+
+

तिमी सपना कि विपना ?

आदर्शविक्रम सिंह आदर्शविक्रम सिंह
२०८१ असार २५ गते १७:३३

तपाईंका लागि राति सुत्दा देख्ने सपना के हो ? यो कसरी देखिन्छ ? तपाईं कसरी त्यहाँसम्म पुग्नुहुन्छ ? कहिले सपना हावामा उडेको आउन सक्छ । कहिले सपनामा हामी कुनै पेशा वा व्यवसाय गरिरहेका हुन्छौं । जुन तपाईं हामीले वास्तविक मान्ने दुनियाँसँग कुनै सम्बन्ध नहुन सक्छ ।

किन हुन्छ त्यस्तो ?

तपाईं जुन कुरा राति सुत्दा अन्तिम पटक सोचेर, जुन विचार बोकेर सुत्नुहुन्छ, त्यहीं विचारसँग सम्बन्धित रहेर के तपाईं सपना देख्नुहुन्छ ? कि कुनै अकस्मात् मैले यो सपना कसरी देखें भनेर रनभुल्ल पर्ने सपना तपाईंको सपनामा आउँछ ?

भन्नुस्– तपाईंको सपनाको मनोविज्ञान के हो ? म जान्नलाई एकदमै उत्सुक छु ।

सायद त्यो रात अबेरसम्म तिमीसँग कुरा गरेर निदाएको हुनुपर्छ । कुराकानीको क्रममा गृहस्थी जीवनका बारेमा बेस्सरी हावा चलेको हुनुपर्छ । सानो हावाको झोंक्काले कोही कसरी सपनामा आउन सक्छ ? कसैले विपनामा गरेका मीठा बातहरु सपनामा आएर सपनाका वास्तविकता बन्न सक्छन् । यस्तो पनि हुनसक्छ कि सुन्ने मान्छेको हृदयले कल्पनामा सजाएको जिन्दगी वास्तविकतामा महसुस गर्न सपनाको सहारा लिनुपर्‍यो । के आफूले चाहेर सपना देख्न पाइन्छ ?

केही हप्ताअघि भारतीय अभिनेत्री तप्सी पन्नुद्वारा अभिनित सिनेमा ʻदोबाराʼ हेरें । पूरै सिनेमाभरि र सिनेमा सकिसकेपछि वर्षौंअघि देखेर लेखेको एक सपनाको याद बेस्सरी आयो । मेरो डायरीमा हस्तलिखित सपना त छ नै, उनलाई इमेल गरेको इमेल पनि अझै छ । उनलाई उक्त सपना सुनाएको याद छ कि छैन त्यो मलाई थाहा छैन । तर म यतिबेला फेरि उक्त सपना पढिरहेको छु । उनको काखमा निदाएर सपना सकिएको छ । यदि मेरो त्यहीं सपनामै मृत्यु भएको भए । त्यो सपना सत्य हुन्थ्यो कि निदाएको समयमा मृत्यु भएको म ?

के उनी एकल हुन्थिन् ? पक्कै पनि हुन्थिनन् । एकल हुन सामाजिक रुपमा पहिले बिवाह बन्धनमा बाँधिन जरुरी हुन्छ । के हामी बाँधिएका थियौं ? थिएनौं । अनि केको एकल ?

हुन त म सपनामा थिए । उनले पनि त त्यहीं समयमा अर्को सपना देखिरहेकी हुन्थिन् । मैले पनि सोध्नुपर्ने थियो । उक्त रात तिमीले देखेको सपना के थियो ? मैले लेखेर डायरीमा राखें, उनीसँगको मेरो सबैभन्दा ठूलो उपलब्धि थियो । यति खुसी भएकी उनीसँग सेयर नगरी बस्नै सकिन । कल गरेर सुनाए । कति खुसी भइन् कि भइनन् । मेरो जस्तै प्रेम थियो, थिएन । मेरो जस्तै मन होला कि नाइँ । यो उनमै निर्भर भयो । कसरी कसरी औंलाहरु चलेछन् । लेखेर इमेल गरिदिए ।

सायद डिलिट भएन भने उनको जीवनमा कोही आएन भने अझै बाँचेको होला, हाम्रो प्रेम नत्र भने अचेल प्रेम त बाँडिन्छ । प्रिय, के तिमीले पनि प्रेम बाडिसक्यौं र ? मलाई त्यस्तो लाग्दैन । लाग्दै लाग्दैन । मैले पढेको छु, संसारका महान् प्रेमकथाहरु । प्रेममा त पर्खाइ हुन्छ, त्याग हुन्छ । समर्पण हुन्छ । तिम्रो प्रेमप्रति पनि मलाई विश्वास छ । तिम्रो प्रेम पनि पवित्र छ । हाम्रो प्रेम महान् छ । के हामी सक्छौं, संसारलाई अर्को एक जीवन्त प्रेमको उदाहरण दिन ?

तपाईं कुनै सुन्दर कुरा कल्पना गरी हेर्नुस् । त्यसले उक्त समयमा दिने आत्मसन्तुष्टि र त्यहीं कुरा वास्तविकतामा पनि घट्यो भने त्यसले दिने आत्मसन्तुष्टिमा कुनै भिन्नता आउँछ कि आउँदैन ? कम वा बढी होला तर सन्तुष्टि र घट्ने आनन्द उस्तै हुन्छ ।

कल्पना गर्दा त्यस्तो स्पष्ट चित्र हाम्रो मानसपटलमा नहोला । त्यसमा अलिकति जोड लगाउनुपर्छ । पूरै समय सोच्दा पनि स्पष्ट चित्रसम्म आउन समय लाग्छ । तर सपनामा पूरै जिन्दगी चल्छ । चलिरहन्छ । घट्छ । हुन्छ । भइरहन्छ । जन्मिन्छ  । मृत्यु पनि हुन्छ ।

सबै अनुभूतिमा हुँदाहुँदै पनि हामीले मान्ने वास्तविकतामा त्यो किन हुँदैन ? के हामीले यहीं जन्ममा सपना, विपना र कल्पनाका तीनवटा जिन्दगी बाँच्छौं ? हाम्रो मन, मस्तिष्क, हृदय र शरीर के चाहन्छ ? किन बनाउँछ अनेक कथाहरु ? किन जगाउँछ हरेक रात ? किन सम्झाउँछ वर्षौंअघि मुटुमा धड्कने कोही ?

शब्दको सीमितता यहींसम्म छ, यहाँ तपाईं रोकिनुपर्छ । म हिडें कल्पना गर्न, अर्को एउटा सपना देख्न, विपनामा बाँच्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?