३१ जेठ, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको समूह बीबाट अष्ट्रेलिया सुपर ८ मा पुगेको छ । स्कटल्याण्ड र इंग्ल्याण्डमध्ये एक अन्तिम ८ मा पुग्ने अर्को टोली बन्नसक्छ ।
यो स्कटल्याण्ड र इंग्ल्याण्डको आफ्नो नियन्त्रणमा छैन, एक हिसाबले भन्दा अष्ट्रेलियामा निर्भर छ ।
अष्ट्रेलियाले इंग्ल्याण्डलाई परिस्थिति कठिन बनाउन प्रयास गर्छ त भन्ने प्रश्नमा उसका फास्ट बलर जोस ह्याजलउडले भनेका छन्, ‘हो, मलाई त्यस्तै लाग्छ ।’
इंग्ल्याण्ड प्रतियोगिताको शीर्ष टिममध्ये एक हो । र अघिल्लो चरणमा पुगेको अवस्थामा कुनै चरणमा अष्ट्रेलियाले सामना गर्नुपर्छ । ह्याजलउडले भने, ‘टी–२० क्रिकेटमा हामी उनीहरूविरुद्ध निकै संघर्ष गरेका छौं । त्यसैले उनीहरूलाई प्रतियोगिताबाटै बाहिर राख्न सक्यौं भने त्यो हाम्रो हितमा हुनेछ, सम्भवतः सबैको हितमा हुनेछ ।’
कुन अवस्थामा बाहिर हुन्छ इंग्ल्याण्ड ?
दुई खेलबाट एक अंक जोडेको इंल्याण्डले दुई खेल खेल्न बाँकी छ । सुपर ८ को सम्भावना कायम राख्न उसले शुक्रबार ओमान र शनिबार नामिबियालाई हराउनुपर्छ ।
५ अंक जोडेको स्कटल्याण्डले आइतबार अष्ट्रेलियासँग खेल हुनेछ । यो खेल स्कटल्याण्डले जित्यो भने इंल्याण्डको खेल खत्तम । स्कटल्याण्ड समूह विजेता र अष्ट्रेलिया उपविजेता हुनेछ ।
स्कटल्याण्डले हार्दा पनि कति अन्तरले हार्यो भन्ने हेर्नुपर्छ । किनकि इंग्ल्याण्डले सबै खेल जितेको अवस्थामा पनि स्कटल्याण्डसँग अंक समान ५/५ हुनेछ ।
अहिले स्कटल्याण्डको नेट रेन रेट २.३४ छ । इंल्याण्डको भने –१.८०० मात्र छ ।
यदि स्कटल्याण्ड २० रनले हार्यो (मान्नुस्, १६१ रनको लक्ष्य पछ्याउँदा) भने इंग्ल्याण्डले ओमान र नामिबियाको खेलमा समग्र ९४ रन अन्तरले जितेको हुनुपर्छ, अनि मात्र नेट रेनरेटमा अगाडि हुन्छ ।
यदि स्कटल्याण्डले सुपर ओभरमा खेल हार्यो भने इंल्याण्डले समग्रमा ११७ रनको अन्तरले जितेको हुनुपर्छ ।
अर्थात् अष्ट्रेलियाले निकै कम अन्तरमा खेल जित्ने हो भने पनि इंग्ल्याण्ड संकटमा पर्नसक्छ ।
अष्ट्रेलियाले कसरी इंग्ल्याण्डलाई बाहिर राख्ने प्रयास गर्छ त ? ह्याजलउडले भनेका छन्, ‘त्यहाँ केही विकल्प छ । तर अरूलाई बाहिर राख्ने प्रयत्न गर्नुभन्दा राम्रोसँग खेल जितेर आत्मविश्वास जगाउने काम गर्नु महत्वपूर्ण हुनेछ ।’
‘इंग्ल्याण्डले अझै पनि आफ्नो तर्फबाट धेरै गर्न बाँकी छ । मलाई लाग्छ कि राम्रोभन्दा राम्रो खेल्नु नै आवश्यक छ’ फास्ट बलर ह्याजलउडले भनेका छन्, ‘तर अरूको अवस्था हेरेर रणनीति बनाउनु पनि उत्तिकै आवश्यक छ । हामी जति खेलको नजिक पुग्छौं, त्यति रणनीति थाहा हुँदै जान्छ ।’
तर यदि अष्ट्रेलियाले इंग्ल्याण्डलाई समूह चरणबाटै घर फर्काउने रणनीति बनायो भने कप्तान मिचेल मार्सले सुपर आठ खेलहरूमध्ये दुईमा प्रतिबन्ध झेल्नुपर्ने हुनसक्छ ।
यद्यपि अष्ट्रेलियाले जानाजानी नेट रन–रेटमा हेरफेर गर्ने प्रयास गरेको भन्न सहज भने हुने छैन ।
तर प्रमाणित भएमा अष्ट्रेलियाका कप्तानलाई न्यूनतम ५० प्रतिशत म्याच शुल्क जरिवाना वा अधिकतम चार डिमेरिट अंक र दुई निलम्बन बिन्दु जरिवाना हुनसक्छ ।
किनकि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आचार संहिताको आर्टिकल २.११ ले ‘नेट रन रेटको अनुपयुक्त हेरफेर’ गर्ने रणनीतिलाई पनि दण्डनीय मानेको छ ।
यस्तो परिदृश्यले १९९९ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियाले वेस्टइन्डिजविरुद्ध खेलेको खेलको स्मरण गराउन सक्छ । त्यो बेला अष्ट्रेलियाले सुपर सिक्समा थप अंक लिनसक्ने सुनिश्चितता गर्न सुस्त ब्याटिङ गरेको थियो ।
जे भए पनि अष्ट्रेलियाका मुख्य प्रशिक्षक एन्ड्रयु म्याकडोनाल्डले स्कटल्याण्डविरुद्ध हुने खेलका लागि केही खेलाडीलाई आराम दिने सोच्न सक्छन् ।
किनकि समूह चरणमा सबै खेल जित्यो र नेट रन रेट राम्रो छ भने पनि त्यो टोलीले सुपर ८ मा कुनै अतिरिक्त लाभ हुने छैन । फास्ट बलर ह्याजलउड भन्छन्, मैले खेलेको पहिलो टी २० विश्वकप हो, जहाँ यसरी सेटअप गरिएको छ ।’
इंग्ल्याण्डका प्रशिक्षक म्याथु मटले भने ह्याजलउडको टिप्पणी ठट्टा भएको विश्वास व्यक्त गरे । जोसलाई म जति चिन्छु, उनमा निकै राम्रो हास्य चेत छ’ मटले भने, ‘मलाई आश छ, उनले यसलाई गलत समयमा प्रयोग गर्दैनन् ।’
 
                    










 २०८१ जेठ  ३१ गते १६:३०
                        २०८१ जेठ  ३१ गते १६:३०                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4