३० असोज, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् ।
६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका हुन् । ‘अपराधहरु बढेर गएका छन्,सुरक्षा चुनौतीहरु थपिएका छन्’, ‘मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरी संगठन पनि बदलिदो परिवेश अनुसार आफुलाई आधुनिकीकरण र रुपान्तरण गरेर अघि बढ्नुपर्ने छ ।’
अपराध अनुसन्धानको क्षेत्रमा लुम्बिनी प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको कार्यसम्पादन उत्कृष्ट रहेको समेत चर्चा गर्दै कामको सिलसिलामा दिवंगत प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न र विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको तर अपराधको प्रकृति फेरिदा र सूचना प्रविधिको विकासले प्रहरीमाथि चुनौती थपिएको भन्दै अनुसन्धानको कामलाई आधुनिक प्रविधि संग जोड्न जरुरी रहेको औंल्याए ।
कार्यक्रममा सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान र प्रहरी स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगितामा विजय हुनेहरुलाई पुरस्कृत गरिएको प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4