+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

पोखराका विद्यालयमा संस्कार शिक्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते २०:१०
सार्वजनिक सुनुवाइमा सहभागीहरू

२१ असार, पोखरा । ‘अहिलेका बच्चाले आफ्ना बुबा–आमालाई ड्याडी–मम्मी भन्छन्, हजुरबुवा हजुरआमालाई बा–आमा भन्छन् । हजुरबुबा, हजुरआमा शब्द नै उच्चारण गर्दैनन्,’ पोखरा–१२ का दिवाकर बास्तोलाले भने, ‘पढ्न जानेर मात्र हुँदैन । अहिलेका बच्चालाई सबैभन्दा बढी पढाउनुपर्ने विषय नै नैतिक शिक्षा हो । जसको अभावमा नयाँ पुस्ता संस्कृति, समाजबाट टाढा जाँदै छ ।’

यो चिन्ता दिवाकरको मात्रै होइन, पोखरा–१२ कै बाबुराम अधिकारीको पनि छ । समाज र परिवारसँग बच्चाहरूले गर्ने व्यवहार उसले पाएको नैतिक शिक्षाको उपज भएको उनी बताउँछन् । नमस्कार गर्नेदेखि मर्यादाअनुसार आर्शिवाद लिनेसम्मको संस्कार पनि अहिलेको पुस्तामा नभएको चिन्ता अभिभावकमा छ ।

अभिभावकै चाहानाअनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ ले विद्यालयमा ‘संस्कार शिक्षा’ पढाउने नीति लिएको छ । पोखरा–१२ को शितलादेवी र अमरसिंह माविमा संस्कार शिक्षा पठनपाठन सुरु भएको छ भने भने निजी विद्यालयहरूले संस्कार शिक्षा पढाउन रुचि देखाएका छन् । कक्षा ६, ७ र ११ मा थप विषयका रूपमा संस्कार शिक्षा पढाउन लागिएको हो ।

‘अहिलेका बच्चामा कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुराकै ज्ञानको कमी देखिन्छ । हाम्रा सम्बन्ध र सामाजिक मूल्य मान्यताको महत्व नै सिकाउनुपर्ने देखियो । संस्कृतदेखि संस्कारसम्मका ज्ञान विद्यालय शिक्षाले दिन सकिरहेको छैन,’ पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘त्यसैले हामीले पोखरामै पहिलो पटक विद्यालयमै संस्कार शिक्षा पढाउने नीति लिएका हौं ।’

डा. स्वामी केशवानन्दले तयार पारेको संस्कार शिक्षा पाठ्यपुस्तकमा संस्कृतका श्लोक, विभिन्न मन्त्रदेखि चाडपर्वका महत्व, मानवीय मूल्यमान्यतासमेत समावेश गरिएको छ । नीतिगत रूपमै सबै सामुदायिक र निजी विद्यालयमा पनि संस्कार शिक्षा सुरु गर्न स्थानीयले माग गरेका छन् ।

पोखरा–१२ ले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले सबै विद्यालयमा संस्कार शिक्षालाई अनिवार्य गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न माग गरेका हुन् । पोखरा–१२ का डिराराम लामिछानेले भने, ‘समाज, संस्कृति, रहनसहनलाई कसरी जीवनोपयोगी बनाउने, संस्कार के हो र यसको महत्व बुझाउने गरी पाठ्यक्रमको विकास गरौं र सबै विद्यालयमा अनिवार्य गरौं ।’

वडाध्यक्ष बास्तोलाले सबै सामुदायिक विद्यालयमा अहिले संस्कार शिक्षा पढाउन थालिएको र क्रमशः सबै निजी विद्यालयमा पनि पठनपाठन हुने बताए । नागरिकसँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्यलाई वडाको तहबाट सुधार्ने अभियानमा आफू रहेको बास्तोलाले सुनाए ।

पोखरा–१२ मा स्थायी रूपमा बसोबास गर्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको बास्तोलाले सुनाए । अमरसिंह मावि अन्तर्गतको जग्गा सस्तो मूल्यमा भाडामा दिइएकोमा खारेज गरेर सार्वजनिक जग्गा संरक्षणको प्रयत्न भइरहेको उनले बताए ।

मणिपाल शिक्षण, फिस्टेल अस्पतालसँग सम्झौता गरी डाक्टर शुल्क, उपचार खर्च र औषधिमा सहुलियत दिने प्रबन्ध मिलाएको बास्तोलाको भनाइ छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पोखरा–१२ मा सबैभन्दा बढी नहर र बाढीको समस्या रहेको सुनाए ।

नहरको जग्गा अतिक्रमण भएको, नहरमा फालिएको फोहोरले दुर्गन्ध फैलिएको, काहुँबाटसमेत आउने बाढीले सितलादेवी क्षेत्र डुबानमा पर्ने गरेको, ढल नियन्त्रण नभएकोजस्ता गुनासो नागरिकको थियो । अ

अपांगमैत्री संरचना निर्माणमा जोड दिन वडासँग स्थानीयको माग थियो । वडाले बनाउने समिति, उपसमितिमा विज्ञताका आधारमा छनोट गरेर बनाउन स्थानीय इन्दिरा पन्तले आग्रह गरिन् । गणेश तिमिल्सिनाले विपन्न र गरिब परिवारलाई जिविकोपार्जनमा जोड्न आग्रह गरे ।

वडा सचिव महेश्वर अर्यालले वडा तहबाट गरिने विकासले वडाबासीको ससाना आवश्यकता पूरा गर्ने तथा सीप, ज्ञानको विकास र रोजगारीमा जोड दिइएको बताए । डा. अनिल सुवेदीले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास सम्झिन नहुने बताए । अबको लगानी सामाजिक तथा मानवीय विकासमा गर्नुपर्ने सुवेदीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?