काठमाडौं । यतिबेला देशभर तिहारको माहोल छ । इन्टरनेट प्लाटफर्म पनि तिहारमय भैरहेका छन् । देउसीभैलोका गीतसँगै अन्य जनराका संगीत पनि यतिबेला धेरै सुनिनेमध्येको सूचीमा छन् ।
यसैसाता रिलिज भएको सुशान्त केसीको गीत ‘बार्दली’ यतिबेला युट्युवको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा स्ट्रिमिङ भैरहेको छ । युट्युवको लाइभ ट्रेन्डिङतर्फ तेस्रो र संगीत खण्डतर्फ शीर्षस्थानमा यो गीत ट्रेन्डिङमा छ ।
५ दिनअघि रिलिज भएको यो गीतलाई अहिलेसम्म ३८ लाखभन्दा धेरैपटक सुनिएको छ । सुशान्तसहित निश्चल बस्नेत निश्चल बस्नेत, स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठ, इन्द्रकला राई गीतमा फिचर्ड छन् । गीतलाई सुशान्तले कम्पोज गरेका हुन् ।
संगीत खण्डतर्फ अर्जुन सापकोटा र दीपा सिंखडाको गीत ‘दुःख साटम्ला’ छ । गतसाता शीर्ष स्थानमा रहेको यो गीत सूचीबाट ओरालो झर्ने क्रममा छ । सापकोटाको संगीतमा उनीसहित देवी घर्ती र समीक्षा अधिकारीको स्वर छ । सन्तोष सापकोटाका शब्द छन् ।
तेस्रो स्थानमा रोजी र ब्रुनो मार्सको गीत ‘एपिटी’ छ । यो गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा समेत छ । नेपालमा के-पप गीतका प्रशंसक धेरै रहेकाले यो गीत रिलिजदेखि नै लगातार युट्युव ट्रेन्डिङमा छ ।
चौंथो स्थानमा जेम्सीको ‘आम्सटर्डम’ छ । रिस्कटेपको यो पाँचौ गीत हो । गीतमा लेखन र फिचर्ड जेम्सीकै छ ।
पाँचौ स्थानमा निकेश राईको देउसीभैलो गीत छ । दुई साताअघि रिलिज भएको गीतलाई १२ लाखभन्दा धेरै पटक हेरिएको छ । छैटौं नम्बरमा ब्लकबस्टर भारतीय फिल्म ‘स्त्री २’को गीत ‘आजकी रात’ छ ।
सातौंमा बलिउड फिल्मको गीत ‘अमी जे तोमार’ छ । यो गीतमा विद्या बालन र माधुरी दीक्षितको अभिनय छ । श्रेया घोषाल, अमाल एम, प्रितम र समीरले गीतमा स्वर दिएका छन् ।
आठौं स्थानमा नेपाली फिल्म ‘१२ गाउँ’को गीत ‘यो मनले’ छ । सूचीमा खुमन अधिकारी र सम्झना भण्डारीको ‘झिलिमिली तिहार’, लक्ष्मीपूजाका विशेष भजन लगायत ट्रेन्डिङमा छन् ।
प्रतिक्रिया 4