काठमाडौं । ‘छक्कापञ्जा ५’ ले देशव्यापी प्रदर्शनको १७ दिनसम्म आक्रामक कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले तेस्रो शनिबारसम्म १८ करोड ५० लाख ग्रस कमाएको छ ।
फिल्मको कलेक्सनमा तेस्रो सप्ताहन्तमा गिरावट देखिएको छ । पछिल्लो शुक्रबार र शनिबार मात्र कमाइ ९० लाख रुपैयाँ रहेको वितरक मनोज राठीले बताए । ‘कलेक्सनमा गिरावट छ । तर तिहारको बिदा सुरु भएसँगै शो र अकुपेन्सीमा पुनः वृद्धि हुने हाम्रो अनुमान छ’ उनले भने ।
फिल्मले १४ दिनमा १७ करोड ६० लाख रुपैयाँ ग्रस कमाएको थियो । दशैंको फूलपातीमा रिलिज भएको अर्को नेपाली फिल्म ‘१२ गाउँ’ले पनि राम्रै कमाइ गरिरहेको देखिएको छ । तेस्रो सप्ताहन्तसम्म पनि विराज भट्ट निर्देशित फिल्मको कमाइ स्थिर देखिएको जनाइएको छ । समीर भट्ट अभिनित फिल्मले आधिकारिक कमाइ भने सार्वजनिक गरेको छैन ।
शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड सुपरहिरो फिल्म ‘भेनम’ले नेपालमा पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) डेढ करोड हाराहारीमा ओपनिङ गरेको बताइएको छ ।
टम हार्डी स्टारर ‘भेनम ३’ ले विशेषगरी काठमाडौं, पोखरा, चितवन, बुटवल लगायतका ठूला सहरमा सुखद् कमाइ गरेको देखिएको छ । शनिबार यो फिल्मको अकुपेन्सी देशव्यापी ८० प्रतिशत हाराहारीमा थियो ।
पछिल्लो हलिउड रिलिज ‘जोकर २’ ले नेपालमा निराशाजनक व्यापार गरेको सन्दर्भमा ‘भेनम ३’ को कमाइ सन्तोषजनक हो । त्यसअघि ‘डेडपुल एन्ड वुल्भरिन’ले पनि राम्रै कमाइ गरेको थियो ।
प्रतिक्रिया 4