+
+
ब्लग :

फोटोमा सीमित सन्तानको सम्झनामा

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०८१ साउन १८ गते १०:००

बिछोड

नौ महिना कोखमा राखेर, १० वर्ष काखमा राखेर, अर्को दश वर्ष मनमा राखेर, अनि वर्षौं आफ्नो अस्तित्वको अंश दिएर हुर्काएको छोरो आज छैन । आज ६ दिन भयो ऊ गएको ।

यी यिनै कोठाहरू हुन्, जहाँ मेरो प्यारो उफ्रने गथ्र्यो । यी उसैका लुगाहरू हुन् । यी यिनै हातहरू हुन्, जसमा ऊ ताते ताते हिँड्ने गथ्र्यो । ऊ आज छ केबल भित्तामा टाँसिएका फोटोहरूमा । वर्षौं नमेटिने यादका कष्टहरू दिएर गयो ऊ । उसको मानव जीवनको भोगाइ सायद यति नै थियो ।

ऊ निश्चिन्त निद्रा निदाउन गयो ।

तर म भने निदाउन खोज्दा पनि निदाउन सक्दिनँ । आफ्नै कोठामा आज जान मन छैन । आफ्नै घरमा आज बस्न मन छैन । म कहाँ जाउँ । ऊ गएको स्थानमा आफू जान सक्दिनँ । मेरी जहान पनि जान सक्दिनन् । के भनौं उनलाई ? के गरौं उनलाई ? म कति कमजोर रहेछु–आज थाहा पाइरहेको छु ।

फेरि सोच्छु । कोल्टे फेर्छु ।

लाग्छ–हाम्रा भावनाहरूको कुनै मोल छैन । ती डाइनोसरका भावनाहरू मायाहरू जो आफ्नो छोराछोरीप्रति कुनै समयमा हुर्केका थिए, ती आज कहाँ छन् ? ती मायाहरू आजका मानिसका भावनाभन्दा बिलकुल फरक अवश्यै थिएनन् । ती समयमा पनि आमाले छोराछोरीलाई पक्कै उति नै माया गर्थे जति आजका आमाहरूले आफ्ना सन्तानहरूलाई प्रेम गर्छन् ।

कुनै भिन्न ग्रहमा पनि आमा अवश्यै छिन् । त्यहाँ पनि उत्तिकै ममता छ । आमाको निस्वार्थ प्रेम छ । कुनै अर्को ग्रहमा पनि बाबा छन्, त्यहाँ पनि बाबाको उत्तिकै स्वार्थी माया छ ।

त्यहाँ पनि लाखौं साम्राज्यहरू भत्किएका होलान् करोडौँ अरबौँ प्राणीहरू मरेर गएका होलान् । ९९.९ प्रतिशत प्राणीहरू जो यस संसारमा थिए ती आज विलोप भएर गइसकेका छन् । भएका पनि कुनै दिन हराएर जानेछन् ।

त्यस्तै मेरा भावनाहरू, मेरा मायाहरू पनि अर्को केही वर्षमा अप्रासंगिक बन्नेछन् । मेरो आयू मेरो प्रकृतिको लागि नगण्य छ । म को हुँ र आखिर ?

जुन कुराले आज खुसी दिन्छ उही कुराले कुनै अर्को समय दुःख दिन्छ । म मेरो मायाको हुँ या माया ममा छ । किन मायाले कुटुकुटु खान्छ ?

तर माया/प्रेम नभए संसार चल्न सक्दैन । प्रकृतिले माया आफू हर्मोन/न्यरोट्रान्समिटर बनेर दिएकी छिन् ।

जसलाई हामी आमाको माया भन्छौं–त्यो अक्जिटोसिन हर्मोनका कारणले हो । यो हर्मोन आमामा धेरै हुने भए पनि पुरुषमा पनि यथेस्ट हुन्छ ।

प्रकृति सर्वश्रेष्ठ छिन् । उनलाई आफू बाँच्नु छ । आफ्ना प्राणीहरूलाई पनि जोगाउनु छ । आफ्ना प्राणीहरू नभए उनी भएको पनि कसैलाई बोध हुनेछैन । उनलाई आफ्नो सन्ततिका सन्ततिहरूलाई पनि जोगाउनु छ । उनी विभिन्न हर्मोनका माध्यमबाट आफू प्रस्तुत हुन्छिन् ।

निस्वार्थ माया अक्जिटोसिन, भासोप्रेसिनमा छिन् । जो हाम्रा नसामा छन् । यी हर्मोनहरूले हामीहरूलाई मायाका भावना दिएका छन् ।

अक्जिटोसिनले हाम्रा प्रगाढ सम्बन्धहरूलाई निस्वार्थ जोड्ने गर्छ । यो प्रेमको हर्मोन हो । यो हर्मोन मस्तिष्कमा रहेको हाइपोथालामसमा बनेर पिटूटरीमा संकलन भएर बस्छ । अक्जिटोसिन बच्चा जन्माउने बेला, स्तनपान गराउँदा, कसैलाई हेर्दा, अङ्गालो मार्दा, चुम्बन गर्दा, यौन सम्पर्क गर्दा बढ्ने गर्छ ।

जसलाई हामी आमाको माया भन्छौं–त्यो अक्जिटोसिन हर्मोनका कारणले हो । यो हर्मोन आमामा धेरै हुने भए पनि पुरुषमा पनि यथेस्ट हुन्छ ।

एक पटक माया बसेपछि समय लाग्छ, कम हुन । फेरि हाम्रा नसाहरू पनि मायाका लागि अभ्यस्त भइसकेका हुन्छन् । ती अभ्यस्त नशाहरूलाई पनि समय लाग्छ बिर्साउन । त्यसकारण हामीलाई बिछोडले पोल्छ ।

यो सारा ब्रह्माण्डमा हामी कसैको अस्तित्व पनि कुनै मूल्यको छैन । डाइनोसोरमा कुनै एक विद्वान आइन्स्टाइन थियो होला ! त्यो विद्धान डाइनोसोर आइन्स्टाइनको महत्व आज शून्य छ ।
तर यो पनि सम्भावना हो कि अहिलेसम्मको सृष्टिमा आइन्स्टाइन एक मात्र बने ।

फेरि यो पनि प्रस्न गर्न सकिएला अबको अर्को १ हजार वर्षमा मानव आइस्टाइनको योगदान कतिको सापेक्ष हुनेछ ? १००,००० वर्षमा के हुनेछ ? १००,००,००० वर्षमा उनी भएको नभएको प्रकृतिलाई कुनै मूल्य हुन्छ त ?

त्यो समयमा सायद मानिस हुनेछैन । कुनै अर्को जीव होला । सायद पृथ्वी आफैं नहोला ! तर प्रकृति त हुन्छ । प्रकृति त्यो बेला कुनै अर्को प्राणीमा आफ्नो गुण अवगुण दिएर त्यस प्राणीको लिला हेरिरहेकी हुनेछिन् । कुनै अर्को प्राणीमा अहिलेका केमिकलहरू हस्तान्तरण होलान् । मेरो शरीरले प्रयोग गरेका कणहरू कुनै अर्को कसैको शरीरले प्रयोग गरेर मख्ख होला । या दुःख मनाइरहेको होला ।

आत्मा होला नहोला ?

सायद त्यसबेला आज बाँचिरहेका सबै प्राणीका आत्मा बैकुण्ठ धाममा होलान् । स्वर्ग उजाड होला । नर्क उजाड होला । ती नरकका ‘तेलका ताता कुवा’ हरू अस्थिपञ्जरमा परिणत भइसकेका होलान् । कुनै पिरामिडका अवशेष जस्तै बन्लान् ।

अनि मेरो छोरोसँगै म पनि उसकै ठाउँमा हुँला । केवल केही दशक मात्र छ म उसबाट बिछोड हुने । ती दशक प्रकृतिको लागि नगण्य छ । म आफैं पनि प्रकृति हुँ । लाग्छ ऊ सँग म कुनै न कुनै हिसाबले सम्पर्कमा अहिले पनि छु । त्यो बेला त म झन् ऊ नजिकै हुनेछु ।

म खुसी छु ऊ मेरो जीवनमा आयो । भलै छोटो समय थियो । लाखौँ यादहरू दिएर गएको छ उसले । हो अहिले मलाई ती यादहरूले पोलेको छ । म ती यादहरू लिएर आफूले पाएको जन्म बाँच्ने छु । कुनै समय मेरा प्रेमका हर्मोनहरूको पिण्ड चढाएर म आफू मुक्त हुनेछु ।
म सधैं मुक्त नै थिए । दुःख पाउन हो म आफै बन्धनमा फस्दै गएको ।

एउटै छ बलवान समय । यो समयको कुनै खण्डमा म आफैं पनि हुने छैन । म भएको नभएको कसैलाई मतलब पनि हुने छैन । म पनि कसैको अस्तित्वको मतलब गर्ने छैन । आफ्नै अस्तित्वको मतलब गर्ने छैन ।

(मेरो साथीको लागि समर्पित जसले हालसालै आफ्नो १० वर्षको छोरो गुमाएको छ ।)

लेखक धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय अस्पताल, धुलिखेल उपप्राध्यायापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?