२१ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत कालीखोलामा बनेको पुल केही दिनमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
कालीखोलाको ७२ मिटर लामो पुल सञ्चालनका लागि पहुँच मार्ग निर्माणको काम अन्मित चरणमा छ ।
माकिङ लगायतका कामहरु हुँदैछन् । फूलपातीको दिनसम्म पुल सञ्चालन गर्ने गरी काम अगाडि बढेको सडक आयोजनाका सूचना अधिकारी कष्ण आचार्यले जानकारी दिए ।
दशैं अगाडि नाम्सी खोलाको पुल पनि सञ्चालनमा ल्याउने तयारी गरिए पनि केही काम बाँकी भएकोले कालीखोलाको मात्रै पुल सञ्चालन गर्न सकिने देखिएको उनले बताए ।
सो सडक खण्डमा रहेका १९ पुलमध्ये कालीखोलाको पुल सञ्चालनमा आएपछि बाँकी तीन पुल मात्रै सञ्चालन गर्न बाँकी हुनेछन् ।
पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।
तुइनखोलाको पुल पनि लगभग तयार छ । खहरे खोलाको पुलको पहुँच मार्ग बनाउने काम धमाधम भैरहेको छ ।
तिहार अगाडि नाम्सी खोला र तुइन खोलाको पुल सञ्चालनमा ल्याउन सकिने इन्जिनियर आचार्यले बताए । उनले असोजमा आएको बर्षा र पहिरोले काममा केही समस्या ल्याउँदा ढिलाइ भएको बताए ।
विसं २०७६ चैत १० गते यो सडकखण्डमा १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएका थिए । अनक कन्सट्रक्सनले निर्माणको ठेक्का पाएका १५ पुलको लागत एक अर्ब २८ करोड रहेको छ ।
तुइन खोलामा भित्तो काट्नुपर्ने भएकाले र खहरेमा मुआब्जाका कारण काम ढिलो भएको हो ।
विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ ।
प्रतिक्रिया 4