 
																			९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवातिर ढल्किएको भनी लागेको आरोपको प्रतिवाद गरेका छन् । शेखर–गगन पक्षको बैठकमा नेता कोइरालाले आफ्नै समूह भित्रका नेताहरुले अनावश्यक हल्ला फैलाएको भन्दै आपत्ति जनाएका हुन् ।
उपसभापति धनराज गुरुङको पहलमा कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार समूहको छलफल भएको थियो । छलफलमा सहभागी केन्द्रीय सदस्य दिनेश कोइरालाले समूहको समीक्षा बैठक भएको बताए ।
बैठकमा संस्थापन इतरपक्षका नेता डा. कोइरालाले समूहको छलफलमा कमी भएको बताएका थिए । ‘शेरबहादुरसँग मिल्यो भन्ने भाष्य बनिरहेको छ । यस्तो भाष्य बनाउन को को हो ? त्यो शंकाबाट बाहिर निस्कनुस् भन्नुभयो,’ नेता कोइरालाको भनाइ उद्धृत गर्दैै सहभागी एक केन्द्रीय सदस्यले बताए ।
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु बलबहादुर केसी, सरिता प्रसाई, दिपक गिरी, डा. गोविन्द पोखरेल, प्रकाश स्नेही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, मुक्ता यादव, किरण यादव, गणेश लामा, ह्रदयराम थानी लगायत सहभागी थिए ।
बैठकमा महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत भने उपस्थित भएनन् । सभापति शेरबहादुर देउवासँग महामन्त्री थापाको भेट तय भएकाले उनी अनुपस्थित रहेको जानकारी बैठकमा गराइएको थियो ।
‘दुई महामन्त्री र सभापतिको छलफल रहेछ । त्यही भएर आउन सक्नुभएन । अरु केही कारण होइन,’ केन्द्रीय सदस्य कोइरालाले भने । सहमहामन्त्री एवं पर्यटन मन्त्री बद्री पाण्डे भारत भ्रमणमा रहेकाले बैठकमा उपस्थित हुन सकेनन् ।
समूहको छलफलमा महासमिति र केन्द्रीय समितिमा आएका प्रतिवेदनलाई पार्टीको दस्तावेज भन्दा पनि व्यक्तिको जस्तो गरी प्रचार गरिएकाले नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।
समूहको बैठक लामो समयसम्म बस्न नसकेको प्रति सहभागी नेताहरुले समूहको नेता कोइरालासँग जिज्ञासा राखेका थिए । कोइरालाले समूहको छलफल धेरै समयसम्म हुन नसकेको स्वीर्कादै नियमित बस्ने जानकारी गराएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4