+
+

‘एक्वा त्रिदेव’ लाई २ लाख जरिबाना गर्ने महानगरको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३० गते १८:४४

३० साउन, काठमाडौं । ‘एक्वा त्रिदेव’ ब्रान्डमा उत्पादित जारको पानीमा ‘कोलिफर्म’ भेटिएपछि काठमाडौं महानगरपालिकाले सम्बद्ध कम्पनीलाई २ लाख रुपैयाँ जरिबाना गर्ने भएको छ ।

जाम्बुलिङ्‍गा ग्रुप इन्डस्ट्रीले उत्पादन गरेको एक्वा त्रिदेव पानीमा फिकल कोलिफर्म भेटिएपछि महानगरले जरिबाना तिराउने निर्णय गरेको हो ।

महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार २५ साउन मा गोंगबु क्षेत्रबाट विभिन्न पाँच ब्रान्ड २० लिटर जारबाट पानीको नमुना लिइएको थियो ।

यसरी लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

नमुना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भएको थियो । रिपोर्टमा एक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको पाइएको हो ।

डा. झाले प्रति १ सय मिलिलिटर नमुनामा ३ सयभन्दा बढी ‘कोली फर्मिङ युनिट’ (सीएफयू) देखिएको र यो शून्य हुनुपर्ने बताए ।

डा. झाका अनुसार जरिबाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ ।

जार र बोतल पानीमा किरा, फोहोर र कोलिफर्म देखिएपछि महानगरले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ ।

जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवाना

मंगलबार महानगर प्रहरी बलले वडा नम्बर ३१ का विभु गोयललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा, माटो खसालेर फोहोर गरेपछि जरिबाना गरेको हो ।

यसैगरी वडा नम्बर ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । सडकपेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकाले निर्माण सेवालाई जरिबाना गरिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?