+
+

विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न सहजीकरण गर्छुः मुख्यमन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते १०:२४

२८ असोज,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयको दिवा खाजामा दूधजन्य परिकार राख्न आवश्यक रहेको बताएका छन् । अर्घाखाँची दुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले स्थानीय दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनलाई समेट्ने गरी प्रदेश सरकारले सहजीकरण गर्ने बताए ।

‘प्रदेशको समृद्धिको आधार कृषि र पशुपालनलाई लिएका छौं, जस अन्तरगत दुग्धजन्य उत्पादनको बजारीकरणको लागि पनि सरकारले सहजीकरण गर्छ,’ मुख्यमन्त्री आचार्यले भने ।

उनले विद्यालय तहको दिवा खाजामा दुग्धजन्य उत्पादनका परिकार हप्ताको एक दिन दिनेगरी कार्यक्रम बनाउने गरी काम गर्ने बताए । ‘यसको सुरुवात अर्घाखाँचीबाट गरेर प्रदेशका १०९ पालिकामा पुर्‍याउछौं,’ उनले भने ।

खुला सिमानाबाट अवैध रुपमा भित्रिने दूध र दुग्धजन्य पदार्थमा कडाइ गरिनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए । पाउडर दूधका लागि नेपालगञ्जमा उद्योग स्थापनाको लागि दुग्ध विकास संस्थानले बनाएको योजना अघि बढाउन संघीय सरकारलाई उनले आग्रह समेत गरे ।

दुग्ध उत्पादक किसानलाई लक्षित गरेर सरकारले प्रतिफलमा आधारित प्रति लिटर २ रुपैयाँ अनुदान दिंदै आएको मुख्यमन्त्री आचार्यले स्मरण गरे ।

अर्घखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योगमा एक सय ५४ किसान आबद्ध छन् । त्यहाँ दैनिक एक हजार पाँच सयदेखि दुई हजार लिटर दूध संकलन हुदै आएको छ ।

उद्योगबाट दूधको प्रशोधन र बिक्री वितरण गरिंदै आएको र हाल दूधको बिक्री वितरणमा समस्या परेको सहकारी संस्थाका अध्यक्ष चन्द्रप्रसाद बञ्जाडेले जानकारी दिए । किसानले उत्पादन गर्ने दूधको सहज बजारीकरणमा तीन तहकै सरकारले सहयोग गर्नुपर्ने उनको माग छ ।

विद्यालयको दिवा खाजा कार्यक्रममा दुग्धजन्य पदार्थ अनिवार्य समावेश गर्ने नीति सरकारले लिएको खण्डमा बजारीकरणमा देखिएको समस्या केही हदसम्म समाधान हुने र विद्यार्थीको स्वास्थ्य तथा पोषणमा पनि सुधार आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?