 
																			१८ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्मेदवारबारे विकल्प खुला राखेको छ । स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले १६ मंसिरमा उपनिर्वाचन गर्ने भएको छ ।
३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो ।
स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिन लागेको रास्वपाले गैरदलीय उम्मेदवारलाई सहयोग गर्न सकिने गरी विकल्प खुला राखेको छ । विधानतः रास्वपाले लिडरसीप एकेडेमीमार्फत उम्मेदवार चयन गर्नुपर्ने हुन्छ ।
उपनिर्वाचन हुने समयसम्म लिडरसिप एकेडेमीबाट उम्मेदवार तयार हुने सम्भावना कम रहेको सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा लेखेका छन् । १ र २ असोजमा भएको राष्ट्रिय सम्मेलनमा सभापति लामिछानेले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले योग्य उम्मेदवार तयार गर्न नसकेमा हामी गैरदलीय योग्य उम्मेदवारलाई सघाउन सक्नेछौं ।’
रास्वपाले उप निर्वाचनका उम्मेदवारका लागि तीन प्रकृतिबाट छान्ने विकल्प राखेको छ। आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई घण्टी चुनाव चिन्हमा दिने वा गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिने गरी विकल्प ल्याइएको छ ।
तयारी र योग्यता पुगेको उम्मेदवार बिना चुनावमा सहभागी हुन नहुने सभापति लामिछानेको निचोड छ । आफ्नो दलको उम्मेदवारले जित्न नसके ‘स्वतन्त्र राम्रोले’ जित्नुपर्ने मान्यता रास्वपाले राखेको छ ।
सभापति लामिछानेको प्रस्ताव अनुसार विकल्पहरु बारे पार्टीमा छलफल प्रारम्भ भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘सभापतिको प्रस्तावमै टेकेर छलफलहरु चलिराखेको छ । राम्रा गैरदलीय उम्मेदवार भए सघाउने गरी पनि कुराकानी चलिरहेको छ,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने।
स्थानीय तहमा गैरदलीय निर्वाचन हुनुपर्ने सुझावहरु पार्टी आइरहेको रास्वपाले जनाएको छ । स्थानीय तहमा गैरदलीय उम्मेदवार उठाउनुपर्ने सुझावलाई पार्टीको संरचनामा छलफल गरिने रास्वपाले जानकारी गराएको छ ।
उपनिर्वाचन हुने स्थानहरुः
प्रमुख -कीर्तिपुर नगरपालिका, काठमाडौं ।
अध्यक्ष-ग्रामनाथ गाउँपालिका, मोरङ र महाबु गाउँपालिका दैलेख ।
उपप्रमुख-नलगाड नगरपालिका, जाजरकोट र उपाध्यक्ष-गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा ।
वडा अध्यक्षका लागि रिक्त स्थानः
कन्काई नगरपालिका– ६, झापा।
लालीगुराँस नगरपालिका–८, तेह्रथुम ।
गढी गाउँपालिका–६, सुनसरी ।
मोलुङ गाउँपालिका–५, ओखलढुंगा ।
त्रियुगा गाँउपालिका–१२ र वेलका नगरपालिका– ८, उदयपुर ।
डाक्नेश्वरी नगरपालिका–४, सप्तरी ।
रामगोपाल नगरपालिका –२, महोत्तरी ।
इशानाथ नगरपालिका–७, राजपुर–६ र गढिमाई नगरपालिका–८, रौतहट ।
काठमाडौंमा कीर्तिपुर नगरपालिका–१ र ४ एवं काठमाडौं महानगरपालिका– १६ ।
नुवाकोटमा ककनी गाउँपालिका–२, मकवानपुरमा हेटौंडा उपमहानगरपालिका–१२, गोरखामा गोरखा नगरपालिका–५, गुल्मीमा मुसिकोट नगरपालिका–१, रोल्पामा रुन्टिगढी गाउँपालिका–४, बर्दियामा ठाकुरबाबा नगरपालिका–४, दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटमा तिलागुफा नगरपालिका–४, जाजरकोटमा कुशे गाउँपालिका–७, डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका–५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरमा भीमदत्त नगरपालिका–६।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4