 
																						४ साउन, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफ्नो पदको लेटरहेडमा अमेरिकी दूतावासलाई चिठी लेख्दै संसदसँग गैरसम्बन्धित पाँच व्यक्तिको अन्तर्वार्ता मिलाइदिन एक वर्षअघि गरेको आग्रहबारे सूचना चुहिएपछि सांसदहरुले चासो राखेका छन् ।
शुक्रबार कार्यव्यवस्था समिति बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख राना, कानुनमन्त्री अजय चौरसियालगायतसँग राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले रानालाई मानव तस्करहरुले दुरुपयोग गरेको देखिन आएको भन्दै ध्यानाकर्षण गराए ।
‘उपसभामुखजस्तो गरिमामय पदमा बसेको व्यक्तिलाई मानव तस्करहरुले दुरुपयोग गर्दै पैसा लिएर मान्छे विदेश पठाउन खोजेको देखियो, यसमा म सभामुखज्यूको ध्यान आकृष्ट गर्छु,’ खतिवडाले भने, ‘यति गम्भीर प्रश्न उठिसकेपछि उपसभामुखज्यूले राजीनामा दिएर नैतिकता देखाउनुपर्छ कि पर्दैन ?’
खतिवडाले यसअघिको सरकारमा रहने विभिन्न पदाधिकारीले सुशासन निर्माणका लागि अनियमितता र गलत काममा फाइल खोल्ने भनी बोल्दै आए पनि यति गम्भीर विषयमा भने मौन रहन खोजेको आरोप पनि लगाए ।
आफूमाथि लक्षित गर्दै खतिवडाले पटक पटक प्रश्न गरेपछि सभामुख घिमिरेले यसबारे उपसभामुख रानासँग अलग्गै छलफल गर्ने आश्वासन दिए । ‘मैले थाहा पाएसम्म यो गम्भीर अभियोग हो, तर अहिले नै मलाई जवाफ दिन नलगाउनुस्,’ घिमिरेले भने, ‘पहिले म उपसभामुखसँग छलफल गर्छु । त्यसपछि जवाफ दिन्छु ।’
खतिवडाले आफू सभापति रहेको राज्यव्यवस्था समितिमा राना जोडिएको पत्र र यससँग सम्बन्धित विषयमा उजुरी नै परेको भन्दै छिटो सम्बोधन गर्न माग गरे । ‘भक्तपुरका बाँस्कोटा थरका एक व्यक्तिको नाममा परेको उजुरी मैले प्राप्त गरेको छु, सभामुख महोदय,’ खतिवडाले भने, ‘उपसभामुखज्यूलाई यसरी विवादमा राखिराख्दा सार्वभौम संसदको मर्यादामा चोट पुग्छ, ख्याल गरौं ।’
संसदीय समितिको बैठकमा माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियारलगायत विभिन्न दलका प्रतिनिधि सहभागी थिए ।
खतिवडाले बताए अनुसार उक्त उजुरीमा व्यक्तिहरुको पैसा लिएर अमेरिका पठाउन वातावरण मिलाइदिने आश्वासन दिइएको उल्लेख छ । रानाले शुक्रबार नै प्रष्टीकरण दिँदै आफूलाई निराधार रुपमा मुछ्ने काम भएको असन्तोष जनाएकी छन् । उनी आबद्ध दल रास्वपाले तीन महिनाअघि नै यसबारे सबै जानकारी लिए पनि गुपचुप बसेको भन्दै आलोचना भइरहेको छ ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4