
४ साउन, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउन आग्रह गरेका छन् । शुक्रबार क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वको टोलीसँग भेटपछि सञ्चारमन्त्री गुरूङले यस्तो आग्रह गरेका हुन् ।
उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ।’
सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सबैको सहयोगको अपेक्षा राखेको उनको भनाइ थियो।
यसकासाथै उनले सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापनको काम अघि बढाउने बताए ।
छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गराए । उनले भने, ‘ डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको गरिएको छ।यसमा निजी क्षेत्रको पनि सहयोग अपरिहार्य छ।’
सरकार निजी क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहिरहेको मन्त्री गुरूङको भनाइ छ ।
क्यान महासंघका महासचिव तथा साईबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साईबर सेक्युरिटी र ब्लकचेन प्रविधिलाई सरकारले मान्यता दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘ विश्व प्रविधिमा कहाँबाट कहा पुगिसक्यो । हामीसँग भने नीतिकै अभाव छ। अब साइबर सुरक्षाबारे आवश्यक नीति तथा कार्ययोजना ल्याउनु जरूरी छ। ब्लकचेन प्रविधिलाई पनि सरकारले नीति बनाएर मान्यता दिओस्।’
प्रतिक्रिया 4