
१ कात्तिक, काभ्रे। बनेपा ८ मा रहेको दुग्ध विकास संस्थान (डिडिसी)को दुध संकलन केन्द्रमा कर्मचारीलाई भित्रै राखेर गेटमा ताला लगाइदिएका छन्।
विगत ५ महिना देखि रोकिएको पैसा नदिकन कात्तिक १ गतेबाट विना सूचना निजी फर्महरुले कृषकहरुसँग संकलन गरेको दूध नलिने निर्णय गरेको भन्दै कृषकहरुले संस्थानका कर्मचारीलाई भित्रै राखेर गेटमा ताला लगाइदिएका हुन् । कर्मचारीलाई भित्रै राखेर विहान १० बजे ताला लगाए पनि १ घण्टापछि कर्मचारीहरुलाई भने कृषकहरुले बाहिर निस्कन दिएका थिए ।
मनकामना डेरी तथा ढकाल गणेश भैंसी फार्मका संचालक कुमार तिमल्सिनाका अनुसार बनेपा संकलन केन्द्रले ५ महिना देखि कृषकको पैसा दिएको छैन्। बनेपामा मात्र ६ करोड भन्दा बढि भुक्तानी गर्न बाँकी छ ।
सरकारले केहि समय अघि निकासा गरेको ६० करोडमा बनेपाका कृषकहरुले जम्मा ४५ दिन (तीन फारम) को मात्र भुक्तानी पाएका थिए । उनीहरुले जब सम्म दुधको भुक्तानी पाईदैन तबसम्म तालाबन्दी रहने जानकारी दिए ।
‘५ महिनाको भुक्तानी नगरी, केहि समय पनि नदिकन तिमीहरुको दूध लिन्नौ भन्ने कत्तिको जायज कुरा हो, कृषकको दुध लिने बेलामा लिने अनि भुत्तानी कुरेर बसेका कृषकको भुत्तानी त परको कुरा दुध नै लिन्न भन्ने कस्तो गैर जिम्मेबार डिडिसी ।’ कुमारले भने, २४ बर्षदेखि डिडिसीलाई दुध दियौं तर अहिले उक्कासी आएर दुध लिन्न भन्नु कृषकहरुको अपमान हो ।
डिडिसीले गत असोज १६ गते सम्पूर्ण संकलन केन्द्रहरुलाई पत्र लेख्दै नेपाल सरकारको नियमअनुसार दर्ता भएका सहकारी संस्थाबाहेकका नीजि फर्म तथा कृषकहरुको दुध संकलन नगर्न परिपत्र भएको थियो ।
दशैको मुखमा भएको परिपत्र अनुसार २०८१ कात्तिक १ गतेबाट सहकारी बाहेकबाट लिइएका दुध संकलन भएका भुक्तानीको जिम्मेवमरी आफैले लिन पर्ने भन्ने पत्र संकलन केन्द्रलाई प्राप्त भएकोले दूध संकलन गर्न नसकेको बनेपा संकलन केन्द्रका प्रमुख किशोर सिंहले जानकारी दिए।
उनी कृषकहरुको कुरा लिएर संस्थान जाँदै गरेको जानकारी समेत दिए । उनका अनुसार काभ्रेका कृषकहरुको मासिक ८० लाख देखि १ करोड सम्म दुधको भुत्तानी गर्नुपर्ने हुन्छ ।
काभ्रेमा सेतिदेवी र देउराली सहकारी बाट बाहेक अन्य ९ बटा नीजि क्षेत्रबाट संकलन भएका दुध २४ बर्षदेखि डिडिसीले लिदै आएको थियो।
प्रतिक्रिया 4