१८ साउन, काठमाडौं । १५ वर्षकै उमेरमा राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेकी युवा स्पाइकर उषा भण्डारीले थुप्रै अन्तर्राष्ट्रिय म्याच खेलिन् । १३औं साग गेममा डेब्यू गरेकी उनले काभा च्यालेन्ज कपको पछिल्लो चार सिजन (०२१–०२४) खेलिन् । तर हालसम्म उनले श्रीलंकासँग सेटमा खेल्न पाएकी थिइनन् ।
काभा वुमन्स नेसन लिग–२०२४ मा नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध परेपछि उनी धेरै उत्साहित भइन्, आफ्नो प्रदर्शन कस्तो होला भनेर थोरै नर्भस पनि ।
बिहीबार दिउँसो सवा तीन बजे रंगशालामा भलिबल कोर्टमा पुग्दा समेत उनी भावुक थिइन् ।
श्रीलंकालाई ३–० को सोझो सेटमा हराउने क्रममा उषाले महत्वपूर्ण प्रदर्शन गरिन् । ‘१० वर्ष अगाडि बाबाले जुन ठाउँमा एउटा खेलाडीलाई देखेर मलाई यहाँसम्म ल्याउनु भएको थियो । त्यहीँ ठाउँमा त्यही टिमसँग खेलेर जित्दा मलाई सपना पूरा भएको अनुभव भइरहेको छ’, उषाले खुसी साटिन् ।
श्रीलंकासँग साइनो
सन् २०१४ मा साउथ एसियन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाल र श्रीलंकाको खेल दशरथ रंगशालामा भएको थियो । उषाका बुबा गजेन्द्र त्यो खेल हेर्न पुगेका थिए ।
खेल हेर्ने क्रममा उनलाई ७ नम्बरको जर्सी लगाएकी श्रीलंकन खेलाडीको खेल निकै मन पर्यो । अग्ली, अनि गोरी श्रीलंकन खेलाडीको प्रदर्शनबाट गजेन्द्र यति प्रभावित भए कि कान्छी छोरी उषाले पनि त्यसरी नै भलिबल खेलेको कल्पना गर्न थाले ।
९/१० वर्षकी उषा बालाजुस्थित होली गार्डेन स्कुल पढ्थिन्, स्कुलको फुटबल टोलीको कप्तान थिइन् ।
श्रीलंका त्यो खेल सकेर घर पुगेपछि गजेन्द्रले छोरी उषालाई सोधे, नानी भलिबल खेल्छौं ?
भर्खर खेलकुदमा रमाउँदै गरेकी उषाले नाई भनिनन् । तर आमा लक्ष्मी भने छोरीलाई भलिबल खेलाडी बनाउन सहमत थिइनन् । किनकि उषा सानोमा छिटोछिटो बिरामी भइरहन्थिन् । भलिबल पावर गेम भएकाले छोरीले खेल्न नसक्ने वा गाह्रो हुने लक्ष्मीलाई डर थियो । त्यसैले सुरुवातमा हुँदैन भनिन् ।
तर बुबा गजेन्द्रले सम्झाएर भलिबल खेलाउन थाले । भलिबल खेलाडी बनाउन भनेरै नेपाल प्रहरी स्कुलमा भर्ना गर्दिए । अनि १२ वर्षको उमेरदेखि नै उषाले भलिबल सिक्न थालिन् । छोटो समयमै उनले भलिबलमा राम्रो प्रभाव छाडिन् ।
घरेलु भलिबलमा नेपाल पुलिस क्लबबाट राम्रो प्रदर्शन गरेपछि सन् २०१९ मा पहिलो पटक नेपाली टोलीमा परिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) बंगलादेशविरुद्ध २७ नोभेम्बरमा डेब्यू गर्दा उनको उमेर मात्र १५ वर्ष थियो ।
त्यसयता नेपाली टोलीमा नियमित जस्तै भएकी उनले भारत सहितका देशविरुद्ध खेल्ने अवसर पाइन् । तर अहिलेसम्म श्रीलंकाविरुद्ध खेल्न अवसर पाएकी थिइनन् ।
यो पटक श्रीलंका विरुद्ध खेलिनन् मात्र, उत्कृष्ट प्रदर्शन गरेपछि बाबु गजेन्द्र पनि एकदमै खुसी छन् ।
‘उषा सानै हुँदा श्रीलंकन टिममा जर्सी नम्बर ७ की खेलाडीमा मैले उषाको अनुहार देखें । उसको फूर्ति र खेल देखेर मैले भलिबलमा लगाए’, गजेन्द्र भन्छन्, ‘त्यो नदेखेको भए सायद मैले उषालाई भलिबलमा लाग्न प्रेरित गर्ने थिइनँ ।’
उषा पनि त्यतिकै खुसी छिन् । ‘जुन टिमलाई हेरेर बाबाले मलाई भलिबलमा ल्याउनु भयो । त्यो टिमसँग पूरा सेट खेल्ने सपना थियो । पूरा खेल खेलेर ३–० को सोझो सेटले जित्दा खुसी छु, उषाले अनलाइनखबरसँग भनिन् ।
अब उनको अर्को सपना बाँकी छ । त्यो हो आफूलाई भलिबल खेलाडी बनाउन प्रमुख प्रेरणा बनेकी जर्सी नम्बर ७ की श्रीलंकन खेलाडीको नाम पत्ता र भेट्नु ।
‘१३औं सागमा पनि मैले भेट्न खोजेको थिएँ, तर पाइनँ’ उषाले भनिन्, ‘अहिले पनि टिममा सोध्छु, तर नाम थाहा नहुँदा उहाँको बारे केही थाहा पाउन सकेको छैन ।’
प्रतिक्रिया 4