७ असार, काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतसहित ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, अमेरिकाका लागि चन्द्र घिमिरे र बेलायतका लागि डा. विजन पन्त सिफारिस गर्ने निर्णय गरेको हो ।
पूर्व मुख्यसचिव रेग्मीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले बेलायतका लागि राजदूत बनाएको थियो ।
शंकरदास बैरागीलाई मुख्य सचिव बनाउन बाटो खोल्दै राजीनामा दिएपछि ओली सरकारले राजदूत बनाएको थियो । २०७७ माघमा राजदूत नियुक्त भएका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले असोज २०७८ मा फिर्ता बोलायो । कार्यकाल पूरा नहुँदै फिर्ता बोलाइएका उनलाई अहिले एमालेको कोटाबाट भारतका लागि राजदूत सिफारिस गरिएको स्रोतले जानकारी दियो ।
अमेरिकाका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । रेग्मीले मुख्य सचिवको कार्यकाल पूरा गरेको भए बैरागीको साटो घिमिरे (केदारबहादुर अधिकारीपछि) मुख्यसचिव हुने थिए । उनी विवादमा नपरेका र तुलनात्मक रूपमा क्षमतावान सचिव मानिन्थे । तर राजदूत हुने गरी रेग्मीले राजीनामा दिँदा परराष्ट्र सचिव रहेका बैरागीले मुख्यसचिव बन्ने मौका पाए ।
अनि केदारबहादुर र चन्द्र घिमिरेले सचिवबाट अवकास पाए । त्यही कारण अहिले उनलाई अमेरिकाका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् ।
बेलायतका लागि राजदूतमा सिफारिस डा. विजन पन्त सुशील कोइराला प्रधानमन्त्री भएको बेला विकास सल्लाहकार थिए । गोरखाका पन्त अहिले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटाबाट राजदूत सिफारिस भएका हुन् ।
यस्तै दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।
मानवअधिकारकर्मी समेत रहेका प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तत्कालीन नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएका थिए ।
डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा, पद्मरत्न तुलाधरकी छोरी हुन् भने मलेसियनका लागि राजदूत सिफारिस भएका तिमिल्सना रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष हुन् । दुवै एमालेको सिफारिसमा राजदूत भएका हुन् ।
त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4