+

कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

२०८१ जेठ  २९ गते ९:०९ २०८१ जेठ २९ गते ९:०९
कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् ।

डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।

नेपाली टोलीको साउदी अरेबिया भ्रमणदेखि नै किरणले एक सय खेल पूरा गर्ने विषयमा चर्चा हुँदै आएको थियो । अब उनी त्यो दुर्लभ कीर्तिमानको निकै नजिक छन् । कुनै आश्चर्य नभएमा किरण नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।

धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर अनि हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् ।

‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो’, किरणले यमनसँग खेल्नुअघि साउदीमा पत्रकारहरुसँग भनेका थिए, ‘विदेशी भूमि वा घरेलु मैदानमा खेल्दा मलाई जहिले पनि गुजबम्प आउँछ । म देशको लागि खेल्दैछु फाइट गर्नुपर्छ भन्ने भावना आउँछ । कप्तान मात्र नभएर देशकै प्रतिनिधधित्व गर्दा छुट्टै महसुस हुन्छ ।’

किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थयले साथ दिएसम्म खेल्ने बताएका छन् । ‘त्यस्तो कुनै क्याल्कुसेन मैले गरेको छैन । सबै कुरा हेल्थ हो । मरो हेल्थ राम्रो भएन भने मैले प्रेडिक्ट गरेर भनेर पनि हुँदैन । हेरम कति खेल्न सकिन्छ देशका लागि । र एउटा समय त आइहाल्छ’, उनले भनेका छन् ।

अहिले आफूले राष्ट्रिय टिमसँग खेल्दा रमाइरहेको उनले बताए । भन्छन्, ‘अहिले म टिमसँग इन्जोए गर्न चाहन्छु । जति खेल्छु मेरो टिमसँग नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर त्यही सोचेर खेलिराछु ।’

नेपालले अन्तिम खेलमा यमनविरुद्ध अंककै लागि खेल्ने र अंक लिएर फर्कने किरणले बताएका छन् । यमनसँग पहिलो खेल होम ग्राउण्डमा नेपालले हार व्यहोरेको थियो । ‘अहिलेसम्म हामी प्वाइन्टलेस छौँ । त्यस खेलमा प्वाइन्ट लियौँ भने एसियन कप छनोटका लागि राम्रो हुन्छ’, उनले भने, ‘ सबै जना अंक जोड्नुपर्छ भनेर लागेका छन् ।’

किरणले नतिजा नआउँदा सबैलाई दु:ख लागे पनि नेपालको फुटबलको स्थिति र वास्तविकतालाई हेर्नुपर्ने बताए । ‘रिजल्ट नआउँदा समर्थकहरु सबैलाई नराम्रो लाग्छ । तर रियालिस्टिकमल्ली हामी कहाँ छौँ र कुन परिस्थितीमा छौँ भनेर हेर्नुपर्छ’, किरणले भने, ‘हामीले पहिलो चरणमा लाओसलाई जितेर आएका हौँ । अब युएई अर्कै लेभलको छ । उनीहरु प्रोफेसनल खेलाडी धेरै छन् । अब हाम्रो टिममा रोहित र म मात्रै हो । मनिष भाइ कहिलेकाहीं बाहिर खेल्छ । प्रोफेसनल खेलेको खेलाडी भयो भने छुट्टै खालको हुन्छ ।’

 यस्तो थियो किरणको राष्ट्रिय टिमको यात्रा

धनकुटाको राजारानीमा सन् १९९० मा जन्मिएका किरणले स्कुलदेखि नै फुटबल खेल्न थालेको थिए । तर त्योबेला खेल्नको लागि सहज अवस्था थिएन ।

१३ वर्षको उमेर देखि उनले फुटबल खेल्न थालेका थिए । सुरुमा उनी १४ वर्षको हुँदा उनी इन्टर स्कुल मायोज कप प्रतियोगिता खेल्न काठमाडौं आएका थिए । त्यसमा सेमिफाइनलमा काठमाडौंसँग हारेर फर्किएका उनलाई तत्कालै यू-१६ छनोटका लागि बोलाइयो र छनोट पनि भए । उनको उचाइ राम्रो भएकोले गोल रक्षकको भूमिका निभाउँथे । पछि त्यसमै करियर बनाए ।

त्यसपछि उनको करियरले उकालो यात्रा तय गर्‍यो । किरणले यू-१६ देखि यू-१७ र यू-१९ बाट पनि खेले । उनले यू-१९ खेल्दै गर्दा सिनियर राष्ट्रिय टिमसम्म अवसर पाए । उमेर समूहमा राम्रो प्रदर्शन गरेपछि उनले सिधै राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

सुरुमा उनले मछिन्द्र क्लबबाट करियर सुरु गरेका थिए । मछिन्द्रमा एक वर्ष खेलेपछि थ्रीस्टारको नजर उनमा पर्‍यो । लगत्तै अर्को वर्ष थ्री स्टारले किरणलाई भित्र्यायो । त्यसपछि किरणले करियरले रफ्तार लियो ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध नेपालको सिनियर टिमबाट डेब्यु गरेका थिए । भियतनामको फ्नोम पेनमा स्थित नेशनल ओलम्पिक स्टेडियममा सन् २००८ मे २४ मा मकाउविरुद्ध पहिलो रोजाईमा खेलेका उनी २४ मिनेटपछि नै घाइते भएर मैदान बाहिरनु परेको थियो । त्यसपछि झण्डै ३ वर्ष राष्ट्रिय टिमबाट बाहिर रहेका उनले मिहिनेत गरेर राष्ट्रिय टिममा पुनरागमन गरे । त्यसपछि भने पछि फर्केर हेर्नुपरेको छैन ।

उनको पुनरागमनमा नेपालले भुटानविरुद्ध खेलेको दुई मैत्रीपूर्ण खेल जितेको थियो । त्यसयता किरण लगातार नेपाली टिममा छन् । कुनै समय उपेन्द्रमान सिंहको खेल हेरेर राष्ट्रिय टिमसम्म पुग्ने सपना बोकेका किरणलाई पछिल्लो समय आफैं नयाँ पुस्ताका एक आदर्श खेलाडी बन्न पुगेका छन् ।

किरणले नेपालको ए डिभिजन लिग  र राष्ट्रिय लिगको उपाधि मात्र नभई भारत र माल्दिभ्समा समेत शीर्ष डिभिजनको उपाधि जितेका छन् । उनले नेपालको ए डिभिजन लिग (थ्रीस्टार), माल्दिभ्सको धिवेही प्रिमियर लिग (टीसी स्पोर्ट्स) र (माजिया एस एण्ड आरसी) र भारतको आई लिग (मिनेरवा पन्जाब) जितेका छन्  । यस्तै तीनवटै देशमा व्यक्तिगत अवार्ड समेत जितेका छन् ।

नेपाली राष्ट्रिय टिमबाट भने उनले सन् २०१६ मा एएफसी सोलिडारिटी कप जितेका थिए । जुन नेपालले एएफसीको आधिकारिक प्रतियोगिता जितेको पहिलो हो । यसैगरी किरणले घरेलु मैदानमा भएको थ्री नेशन्स कप उपाधि दुई पटक जितेका छन् ।

किरण आफ्नो करियरको उत्तरार्धतिर छन् । अब नेपाली टिममा नयाँ गोलकिपर तयार पार्नुपर्ने अवस्था आइसकेको छ । किरण पनि आफ्नो अनुभव नयाँ पुस्तालाई सिकाउन चाहन्छन् ।

किरणले राष्ट्रिय टिममा डेब्यु गर्दा विकास मल्ल, रितेश थापाजस्ता चर्चित किपर थिए । तर उनले दुवैलाई पछि पार्दै पहिलो रोजाइमा खेल्न थालेका थिए र त्यसमै निरन्तरता पाए । किरणले खेल्न थालेपछि राष्ट्रिय टिमसम्म धेरै किपर आए तर कोही पनि लामो समय टिक्न सकेनन् ।

किरणपछि राष्ट्रिय टिममा परेका विकेश कुथु, विशाल श्रेष्ठलगायत अधिकांश समय किरणकै छायाँमा परे ।

विकेशले भने बंगबन्धयु गोल्डकप, १२औं साग र १३औं साग पहिलो रोजाइमा खेल्दै उपाधि जितेका थिए । विशालले त एक दशकमा जम्मा एक खेलमात्र खेल्न पाए त्यो पनि वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट । उनले सन्यास पनि लिइसके ।

पछिल्लो समय दीप कार्की दोस्रो रोजाइको किपरमा थिए । यसबीचमा दीपसँगै विशाल सुनार, टिकेन्द्र थापा, अनिष देउला अभिषेक बराल लगायत किपर राष्ट्रिय टिममा परेका छन् । तर दीपबाहेक अरुले डेब्यु गर्ने अवसर पाएका छैनन् ।

  देशको लिग जित्ने नेपाली खेलाडी

किरण हाल इन्डियन सुपर लिग (आईएसएल) मा पञ्जाव एफसीमा अनुबन्ध छन् । उनले पञ्जाबबाट धेरै सफलता हात पारिसकेका छन् । उनी तीन फरक देशमा लिग जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् ।

किरणले नेपालमा थ्रीस्टारबाट लिग जितेका थिए । यस्तै उनले माल्दिभ्समा टिसी स्पोर्ट्स र माजिया एस एण्ड आरसी तथा भारतमा मिनेरवा पञ्जाव/राउण्ड ग्लास पञ्जावबाट लिग जितेका छन् । यस्तै उनले ३ देशमा उत्कृष्ट किपर हुँदै गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका छन् ।

पञ्जावबाट आई लिग जितेपछि किरणको टोली आईएसएलमा छनोट भएको हो र उनी पहिलो पटक आईएसएल खेलिरहेका छन् । किरणले २०७८ सालमा नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) पनि खेलेका थिए ।

आइकोनिक प्लेअरको रुपमा धनगढी एफसीमा खेलेका उनले कप्तानी गर्दै टिमलाई उपविजेता बनाएका थिए । त्यसमा पनि किरण उत्कृष्ट गोलकिपर समेत घोषित भएका थिए ।

किरण चेमजोङ नेपाली फुटबल गोलकिपर नेपाली फुटबल टिम
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय