२३ साउन, काठमाडौं । सन् २०१२ लन्डन ओलम्पिकको अन्तिम दिन जन्मिएकी चिनियाँ खेलाडी ११ वर्षीया झेङ हाओहाओ पेरिस २०२४ ग्रीष्मकालीन ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी हुन् ।
उनले स्केटबोर्डिंङमा प्रतिस्पर्धा गर्दै प्रारम्भिक चरणमा ६३.१९ को स्कोरका साथ १८ औं स्थानमा अन्त्य गरिन् । यस खेलको स्वर्ण अष्ट्रेलियाकी अरिसा ट्रवले जितिन् ।
चिनियाँ खेलाडी झेङले ७ वर्षको उमेरमै स्केटबोर्डिङ सिक्न थालेकी थिइन् । त्यसको चार वर्षमै इतिहासकै कम उमेरकी दोस्रो ओलम्पियन बनिन् । ओलम्पिक इतिहासमा सबैभन्दा कान्छो खेलाडी ग्रिकका डिमिट्रिओस लाउन्ड्रास हुन् ।
उनले जिमनास्टिक अन्तर्गत सन् १८९६ मा मात्रै १० वर्षको उमेरमा प्रतिस्पर्धा गर्दै कास्य जितेका थिए । आधिकारिक ओलम्पिकसँग भएको प्रमाणमा उनै हुन् ।
स्केटबोर्डिङ प्रतिस्पर्धामा ओलम्पिक २०२४ मा स्वर्ण जितेकी अरिसा १४, रजत जितेकी जापानकी कोकोना हिराकी १५ र कास्य जितेकी ग्रेट ब्रिटेनकी ब्राउन १६ वर्षकी हुन् ।
यसै इभेन्टको पुरुषतर्फ ५१ वर्षीय एन्डी माक्डोनाल्ड थिए । जसले झेङ जन्मिनुअघि एक्स गेम्समा ८ स्वर्ण जितेका थिए । तर माक्डोनाल्ड पेरिस ओलम्पिक २०२४ का सबैभन्दा अनुभवी खेलाडी होइनन् । घोडासवारमा स्पेनका जुआन एन्टोनिओ जिमेनेज ६५ वर्षको उमेरमा प्रतिस्पर्धा गरेका थिए । जुआन भन्दा झेङबीचको फरक ५४ वर्षको छ ।
अमेरिकाकी मार्जोरी गेस्टिङ ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कम उमेर १३ वर्षमा स्वर्ण जित्ने महिला खेलाडी हुन् । उनले सन् १९३६ मा थ्री मिटर स्प्रिङबोर्ड ड्राइभिङमा गोल्ड जितेकी थिइन् ।
झेङले यस पटक मार्जोरीलाई पछि पार्न सकिनन् । तर चार वर्षपछि हुने लस एन्जल्स ओलम्पिकमा १६ वर्षको उमेरमा उनलाई स्वर्ण जन्मदिन उपहार हुनसक्छ । यो हप्ता झेङलाई अझ विशेष हुनेछ । किनभने उनी १२ वर्ष लाग्दैछिन् ।
प्रतिक्रिया 4