७ कात्तिक, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो । कप्तान पुजाले नेपालको सिनियर टोलीबाट २० टी२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार आईसीसी यू-१९ वुमन्स टी-२० विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा हुनेछ ।
नोभेम्र ६ देखि १३ सम्म युएईमा हुने छनोट प्रतियोगितामा नेपाल र आयोजक युएईसहित कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा खेलहरु हुनेछ । यस छनोट प्रतियोगिताबाट विजेता टोली २०२५ जनवरी-फेब्रुअरीमा मलेसियामा हुने दोस्रो संस्करणको यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
जहाँ कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक मलेसिया स्वत छनोट भइसकेको छ भने २०२३ मा भएको पहिलो संस्करणको १० टोली पनि स्वत छनोट भएका छन् । बाँकी ५ टिम क्षेत्रिय छनोट प्रतियोगिताबाट छानिनेछन् । जसमा अमेरिका क्षेत्रबाट अमेरिका, अफ्रिकाबाट नाइजेरिया, युरोपबाट स्कटल्याण्ड र इस्ट एसिया प्यासिफिकबाट समाओ छनोट भएका छन् । अब एसिया क्षेत्रबाट मात्र टिम छनोट हुन बाँकी हुनेछ ।
नेपाली टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक ।
प्रतिक्रिया 4