१४ कात्तिक, बेलायत । दशैं र तिहारको अवसरमा बेलायती संसद भवन परिसरमा नेपाली समुदायले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । वेष्टमिनिस्टरस्थित जुब्ली रुममा मंगलबार साँझ आयोजित ‘दशैंतिहार मिट एन्ड ग्रीट’ कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूसँगै बेलायती सांसदहरूको सहभागिता थियो ।
कार्यक्रममा शुभकामना आदानप्रदानसँगै देउसी-भैलो, गीत, नृत्यजस्ता मौलिक नेपाली सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । लन्डन ग्रीनबीच बरोका मेयर जीत रानाभाटको कमनवेल्थ एन्ड गोर्खा गार्डेन तथा बावेल क्यान्सरसम्बन्धी च्यारिटीको पहलमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा लन्डनकी सांसद एबिना अपोङ असारे असारेले बेलायती संसदमा नेपाली पर्वको खुशी बाँड्न पाउँदा गर्व महसुस भएको बताइन् । अर्की सांसद सेरा ओवेनले पनि नेपाली संस्कृतिबारे जान्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्।
हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस हिलारी आर्मस्ट्रोङले गोर्खाहरुको योगदान र बेलायत-नेपालको ऐतिहासिक सम्बन्धलाई सम्झिइन्। कार्यक्रममा कार्यवहाक नेपाली राजदूत विपिन दुवाडीले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाली परम्परागत देउसी-भैलो, गीत-नृत्यसहित सांस्कृतिक प्रस्तुति तथा नेपाली भोजनसमेतको व्यवस्था गरिएको थियो।
प्रतिक्रिया 4