२१ साउन, काठमाडौं । सेयर बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि थपिँदै जाने गरेका छन् । सेयर बजार पछिल्लो एक महिनामा २८ प्रतिशत बढेको छ ।
पछिल्लो ६ महिनामा ३३ प्रतिशत बढेको सेयर बजार निरन्तर बढ्दो क्रममा रहँदा लगानीकर्ताे संख्या पनि थपिँदै गएको तथ्यांकमा देखिन्छ । दोस्रो बजारमा सेयर किनबेच गर्न टीएमएस खाता हुनुपर्छ । यस्तो टीएमएस खाता खोल्नेको संख्या ६ महिनामै ३ लाख ५५ हजारले बढेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार पुस मसान्तसम्म १९ लाख २ हजार ४ सय ७७ ले टीएमएस खाता खोलेकोमा असार मसान्तसम्म आउँदा यो २२ लाख ५८ हजार ४ सय १० पुगेको छ ।
टीएमएस खाता बढ्नुले नयाँ लगानीकर्ता पनि थपिएको जनाउँछ । यद्यपि, ब्रोकर मार्फत कारोबार गर्दै आएका पुराना लगानीकर्ताले टीएमएस खाता खोल्दा त्यो संख्या पनि यसमा देखिने गर्दछ ।
अहिले पनि ब्रोकर कम्पनी मार्फत कारोबार गरेका लगानीकर्ता संख्या उल्लेख्य देखिन्छ । नेप्सेको तथ्यांकअनुसार असार मसान्तसम्म १५ लाख २४ हजार ३ सय १० जनाले ब्रोकर कम्पनी मार्फत कारोबार गरेका छन् । यो कुनै समय कारोबार गरेको तर टीएमएसको युजरनेम र पासवर्ड नलिएको संख्या हो ।
टीएमएस खाता खोल्नेको संख्या उच्च दरले बढ्नु भनेकै दोस्रो बजारमा नयाँ लगानीकर्ता थपिनु हो । आईपीओ निष्कासन समयमा समेत यति धेरै टीएमएस खाता खोलिनुले दोस्रो बजारमा लगानीकर्ता संख्या बढेको छ । सामान्यतया आईपीओ खुल्ने समयमा सेयर बिक्रीका लागि पनि टीएमएस खाता खोल्नु अनिवार्य जस्तै छ ।
सीडीएस एन्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्य अहिले टीएमएसमा सक्रिय लगानीकर्ता सख्या उल्लेख्य रहेको बताउँछन् ।
‘हाल दैनिक औसत ८ लाख टीएमएस प्रयोगकर्ता सक्रिय रहेको देखिन्छ,’ आचार्यले भने, ‘६/७ महिना अघिसम्म दैनिक औसत २ लाख मात्रै सक्रिय रहने गरेका थिए ।’
पहिले नै डिम्याट खाता तथा टीएमएस खोलिसकेका तर बजारमा सक्रिय नभएका अहिले सक्रिय भएको उनी बताउँछन् । ‘यतिबेला कन्फिडेन्ट बढेको छ, जसले गर्दा पहिले निष्क्रिय रहेका लगानीकर्ता पनि अहिले कारोबारमा सक्रिय भएको देखिन्छ ।’
डिम्याट खाता खोल्नेको संख्या पनि बढेकै छ । साढे ४ महिनामा डिम्याट खाता खोल्नेको संख्या १ लाख ३३ हजारले बढेको छ । फागुन मसान्तसम्म ६२ लाख १० हजारले डिम्याट खाता खोलेकोमा हाल ६३ लाख ४३ हजार ६ सय ९ पुगेको छ ।
आईपीओ नखुलेको समयमा समेत डिम्याट खाता संख्या बढ्नुले दोस्रो बजारमै लगानीकर्ता जान चाहेको जनाउँछ ।
यद्यपि, खोलिएका डिम्याट खातामध्ये करिब ४० प्रतिशत खाता निष्क्रिय रहेको पाइएको छ । सीडीएससीका अनुसार हाल ‘मेरो सेयर’ मा सक्रिय संख्या ३६ लाख ६१ हजार छ । प्रत्येक डिम्याट खाताबाट आईपीओ तथा एफपीओ भर्न अनलाइन प्रणाली मेरो सेयर प्रयोग हुन्छ । यद्यपि, केहीले बैंक खाता मार्फत नै आईपीओ, एफपीओ भर्ने गरेका छन्, जुन संख्या न्यून छ ।
‘कतिपयले दुई वा तीन वटा डिम्याट खाता खोलेका हुन सक्छन्, यसले पनि डिम्याट खाता खोल्नेको संख्या धेरै देखियो,’ आचार्यले भने, ‘लामो समयसम्म प्राथमिक सेयर नपरेपछि कतिपयले नवीकरण पनि नगरेका हुन सक्छन् ।’
बजार बढ्दै जाँदा नयाँ संख्या थपिने गरेको ब्रोकर कम्पनी सञ्चालक बताउँछन् । ‘बजार बढ्दै जाँदा यसबारे चोक–चोकमा, चिया पसलदेखि विभिन्न जमघटमा पनि चर्चा हुने गर्छ, त्यसकारण यसमा नलागेका नयाँ व्यक्ति पनि लाग्न थाल्छन्,’ नासा सेक्युरिटीका प्रबन्ध सञ्चालक मदन पौड्यालले भने ।
यतिबेला पनि केही नयाँ लगानीकर्ता थपिएको उनले बताए । संस्थागत लगानीकर्ता संख्या पनि बढेको उनको भनाइ छ ।
नेप्सेको तथ्यांक अनुसार असार मसान्तसम्म टीएमएस खाता खोलेका संस्थागत लगानीकर्ता संख्या ८ हजार ६ सय २२ छ । यस्तो संख्या अझै बढ्न सक्ने पौड्यालले बताए ।
नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको सीमा खुला छाडेको छ भने व्यक्तिका लागि १५ करोडको सीमा कायम गरेको छ । ठूलो मात्रामा सेयर हुने लगानीकर्ताले पनि अब संस्थामार्फत कारोबार गर्न प्रोत्साहन पुग्ने भएकाले संस्थागत लगानीकर्ता संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
संस्थागत लगानीकर्ताले तिर्ने आयकरले राजस्व बढाउन मद्दत पुग्ने भएकाले पनि मौद्रिक नीतिले संस्थागत लगानीकर्तालाई सेयर धितोमा ऋण सीमा हटाएको छ ।
प्रतिक्रिया 4