काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ बिहीबारदेखि प्रदर्शन हुँदैछ । लक्ष्मीपूजाको दिन यो फिल्म देशव्यापी र एक सातापछि विश्वभर प्रदर्शनमा आउने निर्माताले जनाएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘कास्ट एण्ड क्रू’ले फिल्मको प्रदर्शन र शिल्पबारे जानकारी दिए । निर्देशक सरोज पौडेलले फिल्मले बाबु र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्ने बताए ।
‘पूर्णबहादुरको सारंगी जुम्लाको स्याउ जस्तै हो, जसको महत्व यतिबेला चाडपर्वमा धेरै छ’ स्याउलाई विम्ब बनाएर निर्देशक पौडेलले भने, ‘हामीले जुम्लाको स्याउ बनाएर पूर्णबहादुरको सारंगीलाई ल्याएका छौं ।’
उनले अगाडि भने, ‘यो एउटा विशुद्ध परिवारको कथा हो । एक पिता जसले आफ्नो सन्तानको लागि सपना देख्छ र संघर्ष गर्छ । जसको बुवा हुनुहुन्छ उहाँको सम्मान र जसको हुनुहुन्न, उहाँहरुको सम्झनामा समर्पित गर्दैछौं ।’
फिल्ममा सारंगीलाई पात्रको रुपमा पेश गरिएको उनले बताए । ‘हाम्रो र सबैका लागि सारंगी प्रिय मौलिक बाजा हो’ अवधारणाबारे निर्देशक पौडेलले भने, ‘एक महिनाअघि मेरो आफ्नै बुवाको डेथ भएको थियो, बुवा विनाको जुन भावना ममा थियो । मैले फिल्ममा यो भावना मिश्रण गरेको छु ।’
सन्तानलाई हुर्काएर ठूलो बनाउने सपना देखेका आमबुवाले गर्ने संघर्षको कथा फिल्मले पेश गर्ने उनले बताए । ‘ती बुवा जसले ग्राउण्ड लेभलमा सारंगी रेटेर जीविकोपार्जन गर्छन् । यिनको कथा हो’ उनले भने ।
फिल्मको प्रमुख पक्ष इमोसन भएको उनले बताए । ‘हाम्रो समाज कता गइरहेको छ भन्ने अवस्था आएको बेला आमाबुवाको सम्मान गरौं भन्ने सन्देश हो’ उनले भने ।
फिल्म करिअरमा पहिलोपटक अभिनेता विजय बरालले यसमा शीर्ष भूमिका निर्वाह गरेका छन् । शीर्ष पात्र ‘पूर्णबहादुर’को रोलमा उनी छन् । छोराको रोलमा प्रकाश सपुत छन् ।
‘मेरा लागि यो विशेष अवसर पनि हो । यो फिल्मले पुस्तान्तरणसहित रुपान्तरणको सार बोकेको छ । बाउले छोराप्रति देखेको सपना हो । फिल्मभित्र केही चीज छ, जुन हेरिरहँदा तपाईंलाई महसुस हुन्छ’ उनले भने ।
अभिनेत्री अञ्जना बराइली फिल्ममा विजयको अपोजिटमा अभिनय गरेकी छन् । यतिबेला ‘रैया चाँदीको’ गीतमा विजय र अञ्जनाको केमेस्ट्रीको चर्चा भइरहेको छ ।
पत्रकार सम्मेलनमा अभिनेत्री बराइलीले हालैको मोफसल टुरमा जाँदा दर्शकलाई उत्साहित देखेको बताइन् । ‘हामीले भर्खरै उपत्यबाहिर टुर गर्यौं, जहाँ दर्शक निकै उत्साहित भएको पायौं’ उनी भन्छिन्, ‘हामी सबैजना चलचित्रबाट आशावादी पनि छौं हामी सबैजना । म आफैं कता कता नर्भस पनि भइराखेको छु जस्तो भएको छ ।’
निर्माता प्याट्रिक सुवेदीले विदेशमा पनि फिल्मको चर्चा राम्रो रहेको बताए । नेपाल रिलिजको एक सातापछि मात्र विदेशमा रिलिज गर्न लागिएको उनले बताए । ‘भिन्न खालको फिल्म बनेको हुनाले यसको चासो धेरै छ’ उनले भने ।
डेब्यु संगीतकार प्रशान्त सिवाकोटीले पहिलो कामबाट प्रशंसा पाएको बताए । उनले यसमा ७ गीत कम्पोज गरेका छन् । ‘यसअघि मलाई चलचित्र क्षेत्रमा अनुभव थिएन’ उनले भने, ‘उहाँहरुको विश्वासलाई सकभर कायम राख्न सकौं भनेर काम गरेको छु । अहिलेको लागि खुसी छु, राम्रै प्रशंसा पाएको छु ।’
अर्का निर्माता विनोद पौडेलले फिल्मको मुख्य कथावस्तु शिक्षा रहेको बताए । ‘बाउले छोरालाई पढाउन गर्ने संघर्षको कथा यसमा छ’ उनले भने । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्म कात्तिक १५ गते प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4