 
																			२८ असोज, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर भोलि मगलबार पाकिस्तान जाँदैछन् । भारतीय विदेशमन्त्रीको पाकिस्तान भ्रमण १० वर्षपछि हुन लागेको हो । त्यसैले पाकिस्तानमा जयशंकरको भ्रमणको निकै चर्चा छ ।
यद्यपि भारतीय विदेशमन्त्री जयशंकर द्वीपक्षीय भ्रमणमा जान लागेका होइनन् । उनी शंघाई कोअपरेशन अर्गनाइजेसन (एससीओ)को बैठकमा भाग लिन जान लागेका हुन् ।
एससीओको बैठक पाकिस्तानको राजधानी इस्लामाबादमा १५ र १६ अक्टोबरमा हुने तय भएको छ । भारत एससीओको सदस्य हो र यो बैठकमा विदेशमन्त्री जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
पाकिस्तानले बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नै आमन्त्रण गरेको थियो । तर भारतको सहभागितामै संशय थियो । सहभागी भइहाले पनि भारतले जुनियर मन्त्री वा ब्यूरोक्र्याटलाई पठाउन सक्ने अनुमान थियो ।
तर विदेशमन्त्री नै जाने भए । तर यो भ्रमणमा भारत र पाकिस्तानको सम्बन्ध सुधारमा धेरै आश गर्न सकिन्न । किनकी सोमबारसम्म द्वीपक्षीय सम्वादको कुनै योजना छैन ।
पाकिस्तानका विदेशमन्त्री इसहाक डारका अनुसार आयोजक देश (पाकिस्तान)ले आफैं द्वीपक्षीय सम्वादका लागि प्रस्ताव गर्दैन, तर भारतले अनुरोध गर्यो भने सोच्न सकिन्छ ।
उनले सोमबार भनेका छन्, ‘द्वीपक्षीय सम्वादका भारतले अनुरोध गरेको छ, न पाकिस्तानले ।’
त्यसका बाबजुद भ्रमणको पाकिस्तानमा निकै चर्चा छ । पाकिस्तानकी पूर्व विदेशमन्त्री हिना रब्बानीले त जयंशरको भ्रमणलाई भारतको स्मार्ट मूभ भनेकी छन् ।
दुई देशको सम्बन्ध सामान्य नरहेको मात्र होइन, दुबै देशमा एकअर्काको उच्चायुक्त समेत नरहेको भन्दै उनले २४ न्यूजसँग भनिन्, ‘यस्तो बेला कुनै ब्युरोक्र्याटलाई नपठाएर एस जयशंकरलाई पठाउने निर्णय भारतको स्मार्ट मूभ हो ।’
यद्यपि यसलाई भारतको युटर्न मान्न नसकिने ारतमा पाकिस्तानका उच्चायुक्त भइसकेका अब्दुल बासित बताउँछन् । यसअघि कीर्गिस्तानमा भएको बैठकमा समेत भारतीय विलेशमन्त्री गएको स्मरण गर्दै उनले भनेका छन्, ‘मलाई लाग्दैन कि भारतले पाकिस्तानसँग सम्वाद गर्ने कुनै निर्णय लिएको छ ।’
पाकिस्तानमा भारतका लागि उच्चयुक्त भइसकेका अजय बसारियाले भने दुई देशलाई सम्बन्ध सुधारको अवसर रहेको बताउँछन् ।
इलास्माबादमा हुने एससीओ बैठकमा मन्त्रीलाई पठाउने निर्णय लिएर भारतले छिमेकी देशहरुसँगको सम्बन्धमा स्थिरता चाहेको सन्देश दिएको भन्दै उनले साउथ चाइना मर्निङ पोष्टसँग भनेका छन्, ‘दुबै देशले आफ्नो उच्चायुक्त पठाएर सम्बन्धको सुरुवात गर्न सक्छन् । यसका साथै ट्रेड पनि सुरु हुनसक्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4