+
+
फिल्म र समाज :

‘पूर्णबहादुरको सारङ्गी’ले रेटेको मीठो ध्वनि

निशान्त ढुंगाना निशान्त ढुंगाना
२०८१ कात्तिक २५ गते १६:१२

नेपाली समाजमा एउटा ठूलो विरोधाभास छ । गन्धर्व समुदायका पुरूषहरू सारङ्गी रेटी गीत गाएर हिंडेको देख्दा रमाइलो मान्छ । गीत सुनेर नाच्न, हाँस्न, भावुक हुन मन पराउँछ । लामो समयको अन्तरालमा समुदायका युवाहरू सारङ्गी रेट्दै बजार हिंड्दै गर्दा नवपुस्ताको अभाव देख्दा चलन र संस्कृति मासिएकोप्रति चुकचुक गर्छ ।

समाजको अवचेतन मानसिकताले गन्धर्व समुदायलाई सधैं सारङ्गी बोकेर कर्खा गाएर हिंडेको कल्पना गर्छ । झलकमान गन्धर्वको ‘आमाले सोध्लिन् नि’ सुनेर भावुक हुने समाजलाई झलकमानले जीवन र दु:खान्तको विषयमा धेरै थाहा पनि छैन । तर के गन्धर्व समुदायले आफ्नो आउने पुस्तालाई सारङ्गी बजाएर सिदा उठाएर खाने पेशामा लगाउनमा उत्साह देख्छ ? यस पेशामा भविष्य देख्छ ?

सायद अब देख्दैन, सायद कहिल्यै पनि देख्दैन थियो ।

पूर्णबहादुरको सारङ्गीको कथा

आफ्नो पिता-पूर्खाबाट अंशमा पाएको लालपुर्जा नभएको एक टुक्रो जमिन र सारङ्गी बोकेर गीत गाउँदै हिंड्ने पूर्णबहादुर गन्धर्व (विजय बराल) लाई आफू हुर्किएको पञ्चायतकालीन समाज र समयले गन्धर्व समुदायका व्यक्तिले सारङ्गी रेटेर गाउनु र आफ्नो प्रतिभा प्रदर्शन वापतको सिदाले उदर भर्नु बाहेकको विकल्प दिएको छैन । पूर्णको साथ-संगत वीरे (मुकुन भुसाल) र माइला (बुद्धि तामाङ) पनि पूर्ण झैं आफ्नो जीवनको चर्या निकट वा दूर भविष्यमा परिवर्तन हुन्न भन्नेमा निश्चिन्त छन् । पूर्णको बुबा (देशभक्त खनाल) को सपना पनि छोरोलाई एउटा सुकन्यासँग जोडी बाँधिदिएर परम्परा धान्ने नाति हेर्नुछ ।

विवाहयोग्य उमेरको पूर्णले हित्तचित्त मिल्ने सुकन्या बाटुली (अञ्जना बराइली)लाई घर भित्र्याएपछि जीवन सुखी नभए पनि खुसहाल हुने भनेर रमाएको छ । आरन पिट्ने विश्वकर्माकी छोरी बाटुलीले गन्धर्व (गाइने) समुदायको वर रोजेपछि बाटुलीका पिताले तिनको कुशको शव बनाएर दाहसंस्कार गरिदिन्छन् ।

जंगबहादुर राणाले मुलुकी ऐन मार्फत लादेको थितिअनुसार विश्वकर्मा समुदाय जातीय सोपानमा गन्धर्व समुदाय भन्दा माथि भएको अभिमान गण्डकी पहाडको सोझो विश्वकर्मामा नपरेको होला भन्न मिल्ने अवस्था पनि छैन ।

बाटुलीले पूर्णसँगको विवाहपछि गन्धर्व समुदायले समाजबाट भोग्ने हेपाइसँग परिचित हुने अवसर पाउँछिन् । आफ्नो छोराले पनि यस्तै दु:ख भोग्नुपर्ने, माग्दै हिंड्नुपर्ने सम्झेर मात्रै पनि बाटुलीलाई ठूलो पीर परेको छ । छोराले लगाएको जडौरी दौरालाई आगोमा हुर्‍याउनु पनि बाटुलीको त्यही आगतप्रतिको चिन्ताले हो भन्न सकिन्छ । छोराको भविष्यका निम्ति बाटुलीले चाल्ने कदम र त्यसले निम्त्याउने भवितव्यले फिल्मको पटकथाको निर्धारण गरेको छ ।

आमाको अनुपस्थितमा बाबुले छोराको सपनालाई पूर्ण गर्न खेलेको भूमिका र संघर्षलाई फिल्मको मुख्य थिमको रूपमा निर्देशक तथा लेखक सुरज पौडेलले स्थापित गराएका छन् । निर्देशकले कथा स्थापित गराइरहँदा पूर्णबहादुरको सारङ्गीबाट मीठो ध्वनी रेट्न सफल भएका छन् ।

बाटुली, पूर्ण र अन्य पात्रहरू

बाटुलीमा  स्पष्ट रूपमा सूक्ष्म चेतनाको झिल्को देखिन्छ । आफ्नो श्रीमानमाथिको हेला आफैंले देखेकी बाटुलीमा आफ्नो छोरालाई सोही पेशामा पठाउन न आँट छ न उत्साह छ । श्रीमान् पूर्णको छोरालाई परम्परागत पेशामा लगाइछोड्ने अठोटविरूद्ध लागेकी बाटुलीको चरित्र फिल्ममा प्रभावकारी छ । बाटुलीको चरित्रलाई अञ्जना बराइलीले एकदमै न्याय गरेकी छिन् ।

पूर्णको भूमिकामा रहेका विजय बराल शीर्ष पात्र हुन् । उनले आफ्नो नायकत्व स्थापित गराउन कुनै कसुर बाँकी राखेका छैनन् । विजयले युवावस्थादेखि वृद्धावस्थासम्मको चरित्र निर्वाह गर्दा आफूलाई अब्बल सावित गराएका छन् । उनले निर्वाह गरेको भूमिकालाई लामो समयसम्म नेपाली फिल्म समुदायले याद गरिरहने छ । श्रीमतीले छोडेर गएपछि एकल बाबुको रुपमा गर्नुपर्ने चरित्रलाई समेत विजयले बडो धैर्यसाथ वहन गरेका छन् ।

सहायक भूमिकामा रहेका मुकुन भुसाल र बुद्धि तामाङले पनि आफ्नो चरित्र इमान्दारीपूर्वक निर्वाह गरेका छन् । बुद्धिले आफूलाई हास्य कलाकार भन्दा पूर्ण परिपक्व कलाकारका रूपमा प्रस्तुति दिएका छन् । मुकुनको अझै प्रभावकारी लाग्छ । मुकुनको वीरे चरित्रमा यथेष्ठ स्थानीयताको झल्को समेत पाइन्छ ।

फिल्ममा मास्टरको भूमिकामा रहेका भोलाराज सापकोटाले आफ्नो चरित्रलाई न्याय गरेका छन् । भूमिगत पार्टीको क्रान्तिकारी मास्टर र कथाकथित उच्च जातको मास्टरको चरित्रले कम्युनिस्ट आन्दोलनमा देखिने विसंगतिलाई पर्याप्त व्यङ्ग्य गरेको छ । पार्टीका बैठकहरूमा गरिब, मजदुर र सर्वहाराको निम्ति क्रान्तिमा लागेको भन्ने व्यक्तिले त्यस्ता व्यक्तिहरूको समीपमा पर्दा कस्तो व्यवहार गर्छन् भन्ने कुराको सुन्दर तरिकाले सापकोटाले भूमिका निर्वाह गरेका छन् । द्वैध चरित्र निर्वाहमा भोलाको खुबी देखिएको छ ।

प्रकाश सपुतको भूमिका सानो र टड्कारो रूपमा आएको छ । एसएलसी पास गर्दाको अवस्था र त्यसलगतै अलि छिप्पिएको देखिने प्रकाशले चरित्र निर्वाहमा गरेको मेहनत प्रशंसनीय छ । छोटो भूमिकामा देखिएका माओत्से गुरूङ लगायतको भूमिका पनि ट्वाक्क मिलेको देखिन्छ ।

संवाद, ब्याक ग्राउण्ड संगीत र भावुकता

फिल्ममा बाबुले छोराको यथास्थितिको विनिर्माण गर्न र सुन्दर आगतको अपेक्षाका लागि गरेको मेहनतले दर्शकलाई भावुक बनाउँछ । आफूले सकी नसकी अपमान, हेय, निकृष्ट व्यवहार सहेर भए पनि छोराको भविष्यका लागि खटेर हिंड्ने बाबुको मेहनत हेर्दा जोसुकै पनि भावुक हुन्छन् ।

फिल्ममा वीरे पात्रले पटक-पटक आफूहरू गड्यौला हौ, चप्पल हौ भनेर भनिरहँदा पूर्णबहादुरले आफू भए पनि आफ्नो सन्तानलाई सो अवस्थामा बाँच्ने माहोल सिर्जना नगर्न पनि पूर्ण सचेत रहेको देखिन्छ । वीरेका शब्दहरूले पूर्णलाई ‘नेगेटिव मोटिभेसन’को काम गरेको हुनुपर्छ ।

वीरेले बोल्ने संवाद र समग्रमा फिल्मको संवाद घत पर्ने खालको छ । लामो लामो संवाद नराखेर ट्वाक्क ‘वन लाइनर’ जस्ता संवादले फिल्मको व्याकरणलाई छिटो र छरितो बनाएको छ । आवश्यकता अनुसारको क्लोज र लङ सटले पात्रको मनस्थिति र स्थानको दृश्यहरूलाई सुन्दर ढंगले कैद गरेको छ ।

फिल्ममा प्रयोग भएका गीतले परिस्थितिजन्य अवस्थालाई सघाउ पुर्‍याएको छ । धेरै गीत भएर दिक्क लाग्यो भन्ने अवस्था आउँदैन । अझ ब्याकग्राउण्ड म्युजिक सुन्दर किसिमले संयोजन गरिएको छ । गन्धर्व समुदायको कथामा ब्याक ग्राउण्डमा पर्याप्त सारङ्गी लगायत बाजाका धुनको प्रयोगले सुनमा सुगन्ध थपेको छ ।

खट्किने पक्ष

बाटुलीको चरित्रलाई गरिएको अन्याय फिल्ममा सबैभन्दा खड्किएको पक्ष हो । पूर्णबहादुरको अवचेतन मनमा छोरालाई पढाउनुपर्छ भन्ने कुराको झिल्को हाल्दिने बाटुलीलाई परिबन्धमा पारेर चट्टै कथा बाहिर निकालिएको छ । अन्तिममा कमल (प्रकाश सपुत)ले आफ्नी छोरीलाई आमासँग पनि भेट होला कि भन्नुले फिल्मले अर्को भागका लागि खुराक बचाएको देखिन्छ तर हाललाई बाटुलीप्रति अन्याय भएको छ ।

पञ्चायतदेखि गणतन्त्रसम्मको लामो टाइम फ्रेमको कथा देखाउने निर्देशकलाई छुट्टै हतार छ । पञ्चायतकालीन समयबाट सुरू भएको कथा अन्तिममा गणतन्त्रमा आएको छ । मास्टरले कमलले एसएलसी पास गरेपछि जंगल लैजान अनुरोध गर्नु र बलजफ्ती नगर्नुले सो समयमा माओवादी विद्रोहीले त्यति सजिलो मान्छेलाई उम्किन दिन्थे र भन्ने प्रश्न उठाउँछ ।

हर्के सदरमुकामबाट आउँदै गर्दा बाटुलीलाई झोलुङ्गे पुलबाट बोलाउँदाको समयमा त्यति आधुनिक तरिकाको पुल गाउँ पुगिसकेको थियो र भन्ने प्रश्न उठछ भने पूर्णको बाबुलाई हस्पिटलमा राख्दा पीभीसी झ्यालढोका लगाइएको देख्दा पैसा, नोट जस्ता कुरामा ध्यान दिएका निर्देशकले त्यहाँ अलि ध्यान पुर्‍याउन नसकेको हो कि भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?