 
																			उच्च आर्थिक वृद्धिदर, नयाँ प्रविधिको उपयोग, स्वतन्त्र जीवनयापन गर्न पाइने संसारकै शक्तिशाली मुलुकको रूपमा परिचित छ अमेरिका। अन्य देशहरूको तुलनामा रोजगारीका धेरै अवसर प्राप्त हुने र मिहिनेत अनुसार सेवा-सुविधा पाउन सकिने देशको परिचय बनाएको छ ।
गैरकानुनी रूपमा प्रवेश गरेका आप्रवासीहरू अन्य मुलुकले जस्तो अमेरिकाले हतपत फर्काउँदैन। ठूलै अपराध गरे जेल हाल्छ, तर फर्काउनेतिर त्यति लागेको देखिंदैन।
अमेरिका प्रवेश गरेपछि फर्कन नचाहनेका लागि धेरै विकल्प हुन्छन्। भिसा आवेदन दिएकामध्ये डीभी भरेकाहरूको सम्भावना ०.२५ प्रतिशत र अन्य तवरबाट जाने सम्भावना ३० प्रतिशत मात्र रहेकोले पनि जान कठिन छ भन्ने भएपछि झन् अमेरिकाको महत्त्व बढेको देखिन्छ।
अमेरिकाको भिसा लाग्नु नै भाग्यमानी ठान्ने हाम्रो समाजको धारणा हुनाले पनि जान चाहनेको संख्या अधिक छ। जापान, कोरिया, युरोप, अस्ट्रेलिया जस्ता मुलुकका नागरिकहरूको गन्तव्य पनि अमेरिका नै रहेको देखिन्छ भने नेपालीको आकर्षक गन्तव्य हुनु अन्यथा होइन।
यसमा अमेरिकाको विकास, त्यहाँ पाइने अवसरदेखि सरकारका नीतिहरू कारक छन्। अमेरिकाले लिएका नीतिहरू नै दिगो र द्रुत विकासका लागि अनुकूल देखिन्छन्।
५० वटा राज्य मिलेर बनेको अमेरिकाको केन्द्रीय नीति अन्तरिक्ष व्यवस्थापन, जङ्गल सुरक्षा, विज्ञहरूको संकलन र अमेरिकी जनताको सुविधा तथा सुरक्षा हो। केन्द्रीय सरकारको दायित्व भित्र अर्थ, वाणिज्य, राष्ट्रिय प्रतिरक्षा, वैदेशिक मामला तथा अन्य कानुनका कुराहरू मात्र छ।
त्यहाँको विकाससँग जोडिएका सार्वजनिक खरिद सहित व्यवस्थाहरू पनि विकासमैत्री छन्। यहाँ सबै खरिद कार्यहरू प्रान्त तथा स्थानीय तहलाई जिम्मा दिइएको हुन्छ। खरिद प्रक्रियामा विशेषगरी वर्ल्ड बैंकको डकुमेन्ट तथा इन्टरनेशनल फेडरेशन अफ कन्सल्टिङ इन्जिनियर्स निर्माण प्रविधि र परामर्श इन्जिनियरिङका लागि अन्तर्राष्ट्रियस्तरको संस्था (एफआईडीआईसी) डकुमेन्टलाई रिफरेन्स दिएर बिडिङ डकुमेन्ट बनाइएको हुन्छ।
विशेषगरी लाइफ साइकल कस्ट, दिगोपना, वातावरणीय पक्ष, फ्रेमवर्क कन्ट्रयाक्ट, निर्माण व्यवसायी विगतको कामकाजको रेकर्ड आदिको विश्लेषण गरी ठेक्का दिने प्रचलन छ। नेपालमा जस्तो कम कबोल गर्नेलाई नभई राम्रो मूल्य (बेस्ट प्राइस) मा खरिद गर्ने गरेको देखिन्छ।
यस किसिमको ठेक्का व्यवस्थापनमा संघीय सरकारले प्रान्तीय स्तरमा तथा स्थानीय सरकारलाई विश्वास गरी जिम्मा दिएको देखिन्छ। यसकारण सबै पक्षको विश्वासको कारण ठेक्काहरू प्रायः रुग्ण नभएको देखिन्छ।
यस्ता कैयौं विशेषता भएको मुलुक अमेरिकामा नेपालीहरू सबैभन्दा बढी डीभी परेर जाने गर्दछन्। औसतमा ०.२५ प्रतिशत अर्थात् प्रत्येक ४०० जनाले डीभी भरेकोमा एक जनालाई पर्छ। नेपालको हकमा करिब ७ लाखले डीभी चिट्ठा भरेकोमा औसत ०.३१ प्रतिशत अर्थात् २१७० जना मात्रै अमेरिका जान सफल भएको देखिन्छ। विश्वभरबाट करिब ७ लाख डीभी चिट्ठा मार्फत सफल भएर र अन्य माध्यमबाट अमेरिका जान चाहनेको संख्या पनि उल्लेख्य छ।
अमेरिका जाने अर्को माध्यम भनेको शरणार्थीको रूपमा हो। संसारबाट ३६ लाख मानिसहरू शरणार्थीको रूपमा प्रवेश गरेका छन्। नेपालबाट पनि सशस्त्र युद्ध, भूकम्प, बाढीपहिरो आएको बेलामा पनि शरणार्थीको रूपमा प्रवेश गरेको देखिन्छ।
त्यसैगरी अवैधानिक बाटो प्रयोग गरी अन्य देश खासगरी मेक्सिकोको बाटो हुँदै पनि अमेरिका छिर्ने गर्दछन्। वार्षिक ५ लाख प्रवेश गर्ने र हाल ९० लाखको हाराहारी रहेको अनुमान छ, त्यसमा पनि नेपाल अछुतो रहेको छैन। ५०/६० लाख दलाललाई बुझाइ ज्यानको जोखिम मोलेर समुद्रमा डुङ्गा चढी जंगलको बाटोमा महिनौं लगाएर अवैध बाटोबाट जानेको सङ्ख्या पनि कम छैन।
अन्य डिपेन्डेन्ट, व्यावसायिक, भिजिट तथा विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा उपस्थिति हुनको लागि आफन्तलाई दिइने लगायतका भिसाबाट अमेरिका जान सकिन्छ। विकसित देश भएकाले अमेरिका धेरै पक्षमा समृद्ध छ। त्यसैले पनि यहाँ मान्छेहरू बस्न लालायित हुन्छन्।
अब्बल यातायात व्यवस्थापन
अमेरिकी विकासका धेरै राम्रा पक्षमध्ये यातायात व्यवस्थापन पनि हो। अमेरिकामा करिब ६५ लाख किलोमिटर सडक, ८ लाख भन्दा बढी पुलहरू छन्। अमेरिका संसारकै सबैभन्दा ठूलो सडक सञ्जाल भएको मुलुक हो। यहाँ झण्डै ५ हजार सरकारी र १५ हजार निजी गरी करिब २० हजार जति विमानस्थल छन्।
त्यसैगरी करिब २ लाख ६० हजार किमिको रेल्वे नेटवर्क छ। करिब ८७ प्रतिशतले सडक यातायात प्रयोग गर्दछन्। हवाई यातायात १२ प्रतिशतले प्रयोग गर्दछन् भने रेल यातायात फेरी, बोट लगायत अन्य यातायातको साधन १ प्रतिशतले मात्र प्रयोग गर्छन्।
करिब ९१ प्रतिशत कामदारले प्राइभेट कारको प्रयोग गरी आफ्नो काममा जाने गर्दछन्। विभिन्न आर्थिक तथा व्यापारिक गतिविधि बजार क्षेत्र (डाउन टाउन) मा हुने र बस्ती ग्रामीण भेग (कन्ट्री साइड) मा हुन्छ। आउन-जानका लागि प्राय: कारकै प्रयोग गर्दछन्। विभिन्न सडकहरू सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनाएका हुन्छन्। त्यस्ता किसिमका सडकलाई टोल रोड भन्ने गरिन्छ।
उक्त रोडमा कर तिर्नुपर्ने हुन्छ, तर तीन जना भन्दा बढी यात्रु रहेमा नलाग्ने लगायतका व्यवस्थाहरू छन्। यसबाट के प्रष्ट हुन्छ भने मानिसहरू प्रायः प्राइभेट कारमा यात्रा गर्दछन्, तर सरकारले भने पब्लिक ट्रान्सपोर्ट प्रयोग गर्न प्रेरित गरे पनि त्यति प्रभावकारी भएको देखिंदैन।
कुनै कुनै उत्सवमा रेल ट्रान्सपोर्ट नै निःशुल्क बनाउने रहेछ। श्रमिक दिवसमा रेल यातायात निःशुल्क रहेछ, त्यस किसिमको सहुलियत हामीले पनि प्रयोग गर्ने अवसर जुरेको थियो।
यातायात व्यवस्थापनको क्षेत्रमा प्रायः सडक यातायात नै प्रयोग भएको पाइन्छ। सुरुमै प्लानिङ गरेर शहर बनाइएकोले ग्रिडमा सडकहरू छन् र ब्लकमा बस्तीहरू भेटिन्छन्। सडकका सबै आयामहरूलाई उत्तिकै ध्यान दिएको देखिन्छ।
दुई लेनदेखि २६ लेनसम्मका सडकहरू छन्। विशेषगरी शहरी सडकमा सडकको दायाँ-बायाँ साइकल लेन छ, त्यसपछि पार्किङ लेन छ, ग्रिन बेल्ट छ, फुटपाथ छ, यी सबै आफूमै पूराका पूरा स्ट्यान्डर्डमा छ। न्युयोर्कमा द्रूत बस सेवाको लागि छुट्टै लेन पनि रातो रङले छुट्याइएको छ। लामो दूरीको लागि बसबाट पनि यात्रा गर्न सकिन्छ।
२६ लेनको बाटोमा पनि फुटपाथ २–४ मिटरको छ। नेपालमा फुटपाथ चाक्लो राम्रो हो भन्ने भ्रम छ। तर सबै आयाम भएको ठाउँमा फुटपाथको आफ्नै स्ट्यान्डर्ड हुन्छ। कुनै एक आयामलाई दखल पारेर फुटपाथलाई मात्र हेरिनु इन्जिनियरिङ विरुद्ध हुन जान्छ। फुटपाथ पनि स्ट्यान्डर्डको चाहिन्छ भने अन्य संरचनाको लागि थप चौडाइ लिनुपर्छ अन्यथा कालान्तरमा यसको असर नकारात्मक हुन्छ।
व्यापारिक केन्द्र न्युयोर्कमा सडकमा छुट्टै पार्किङ लेन छ, सवारी साधनहरू सडकमै पार्किङ गरेको देखिन्छ। २६ लेन हुने देशको फुटपाथको चौडाइ देखाएर त्यस्तै हुनुपर्छ भन्ने कुरा भ्रम सिर्जना गर्नु जस्तै हो।
सडक सुरक्षाको क्रयास ब्यारियर राखिएको छ भने सडक लेनभन्दा बाहिर अर्थात् ‘एज पेन्टिङ’ भन्दा बाहिरपट्टि रूम्बल स्ट्रिप राखिएकोले गाडीले लेन छोडेर बाहिर गएमा तुरुन्तै हल्लेर थाहा हुने गरी बनाएको हुन्छ।
ट्राफिक लाइटको भरपुर प्रयोग गरिएको छ, साइन बोर्डको उचित व्यवस्थापन छ। यहाँ राइट ह्यान्ड ड्राइभिङ हुने उक्त देशमा किलोमिटरको सट्टा माइलको प्रयोग हुन्छ। कारहरू पनि अलि ठूला तथा अन्य देशका भन्दा पृथक् देखिन्छन्।
सुन्दर पर्यटकीय गन्तव्य
अमेरिका बस्न र काम गर्न मात्रै होइन, घुम्न रूचाउनेहरूका लागि पनि उत्कृष्ट गन्तव्य हो। अमेरिकाको राजधानी शहर हुनाले वासिङ्टन डिसी धेरैको गन्तव्य बन्न पुगेको देखिन्छ।
यसमा प्रमुख प्रशासनिक केन्द्र ह्वाइट हाउस छ, सिनेट (संसद् भवन), लिङ्कन सङ्ग्रहालय अमेरिका स्वतन्त्र हुँदाको प्रतीकको रूपमा रहेको नेशनल मल सङ्ग्रहालयदेखि दोस्रो विश्वयुद्धको संग्रहालय सहित भर्जेनियामा रहेको पेन्टागनको स्मारक पनि हेर्नलायक ठाउँहरू हुन्। ११ करोड यात्री चालु रहने दैनिक २१०० जहाज आवतजावत गर्ने एटलान्टा एयरपोर्ट जर्जिया पनि हेर्नुपर्ने एयरपोर्ट हो, जुन संसारकै व्यस्त एयरपोर्ट हो।
अमेरिकाको पर्यटकीय राजधानीको रूपमा रहेको न्युयोर्कमा प्रशस्तै हेर्न अनि घुम्न लायक ठाउँहरू छन्। टाइम स्क्वायर प्रमुख गन्तव्य हो, जसमा वार्षिक ४ करोड २० लाख भन्दा बढीले भ्रमण गर्दछन्।
त्यसैगरी सेन्ट्रल पार्कमा ४ करोडले भ्रमण गर्दछन् भने वर्ल्ड ट्रेड सेन्टर जहाँ ११ सेप्टेम्बर २००१ मा ट्विन टावर ध्वस्त भएको ठाउँमा स्मृति पार्क बनाइएको छ– जसमा उक्त घटनामा मारिएका व्यक्तिहरूको नाम ठेगाना उल्लेख छ।
त्यस्तैगरी न्यूयोर्कबाट जानै पर्ने ठाउँ हो ‘स्ट्याचु अफ लिबर्टी’। अमेरिकाको स्वतन्त्रताको प्रतीक, प्रेरणाको स्रोत तथा आशाको किरणको रूपमा छुट्टै आइल्यान्डमा रहेको उक्त महिलाको स्वरूपमा भएको प्रतिमाको एकहातमा कानुनको किताब तथा अर्को हातमा टर्चलाइट रहेको करिब ३०५ फिट अग्लो मूर्ति छ। यो हेर्न पनि करोडौं मानिस आउने गर्दछन्। न्युयोर्कमा नेपालीहरूको रहनसहन, खानपिन, भेषभुषा सहितको बस्ती पनि छ, जसलाई जक्सन हाइट भनिन्छ। जहाँ पुगेपछि नेपालमै रहेको अनुभूति हुन्छ।
पुरानो शहरको रूपमा चिनिने यो शहरमा ठूला दुईवटा विश्वविद्यालय छन्। संसारकै उत्कृष्ट मानिने हार्वर्ड विश्वविद्यालय र एमआईटी विश्वविद्यालय पर्दछन्। विशेषगरी औषधि विज्ञानको लागि प्रख्यात छ। अमेरिकाको उपनिवेश विरुद्धको क्रान्तिको स्थापना पनि यही शहरबाट भएको हो, युरोपियनले शासन चलाउँदा पानीजहाजबाट चियापत्ती ल्याउँदा पानीजहाजबाटै चियापत्ती झिकेर समुद्रमा फालेको ठाउँलाई ‘टी पार्टी स्क्वायर’ का रूपमा संग्रहालय पनि हेर्न लायक नै छ। जमिन तथा पानीमा हिंड्ने बस (डक टुर) ले पनि थप आकर्षक बनाउँछ।
वासिङ्टन डिसीबाट ४३ घण्टा कारमा वा जहाजमा ४ घण्टा २० मिनेटमा पुग्ने यस शहर नाइट लाइफको लागि प्रख्यात छ। क्लब, डिस्को, ग्याम्ब्लिङ लगायतको लागि संसारबाट करोडौं मानिस आउने गर्दछन्। पश्चिमी किनारामा पर्ने हुनाले पूर्वी किनाराको यो शहर अति खर्चिलो मानिन्छ।
न्युयोर्कबाट करिब ७ घण्टाको बसको यात्रा गरेपछि नियाग्रा फल्स पुग्न सकिन्छ। न्युयोर्कमा टुर प्याकेजमा चाइनिजहरूले बसमा लैजाने, बास बसाउने, खानाको व्यवस्था गराउने, बेलुका १० बजेसम्म साइट सिन गराउने एवम् फेरीमा उक्त नियाग्रा फल्सको नदी हुँदै उक्त नदीको झरना मुनि लगेर सबैलाई मनोरञ्जनात्मक यात्रा गराउने फर्काएर न्युयोर्क ल्याउने गर्दछन् ।
यो अमेरिका र क्यानडाको सिमानामा अवस्थित नियाग्रा नदीको कृत्रिम झरना हो। संसारको अनौठो आश्चर्यमध्ये एक हो। नदीमा एक किसिमको पुरानो झरनालाई आकर्षक बनाउनलाई त्यहाँ विभिन्न संरचना बनाई आकर्षक झरना बनाइएको हो।
वारिपट्टि अमेरिकाको भूभाग, पारिपट्टि क्यानडाको भाग (टोडोर्डो) पर्दछ। त्यस ठाउँमा हेर्दा अमेरिकाको क्षेत्रमा भन्दा क्यानडातर्फ भव्य विकास भएको छ। प्रायः क्यानडाका साइटमा पर्ने नियाग्रा फल्सको उपयोग भने अमेरिकाले बढी गरिरहेको देखिन्छ।
बेलुका १० बजेसम्म उक्त विशाल फल्समा क्यानडाको तर्फबाट लाइटको प्रबन्ध मिलाइएकोले उक्त फल्सलाई विभिन्न रङमा देख्दा रमाइलो लाग्छ। मानिसको भीड लागेको र करिब १० बजेतिर आकाशमा पटका पट्काएर आतिसबाजी गरेर बडो मनमोहक दृश्य देख्न सकिन्छ।
आन्ध्र महासागरको किनारमा अवस्थित ओसन सिटी पनि एउटा गन्तव्य हो। संसारकै उत्कृष्ट मध्यको ‘बिच’ हो। यहाँ समुद्रको छालसँग खेल्नेहरूको भीड लाग्दछ। नुनिलो पानी र बालुवाको हिंडाइ पयर्टकका लागि मनमोहक अनुभव हुन्। बस्नका लागि राम्रा राम्रा रिसोर्टहरू उपलब्ध हुनाले यसलाई रिसोर्ट टाउनको रूपमा पनि चिनिन्छ। त्यसैगरी अमेरिकाभित्र अन्य गन्तव्यमा सिकागो, सनफ्रान्सिस्को, मियामी आदि छन् भने न्यु जर्सीको राधाकृष्ण मन्दिर पनि प्रख्यात छ।
किन फर्किंदैनन् मान्छे ?
विकासका बहुआयामिक तथा दिगो प्रयासहरूले अमेरिका समृद्ध देखिन्छ। उसले आफूलाई अन्य देशभन्दा सुपेरियर रूपमा प्रस्तुत गरेको पाइन्छ।
स्थानीय परिवेश र परिस्थितिजन्य बाध्यता समेतका कारण पनि त्यहाँ बस्ने गरी पुगेकाहरू त्यहींको दैनिकीमा अभ्यस्त हुन्छन्। त्यहाँ आफ्नै खर्चमा पढाइ असम्भव जस्तै हुन्छ। काम नगरी उपाय लाग्दैन।
शहरमा काम र गाउँमा बसाइ हुनाले काम गर्नेलाई कार चाहिन्छ। यसैगरी घर भाडामा बस्न पनि कठिन हुन्छ। इन्सुरेन्स विना उपचार असम्भव जस्तै हुन्छ। त्यसैगरी अन्य सामग्रीहरू पनि उत्तिकै महँगो हुन्छ। यसको अर्थ हो कार, घर इन्सुरेन्स गर्नैपर्छ। त्यसको लागि सरकारले ०.१० प्रतिशतसम्म डाउनपेमेन्टमा कार किन्ने ऋण तथा घर किन्ने सुविधा दिन्छ।
त्यसैले प्राय:जसोले गाडी र घर किन्नैपर्छ, जसको चुक्ता अवधि २० देखि ३० वर्ष हुन्छ। यस किसिमको किस्ताको कारणले गर्दा ऊर्जाशील अवधि उतै बित्छ, त्यसपछि पेन्सन बस्ने समय ६८ वर्षको हो भने वृद्धभत्ता सुविधा ६८ वर्षबाट सुरु हुन्छ।
ती सुविधाको कारण, हालसम्म गरेको मिहिनेत, बच्चाबच्चीको कारण तथा नेपाल फर्केर पनि थप समाहित हुन समेत समस्या हुने हुनाले नेपालप्रति मोह हुँदाहुँदै पनि आउन प्रायः असम्भव नै देखिन्छ।
मूलतः देश अनुसारको पूर्वाधार नीति हुन्छन्। जापान, कोरिया जस्ता देशमा सार्वजनिक यातायातलाई बढी जोड दिइएको छ भने अमेरिकामा प्राइभेट ट्रान्सपोर्टलाई महत्व दिएको पाइन्छ। खरिद विधि तथा डिजाइन स्ट्यान्डर्डमा ठूलो भिन्नता पाइँदैन। यी सबै लगानीको कुरामा भर पर्दछ।
प्रविधि पनि धेरै थोरै हामीले नेपालमा पनि प्रयोग गरेकै छौं। माटो सुहाउँदो प्रविधिको प्रयोग गर्न सकिन्छ। तसर्थ सबैको ध्यान देश निर्माणमा लागेमा यो देशमा केही हुँदैन भन्ने भावना कम हुँदै जान्छ।
आफ्नो कमजोरी नसच्याउने र अरूको मात्रै कमजोरी देखाएर बस्ने प्रवृत्ति त्यागेर सबै मिलेर अघि बढ्दा हामी पनि द्रुत विकासको मार्गमा अघि बढ्न सक्ने ठाउँ प्रशस्त छ।
(संयुक्त राज्य अमेरिका व्यापार र विकास एजेन्सी र सार्वजनिक खरिद अनुगमन कार्यालयको संयुक्त कार्यक्रममा नेपाल सरकारको मनोनयनमा १६ अगस्टदेखि ५ सेप्टेम्बर २०२४ सम्म अमेरिकामा भएको मूल्यमा आधारित खरिद अध्ययन भ्रमणमा सहभागिताको अनुभवको आधारमा तयार पारिएको। भण्डारी सडक डिभिजन, काठमाडौंका प्रमुख हुन्।)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4