+
+

एमाले रुरुक्षेत्र गाउँ कमिटी अधिवेशन विवादमा

अध्यक्ष पदका उम्मेदवारद्वारा प्रदेश कमिटीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १५:१४

४ कात्तिक, बुटवल । नेकपा एमाले रुरु क्षेत्र गाउँ कमिटी गुल्मीको अधिवेशन विवादित बनेको छ । अध्यक्ष पदका दावेदारलाई उम्मेदवार बन्न नदिएर ‘निर्विरोध’ नेतृत्व चयन गरेपछि अधिवेशन विवादित बनेको हो ।

अधिवेशनको बन्द सत्र अन्तर्गत उम्मेदवारी दर्ता गर्ने बेला नेता चक्रपाणी गौतमलाई जेष्ठ कम्युनिष्ट मञ्चको प्रदेश कमिटी सदस्य रहेकाले गाउँ कमिटीमा उम्मेदवार बन्न नमिल्ने भन्दै फर्सु ज्ञवालीलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो ।

अध्यक्ष पदमा उम्मेदवारी दिन नपाएका गौतमले आफूलाई उम्मेदवारी दर्ताको बेलामा मात्रै जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य रहेको जानकारी गराई योजनाबद्धरुपमा नेतृत्वमा जान रोकिएको दावी गरे ।

‘२०८० माघ १६ गते मनोनित गरेको विषयको जानकारी एक वर्षसम्म नदिई उम्मेदवारी दर्ता गर्ने बेलामा दिइनु योजनाबद्ध षड्यन्त्र हो, यसले स्वच्छ प्रतिस्पर्धा गर्न पाउने जनताको वहुदलीय जनवादको मूल मर्ममाथि प्रहार भएको छ’ गौतमले भने, ‘जेष्ठ कम्युनिष्ट मञ्चको सदस्य कार्यकारी पद पनि होइन, हुँदैमा उम्मेदवार बन्न नपाइने पार्टी विधानमा छैन तर मलाई रोक्न जिल्ला नेतृत्व नै लाग्यो ।’

निर्वाचन भएको अवस्थामा आफूले चाहेको व्यक्ति हार्ने र आफूले जित्ने निश्चित देखेर आफूमाथि षड्यन्त्र गरिएको गौतमले आरोप लगाए । ‘म ३० वर्षदेखि पार्टीमा योगदान गरेको अग्रज नेता हो, पञ्चायतकालमा समेत जनपक्षीय उम्मेदवार बनेर जितेको हुँ, अहिले पनि चुनाव भएको भए जित्ने देखेर नै उम्मेदवार बन्न नदिई जबजको खिल्ली उडाइयो,’ गौतमले भने, ‘पार्टीभित्र गुट झांगिएको छ, एउटाले अर्को गुटलाई सिध्याउने खेल भयो ।’

उम्मेदवार बन्नबाट बञ्चित गरी अन्याय भएको भन्दै गौतमले पार्टी प्रदेश कमिटीलाई निवेदन पठाउँदै न्याय दिन माग गरेका छन् । प्रदेश कमिटीका एक पदाधिकारीले पार्टीमा ३०वर्षदेखि योगदान गरेको अग्रज नेताको उम्मेदवारीलाई मान्यता नदिई एकलौटी गर्नुले इमान्दार नेतामाथि अन्याय भएकाले माथिल्लो कमिटीले न्याय दिने आश्वासन पाएको गौतमले बताए ।

नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछा मगरले पालिका कमिटी भन्दा माथिल्लो कमिटीमा रहेकाले विधान र आचारसंहिताले नै गौतम उम्मेदवार बन्न योग्य नभएको बताए । गौतमको उमेर ७२ वर्ष पुगेको, स्वास्थ्य पनि राम्रो नभएको भन्दै ७० वर्षमाथिका व्यक्ति कार्यकारी पदमा उम्मेदवार बन्न नमिल्ने काउछाले तर्क गरे ।

एमाले रुरु गाउँ कमिटी अधिवेशनका प्रतिनिधि बिरबल पुरीले जेष्ठ कम्युनिष्ट मञ्चको प्रदेश सदस्यमा मनोनित गरेको विषय एक वर्षसम्म जानकारी नगराई अधिवेशनमा आएर जानकारी गराई गौतमको उम्मेदवारीलाई मान्यता नदिनु गलत भएको बताए । यसबारे प्रदेश कमिटीले न्यायोचित निर्णय दिने आशा रहेको पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?