+
+

विमल गुरुङ कृति पुरस्कार ‘शब्दथुम’ लाई दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते १३:१०

१६ कात्तिक, काठमाडौं । कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ इलामका कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्ध संग्रह ‘शव्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको छ ।

बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार ‘शव्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको हो ।

पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङका अनुसार विमल कृति पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तक दर्ता भएका थिए । तीमध्ये यसअघि १० श्रेष्ठ पुस्तक छनोट गरिएको थियो । तिनै १० मध्ये थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’ लाई विमल कृति पुरस्कार प्रदान गर्न निर्णायक समितिले सिफारिस गरेको थियो ।

निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेत, वैश्विक चिन्तन र मिमांसा पाएको उल्लेख गरेको छ ।

थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गरेको छ । त्यस्तै ‘शव्दथुम’ ले याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिश्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको पनि निर्णायक समितिले जनाएको छ ।

थाम्सुहाङको निबन्ध कृति ‘शव्दथुम’ भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहीनरुपमा उतारिएको छ । तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको छ । निबन्ध संग्रहभित्र आफ्नो भूगोलको साँस्कृतिक पक्ष र सिमान्तीकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह पनि गरिएको छ ।

विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए । यो पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?