महिनावारीमा किशोरी तथा महिलालाई तल्लो पेट दुख्ने, कम्मर दुख्ने, झर्को लाग्ने, शरीर कमजोर भएको अनुभव हुने र खुट्टा समेत दुख्न सक्छ । कतिपयलाई साताको चार दिन नै बेड रेस्ट गर्नुपर्ने हुन्छ ।
यो समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ र बोलीचालीको भाषामा महिनावारी पीडा भन्ने गरिन्छ ।
डिस्मेनोरिया प्राइमरी र सेकेण्डरी गरी दुई प्रकारका हुन्छन् ।
प्राथमिक डिसमेनोरिया
महिनावारी हुँदा प्रत्येक महिना प्राइमरी डिस्मेनोरियाको लक्षण देखिन सक्छ, जुन सामान्य हो । महिनावारी पीडा महिनावारी भएको दुई दिनसम्म रहन सक्छ ।
यो समयमा मध्यमदेखि गम्भीर खालको तल्लो पेट दुख्ने, कम्मर र तिघ्रा दुखेको अनुभव हुनसक्छ । यो समस्याबाट ५० प्रतिशत महिला प्रभावित छन् । जसमा १० प्रतिशतमा प्राथमिक डिस्मेनोरिया गम्भीर खालको हुनसक्छ । जुन उमेर बढेसँगै पीडा कम हुँदै जान्छन् ।
किन देखिन्छन् यस्ता लक्षण ?
यो लक्षण सबैमा देखिन्छ भन्ने हुँदैन । कसैमा कुनै दुखाइको अनुभव नहुन पनि सक्छ भने कसैमा अत्यधिक पीडादेखि हल्का दुखाइ हुनसक्छ ।
यो समस्या हुनुको पछाडि प्रोस्टाग्लाडिन भन्ने हर्मोनको भुमिका हुन्छ । यो हर्मोन महिनावारी भएसँगै उच्च रुपमा बढ्छ । यसको उच्च स्तरले पाठेघरलाई खुम्चाउँछ । जसकारण त्यस वरपर रहेका रक्तनलीमा दबाब पर्छ । यो प्रक्रियामा रगत प्रवाहमा कमी आई पाठेघर र त्यसवरपर रहेको क्षेत्रमा दुखाइ बढ्न सक्छ ।
यही कारणले गर्दा कहिलेकाहीं अत्यधिक रक्तस्राव पनि हुने गर्छ ।
यो दुखाइबाट राहत पाउन सकिन्छ ?
यो समस्याको ठेट उपचार छैन । यस्तो समयमा दुखाइबाट राहत पाउन हट वाटर ब्यागले सेक्ने, झोलिलो खानेकुरा खाने, दुखेको ठाउँमा मसाज गर्ने, आराम गर्ने, क्याफिन भएका खानेकुरा नखाने गर्दा यो समस्या कम हुनसक्छ ।
सेकेन्डरी डिस्मेनोरिया
विगतको महिनावारी भन्दा असामान्य रुपमा पेट दुखाइ हुन्छ । जुन चार दिनसम्मै रहन्छ । दुखाइसँगै अत्यधिक रक्तस्राव हुने, कम्मर तथा ढाड दुख्ने पनि हुन्छ । यस्तो असामान्य रुपमा र गम्भीर पीडा सेकेन्डरी खालको डिस्मेनोरियामा हुन्छ ।
यस्तो अवस्थालाई सामान्य मान्न सकिंदैन । यो भनेको पाठेघरमा कुनै गम्भीर समस्या हुनसक्ने संकेत पनि हो । जसमध्ये ईन्डोमेट्रियोसिस पनि एक हो । पाठेघरको भित्री तहलाई ईन्डोमेट्रियम भनिन्छ । तर यो अनावश्यक रुपमा पाठेघरको बाहिर बढ्न थाल्यो भने यसलाई ईन्डोमेट्रियोसिस भनिन्छ । यो समस्याले गर्दा महिनावारी हुनुपूर्व र महिनावारीको क्रममा अत्यधिक रक्तस्राव, कम्मर तथा ढाड र पेट दुखाइ हुनसक्छ ।
त्यस्तै, अर्को कारण भनेको पाठेघरमा मासु पलाएको भएको अवस्था (फाइब्रोइड), एडेनोमाइसिस (पाठेघरमा ईन्डोमेट्रियल तन्तु गएर बसेको अवस्था) र पेल्भिक इन्फ्लामेटरी रोग (माथिल्लो स्त्री जननेन्द्रियको संक्रमण) भएमा पनि यो समस्या हुनसक्छ ।
के गर्ने ?
यदि अचानक महिनावारी पीडा बढेमा अस्पताल गई पाठेघरको अल्ट्रासाउन्ड गर्नुपर्छ । जसबाट के समस्या छ भनेर पत्ता लगाउन सकिन्छ ।
यदि ईन्डोमेट्रियोसिस र एडेनोमाइसिस छ भने यसको व्यवस्थापनका लागि केही थेरापी र औषधि आवश्यक पर्छ । र, दुखाइ कम गर्न शल्यक्रिया पनि गर्नुपर्ने अवस्था पनि हुनसक्छ । पेल्भिक इन्फालमेटरी रोग (माथिल्लो स्त्री जननेन्द्रियको संक्रमण) हो भने पाठेघरमा कुनै कारणवश संक्रमण भएमा हुनसक्छ । यसको पनि संक्रमणले कस्तो असर गरेको छ । सोही अनुसार औषधि उपचार हुन्छ ।
त्यस्तै, नियमित रूपमा धेरै गम्भीर दुखाइका कारण दैनिक गतिविधिमा समस्या भइरहेको छ जस्तै विद्यालय, कलेज वा कार्यालय जान नसक्ने अवस्था भएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिन सकिन्छ । चिकित्सकले चिकित्सा इतिहासको समीक्षा गरी शारीरिक परीक्षण गरी पहिचान र उपचार हुन मद्दत गर्न सक्छन् ।
महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा
चाहे प्राइमरी होस् वा सेकेन्डरी वा कुनै समस्या, यो समयमा स्वास्थ्यको निकै हेरचाह आवश्यक हुन्छ ।
– दुखाइ बढेमा तल्लो पीठ वा पेटमा हट ब्याग वा तातो पानीको बोतलले सेक्न सकिन्छ ।
– ठिक्क खाने तर पौष्टिक तत्व भएको खानेकुरा तथा मनतातो पानी प्रशस्त खानुपर्छ ।
– ढाड र पेटको तल्लो भागमा मालिस गर्नुपर्छ ।
– मनतातो पानीले नुहाउनु फाइदाजनक हुन्छ ।
– बढी आराम गर्ने र पर्याप्त निदाउने गर्नुपर्छ ।
– नुन र क्याफिन भएको खानेकुरा खानु हुँदैन ।
– धुम्रपान र रक्सी सेवन गर्नु हुँदैन ।
– नियमित व्यायाम गर्नुपर्छ ।
प्रतिक्रिया 4