काठमाडौं । मिस नेपाल अर्थ सुमना केसी र मिस नेपाल इन्टरनेसनल करुणा रावत अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएका छन् । सुमना सोमबार फिलिपिन्स र करुणा जापान प्रस्थान गर्ने कार्यक्रम छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा द हिडन ट्रेजरले राष्ट्रिय झण्डा प्रदान गर्दै जितको शुभकामनासहित उनीहरुलाई बिदाइ गर्यो । उक्त अवसरमा यी दुई सुन्दरीले प्रतियोगिताको लागि आफूहरुले गरेको तयारीबारे जानकारी गराएका थिए ।
सुमनाले मनिलामा अक्टोबर २२ देखि नोभेम्बर १० सम्म हुने मिस अर्थको प्रतिस्पर्धामा भाग लिनेछिन् । यसपटक मिस अर्थमा ‘सम्पदा’लाई केन्द्रित गरी थिम बनाइएको जनाउँदै उनले सोहीअनुसार चितवनको दिगो पर्यटन र जलवायु परिवर्तनको विषयलाई प्रस्तुत गर्ने बताइन् ।
नेपालको वनस्पतिलाई झल्काउने ढंगले नेसनल कस्ट्युम आफूले त्यहाँ प्रस्तुत गर्ने सुमनाले बताइन् । नेपालीको सहानभूति गर्ने विशेष स्वभाव आफूले मिस अर्थ जित्ने मुख्य आधार रहेको उनको तर्क छ । यसका लागि वाक, मेकअप, हेयर लगायत तयारी आफूले गरिसकेको उनले बताइन् ।
करुणाले जापानको टोकियोमा अक्टोबर २९ देखि नोभेम्बर १३ सम्म हुने मिस इन्टरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसपटक मिस इन्टरनेसनलमा मानसिक स्वास्थ्य सचेतना र दिगोपनको थिम तय रहेको जनाउँदै उनले आफूले सोहीअनुसार त्यहाँ प्रस्तुति दिने बताइन् ।
‘मैले यसअघि नर्चरिङ माइन्ड नामक मानसिक स्वास्थ्य सचेतनाबारेको अभियान चलाउँदै आएकी थिएँ’ करुणाले भनिन्, ‘यसपटक राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यका दुई गोल राम्रो स्वास्थ्य र कल्याणबारेको प्रोजेक्ट प्रस्तुत गर्नेछु ।’
मिस इन्टरनेनसलको लक्ष्य सांस्कृतिक विविधतालाई प्रवर्द्धन गर्नु रहेको भन्दै उनले यसपटक नेसनल कस्ट्युम परेड हुने र यसका लागि तयारी गरेको बताइन् ।
द हिडन ट्रेजरका अध्यक्ष अजय स्थापितले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा जित दिलाउनेतर्फ आवश्यक तयारीका लागि सरकारको सहयोग जरुरी रहेको बताए । आफूहरुले मिस अर्थ र मिस इन्टरनेसनलमध्ये कुनै एक प्रतियोगिता नेपालमा आयोजना गर्न प्रस्ताव गरेकोमा मन्त्री परिवर्तन भएपछि उक्त कुरा हराएको उनले बताए ।
प्रतिक्रिया 4