१४ कात्तिक, पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले लमजुङ, काठमाडौं र पोखरामा घरजग्गा देखाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणअनुसार उनले मनग्य सम्पत्ति देखाएका हुन् ।
पौडेलले ठाउँ–ठाउँमा सम्पत्ति देखाए पनि त्यसको मूल्य भने खुलाएका छैनन् । उनको लमजुङ बेशीसहर बजारमा ८ ठाउँमा जग्गा छ । ८० तोला सुन, ६० तोला चाँदी, ५ सेट हिरा र २५ लाख नगद उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले कृषि विकास बैंक, ग्लोबल आइएमई, एसबीआई बैंकमा खाता रहेको उल्लेख गरे पनि रकम खुलाएका छैनन् । उनको ग्लोबल आईएमई बैंकमा ११ हजार कित्ता र लिबर्टी हाइड्रोमा १८ हजार कित्ता शेयर छ ।
व्यापार व्यवसायसमेत गर्दै राजनीतिमा लागेका पौडेलको गेट वे हिमालयन रिसोर्टका नाममा ८० लाख र ५६ लाखको २ वटा जिप रहेको सम्पत्ति विवरणमा बताएका छन् । उनले अन्य ठाउँमा छिटफुट जग्गा तथा सम्पत्ति हुन सक्ने बताएका छन् ।
उनले १२ करोड राष्ट्रिय वाणिज्य बैंकबाट, १ करोड सिद्धार्थ बैंकबाट र ५० लाख नबिल बैंकबाट ऋण लिएको खुलाएका छन् ।
आफैंले तोकेको समयसीमा कटेपछि उनीहरुले बल्ल बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।
पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने २ दिनअघि बसेको मन्त्रीपरिषदले निर्णय गरेको थियो ।
प्रतिक्रिया 4