 
																			२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सम्झौतामा आशंका रहेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले हस्ताक्षर भएको भनिएको सम्झौता नै लुकाउने कुराले पारदर्शिता नझल्काउने बताए ।
‘उहाँहरूले अपारदर्शी प्रकारको सहमति गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । आज यतिबेला यो संसदमा हामी छलफल गरिरहँदासम्म समेत दुई वटा दलका बीचमा के कस्ता सम्झौताहरू भए त्यो आधिकारिक रुपमा बाहिर आएको छैन,’ उनले भने ।
सामाजिक सञ्जालमा के कस्ता विषयमा सहमति भएको भनेर भनिएको उल्लेख गर्दै उनले त्यसलाई आधिकारिक मान्न नसकिने बताए ।
‘उहाँहरूले मध्यरातमा अमूक व्यक्तिका घरमा गर्नुभएको सम्झौताभित्र के छ ? हामीले हेर्न पाएका छैनौं । यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा उहाँहरूलाई के भयले काम गरेको छ ? सबैभन्दा पहिला अनैतिकता र अपारदर्शिता त्यहाँबाट सुरु भएको छ,’ उनले भने ।
बाहिर भनिए जस्तो राजनीतिक स्थिरता दिनका लागि कांग्रेस र एमालेका बीचमा सहमति भएको भनेर विश्वास गर्न नसकिने उनले बताए ।
ट्वीटरमा नेताहरूले सहमति भएको भनेर राखेका विषयलाई आधार मान्ने हो भने पनि स्थिरताको झलक नदिने उनले बताए ।
सांसद सापकोटा थप्छन्, ‘ठूलो दलबाट सरकारको नेतृत्व गर्ने कुरा त गर्नुभएको छैन । र बाँकी कार्यकाल सबै एउटै दलले सरकारको नेतृत्व गर्ने पनि भनिएको छैन । अनि यही हो स्थिरता ?’
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई एकथरी र कांग्रेस नेतृत्वलाई अर्को थरी कुरा गरेको पनि उनको आरोप छ । उनी प्रश्न गर्छन, ‘दिनभर प्रधानमन्त्रीसँग बसेर नर्क गए पनि स्वर्ग गए पनि सँगै जाउँला भन्ने तर, ललितपुरमा ड्राफ्ट गर्नका निमित्त आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ?
एमाले सांसदहरूले प्रधानमन्त्रले नै कांग्रेससँग संवाद अगाडि बढाएपछि वैकल्पिक सरकार गठनको विषय अगाडि बढेको तर्क गरेका छन् ।
यसमा सत्यता नरहेको दाबी गर्दै सांसद सापकोटाले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा गएर फर्किएपछि प्रधानमन्त्रीले कसैलाई कुनै प्रकारको प्रस्ताव गर्नुभएको छैन । नपत्याए तीन जना शीर्ष नेता बसे हुन्छ । बूढानीलकण्ठलाई सोधे हुन्छ ।’
बरु नक्कली भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी–इस्टेटको विषय अगाडि बढ्न सक्ने भनेर नयाँ गठबन्धन बनेको हुन सक्ने उनले आशंका गरे ।
उनी प्रश्न गर्छन्, ‘प्रधानमन्त्री र गृहमन्त्री नक्कली भुटानी शरणार्थी प्रकरण फेरि खोल्ने भनेर अगाडि बढ्नुभयो । बेचन झाका प्रमाणहरू आएपछि बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो ?’
एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डको डुंगामा प्वाल भनेपछि सांकेतिक रुपमा जवाफ दिँदै सापकोटाले भने, ‘५० का दशकमा तपाईंहरू नै भन्नुहुन्थ्यो कमल थापाहरूलाई डुंगा प्वाल पारेर भाग्ने मुसा । डुंगा प्वाल पर्ने बित्तिकै मुसाहरू भाग्छ । बहादुरले सामना गर्छन । साहसीहरूले सामना गर्ने हो ।’
माओवादीलाई नैतिकताको पाठ नसिकाउन उनको चेतावनी छ । बेचन झाले बेचैन बनाएर भागदौडमा चलेकाहरूले हामीलाई नैतिकतको पाठ सिकाउने ?’
उनी अगाडि थप्छन्, ‘तपाईंहरू पहिला गिरीबन्धु टी–इस्टेटको कालो धब्बा कसरी पखाल्ने, बेचन झाबाट बेचैन भएको चैन पहिला फर्काउनुस् अनि हामी कुरा गरौंला ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4