+

‘मैदानमा तूफान, सुदूरको शान…’ घन्काउँदै सुदूरपश्चिमको दाबेदारी

२०८१ कात्तिक  २७ गते १५:२९ २०८१ कात्तिक २७ गते १५:२९
‘मैदानमा तूफान, सुदूरको शान…’ घन्काउँदै सुदूरपश्चिमको दाबेदारी

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टीम सुदूरपश्चिम रोयल्सले मंगलबार कार्यक्रमको आयोजना गरेर आफ्नो आधिकारिक जर्सी, अफसियल एन्थम र परिचयात्मक भिडियो सार्वजनिक गर्दै नेपाल प्रिमियर लिग एनपीएलको लागि आफूहरु तयार रहेको जनाउ दिएको छ ।

टीमका मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी, टीम प्रशिक्षक जगत टमाटा, ब्रान्ड एम्बासडर दीपक विष्ट, क्यान सचिव पारस खड्कालगायतको सहभागितमा एक उत्साहपूर्ण कार्यक्रमका बीच जर्सी, परिचय भिडियो र एन्थम सार्वजनिक गरिएको हो ।

टीमको जर्सी ड्रोनमार्फत कार्यक्रम हलभित्र प्रवेश गराइएको थियो । पहेंलो रङको जर्सीमा गाढा निलो सहायक रङ प्रयोग गरी बनाइएको जर्सी टिमका अध्यक्ष स्वतन्त्र प्रताप सिंह, मार्की खेलाडी ऐरी र ब्रान्ड एम्बासडर दीपक विष्टले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै टीमका मार्की खेलाडी एवम् नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो घरेलु भूमिमा आधारित टोलीबाट खेल्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘हाम्रो टोलीमा युवा खेलाडी तथा विदेशी खेलाडीको राम्रो ब्यालेन्स मिलेको छ, प्रतियोगितामा राम्रो गर्छौं भन्ने आशा छ, एनपीएलसँगै सूदूरपश्चिमलाई पनि समर्थन गरिदिनुहोला।’

नेपालका पूर्व खेलाडी र प्रशिक्षक समेत रहिसकेका जगत टमाटाले एनपीएलको नाम सुन्दैमा छुट्टै जोश र जाँगर आएको उल्लेख गरे । उनले भने, ‘मैले सुदूरपश्चिमको माटोमा जन्मिएर यहीँबाट क्रिकेटको सुरुवात गरें, मैले आफ्नो जीवनको ४८ वर्ष क्रिकेटलाई दिएको छु । अलि छिटो जन्मिएर यो अहिलेको क्षणमा खेल्ने अवसर गुमाएँ कि भन्ने पनि लाग्छ तर आफ्नै जीवनकालमा यो प्रगति देख्न पाउँदा छुट्टै खुसी पनि लागेको छ।’

‘पहिले अन्डर १९ टोलीलाई विश्वकपमा छनोट गराएँ, २०१४ मा ऐतिहासिक विश्वकप खेलेको राष्ट्रिय टोलीमा सहायक प्रशिक्षक पनि भएँ, अब फेरि एउटा नयाँ जिम्मेवारी आएको छ । अब सुदूरपश्चिमलाई जिताउनु छ’, उनले अगाडि थपे ।

टीमका अध्यक्ष स्वतन्त्र प्रताप सिंहले एनपीएलबाट स्वर्णिम युगको सुरुवात भएको टिप्पणी गरे । अब नेपाली क्रिकेटले पछाडि फर्किएर हेर्नु नपर्ने उल्लेख गर्दै उनले भने, ‘एनपीएलले अब नेपाली क्रिकेटमा रहेको सबै द्विविधाहरु पनि हटाउँदै जाने छ, नेपालमै बसेर व्यवसायिक क्रिकट खेल्छु भन्ने खेलाडीहरुलाई अब नेपालमै अवसर पाइन्छ भन्ने एक किसिमको विश्वास जगाइदिएको छ ।’

सुदूरपश्चिम भनेको खेलकुदका लागि उर्वर भूमि भएको र यहाँबाट उत्पादित खेलाडीहरु विश्वमै चर्चित बने‍को भन्दै आगामी दिनमा पनि टीमको माध्यमबाट क्रिकेट र समग्र खेलकुदलाई पनि एउटा नयाँ उचाइमा पुर्‍याउने सिंहको विश्वास छ ।

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गरेको गीतमा सुदूरपश्चिमका संस्कृति र पर्यटनसँगै खेलकुद मार्फत राष्ट्रप्रेम झल्काइएको छ । ‘मैदानमा तूफान, सुदूरको शान…जित्छौं हामी सधैं, यही हो हाम्रो पहिचान’ गीतमा सुदूरपश्चिमकै गायकहरु चक्र बम, अनिता चलाउनेको स्वर छ ।

त्यसैगरी परिचय भिडियोमा सुदूरपश्चिमका विभिन्न संस्कृतिहरु सहित धार्मिक तथा पर्यटकीय क्षेत्रहरुलाई देखाइएको छ । उक्त भिडियोमा कलाकार दिव्य देव पन्तले स्वर दिइ वर्णन गरेका छन् ।

सुदूरपश्चिममा अचम्मको संयोग पनि छ । टीमका अध्यक्ष स्वतन्त्र सुदूरपश्चिमकै जिल्ला अछामबाट कैलाली झरेका व्यवसायी हुन् । त्यसैगरी मार्की खेलाडी ऐरी र प्रशिक्षक टमाटा पनि सुदूरपश्चिमकै हुन् । त्यही संयोगमा तीन खेलाडीहरु भोजराज भाट, खडक बोहरा र नरेन साउद पनि सुदूरपश्चिमकै हुन् ।

टीयू क्रिकेट मैदानमा विस्फोटक ब्याटिङका लागि परिचित विनोद भण्डारी पनि टोलीमा छन् भने पूर्व राष्ट्रिय खेलाडी अहिले क्यानडामा खेलिरहेका नरेश बुढाएरले पनि नेपाली लिगमार्फत पुनरागमन गर्दै छन् ।

टिममा विदेशी खेलाडीका रुपमा नेपालमा परिचित नाम यूएईका रोहन मुस्तफा छन् भने स्कटल्याण्डका ब्रान्डन माकमुलन, न्युजिल्याण्डका स्कट कुग्लेगिन र इंग्ल्याण्डका सेफ अली जेब छन् । टीमको मेन्डर अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हज छन् ।

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोज राज भट्ट

विदेशी खेलाडी : ब्राण्डन म्याकमुलेन, सैफ अली जैब, स्कट कुग्लेइन, रोहन मुस्तफा

नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोयल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय