तर गरेकी छिन् । उनको नेपाल मेडिकल दर्ता नम्बर ४९६७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय