 
																			७ असार, काठमाडौं । ‘मलेसियामा जीबी राईको लोकेसन पत्ता लागिसक्यो । नेपाल ल्याउने विषयमा पहल सुरु भइसक्यो । स्वदेश ल्याउन मलेसियाका गृहमन्त्रीसँग संवाद भइरहेको छ,’ बिहीबार चितवनको भरतपुर विमानस्थलमा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले भने ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी (गीतेन्द्रबाबु) को लोकेसन पत्ता लगाइएको र सुपुर्दगी लगायतका कारण तत्काल ल्याउन नमिलेको तर प्रयास भइरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो । यस विषयमा ३/४ दिनअघि मात्रै मलेसियाका गृहमन्त्रीसँग कुरा भइरहेको दाबी पनि लामिछानेको थियो ।
अझ उनले लोकेसन नै मलेसियाका गृहमन्त्रीले आफूलाई कन्फर्म गरेको दाबी गरे । रेड नोटिस जारी भएको साढे तीन महिना बित्दासमेत जीबी पक्राउ पर्न सकेका छैनन् ।
गृहमन्त्रीका प्रेस सल्लाहकार प्रमोद न्यौपाने पनि जीबीलाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको दाबी गर्छन् । ‘यसअघि मलेसियामा मात्रै रहेको भन्ने बुझिएको थियो । तर अहिले मलेसियाको कहाँ, कुन ठाउँ भन्नेसम्म खुलेको छ । प्रक्रिया अघि बढिरहेको छ चाँडै स्वदेश ल्याइन्छ,’ न्यौपानेको दाबी छ ।
यसअघि मे पहिलो साता पनि रविले मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग टेलिफोन संवाद गरेका थिए । लामिछानेसँग संवाद भएको भन्दै इस्माइलले सामाजिक सञ्जालमार्फत पनि जानकारी गराएका थिए । तर संवादमा जीबीबारे कुराकानी भए/नभएको इस्माइलले खुलाएका थिएनन् ।
त्यसपछि अहिले फेरि इस्माइलसँग दोस्रो पटक वार्ता भएको दाबी लामिछानेको छ । र जीबी ल्याउनेबारे दिनरात प्रयास जारी रहेको लामिछानेको दाबी छ । नेपाल प्रहरीले सार्वजनिक रूपमै यसअघि नै जीबी मलेसियामा रहेको तर ल्याउने समस्या भएको बताएको थियो । अहिले जीबीलाई ल्याउने प्रक्रिया अघि बढेकोबारे प्रहरी अधिकारीहरू भने जानकार छैनन् ।
‘रेड नोटिस जारी भइसकेर पहिल्यै प्रक्रिया अघि बढेको हो । प्रहरीले गर्नुपर्ने तर्फको काम पहिल्यै सकेको थियो । तर अहिले फेरि प्रक्रिया अघि बढेर ल्याउन लागिएको भन्नेबारे हामीलाई जानकारी भएन,’ नेपाल प्रहरीको इन्टरपोल शाखाका एक अधिकृतले भने, ‘मन्त्रीज्यूको व्यक्तिगत पहलबाट मलेसियन सरकार (गृहमन्त्री)मार्फत कुरा भएर अघि बढेको भए हामीलाई जानकारी हुने कुरा भएन ।’
इन्टरपोलको औपचारिक च्यानलबाट जीबीलाई स्वेदश फिर्ता पठाउन लागिएको भए नेपाल प्रहरीको इन्टरपोल शाखालाई जानकारी हुन्थ्यो । तर अहिलेसम्म इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) मलेसियाले एनसीबी काठमाडौंलाई जीबीबारे कुनै जानकारी नदिएको ती अधिकृले अनलाइनखबरलाई सुनाए ।
‘इन्टरपोलको औपचारिक च्यानलबाट लोकेट भएर ल्याउने प्रक्रिया अघि बढेको भए हामीलाई सुरुमै थाहा हुन्थ्यो । तर अहिलेसम्म एनसीबी मलेसियाले केही जानकारी गराएको छैन,’ उनले भने ।
नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्ट खरिद गरेर बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेको दाबी प्रहरी स्रोतको छ । मलेसियाकै अर्को शहर साइबरजयामा उनले मार्टसमेत खोलेको बताइन्छ । अर्बभन्दा बढी जीबीले मलेसियामा लगेर लगानी गरेको दाबी छ ।
‘मेक मलेसिया माई सेकेन्ड होम’ (एमएचटुएच) अवधारणाअनुसार तोकिएको रकम मलेसियन सरकारलाई तिरेपछि मलेसियन नागरिक सरह बस्न मिल्छ । सोहीअनुसार जीबी मलेसियामा सुरक्षित रहेको प्रहरी स्रोत बताउँछ ।
मलेसियामा कुनै अपराध नगरेकोे, अर्ब बढीको लगानी गरेर रोजगारीसमेत दिएको व्यक्तिलाई मलेसियन सरकारले पठाउन नचाहने हुँदा जीबी सुरक्षित रहेको पनि बताइन्छ ।
मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी राई सुरक्षित रहेको आशय यसअघि प्रहरी महानिरीक्षक वसन्त कुँवर आफैंले समेत दिएका थिए । १५ चैतमा संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै कुँवरले भनेका थिए, ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो तर मलेसियासँग सुपुर्दगी नहुँदा समस्या भएको छ ।’
जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि डेढ वर्षअघि नै विदेश भाग्न सक्ने भन्दै पासपोर्ट रोक्का गर्न पत्राचारसमेत भएको थियो । उजुरी परेपछि मलेसिया जान भन्दै जीबी पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पुगेका थिए । तर त्यतिबेला पासपोर्ट रोक्का रहेको भन्दै उनलाई फिर्ता पठाइएको थियो । त्यसपछि उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ ।
रेड नोटिस जारी हुँदासमेत जीबी राईलाई स्वदेश ल्याउन नसकिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले जीबीको पासपोर्ट रद्दका लागि भन्दै कास्की अदालतमा रिट निवेदनसमेत दिएको थियो । तर कास्की जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले राहदानी रद्द गर्न नमिल्ने आदेश सुनाएपछि ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाउँदै पासपोर्ट रद्दका लागि कास्की प्रहरीले अनुरोध गरेको थियो ।
विभागले पनि राहदानी ऐनअनुसार जीबीको पासपोर्ट रद्द गर्न नमिल्ने भन्दै जवाफ पठाएको कास्कीका एसपी मोहन थापा बताउँछन् । त्यसपछि भने नयाँ कुनै औपचारिक प्रक्रिया अघि बढ्न नसकेको एसपी थापाले बताए ।
पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारीमा जीबीको नाम जोडिँदै आएको छ । तर डेढ वर्षदेखि उनी फरार छन् । जीबीविरुद्ध प्रहरीको इन्टरपोलले १३ माघमा डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिसमात्रै जारी हुँदा जीबीलाई नेपाल ल्याउने प्रक्रिया लामो हुने भन्दै नेपाल प्रहरीले रेड नोटिसका लागि पत्राचार गरेपछि २१ फागुनमा इन्टरपोलले जीबीविरुद्ध रेड नोटिससमेत जारी गरेको थियो । त्यसपछि कूटनीतिक नोट पठाउँदासमेत मलेसियामा रहेका जीबीलाई अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4