+
+
गणेश हिमाल आधार शिविरबाट उद्धार :

‘५४ सय मिटरमा पुगेको घमण्ड ३४ सय मिटरमै चुर भयो’

५ हजार ४०० मिटर थोराङ्ला काटेको घमण्ड थियो । तर ३४ सय मिटर पुग्दा नै एक जनालाई चिसोले च्यापेपछि हाम्रो मिसन यसपटक बीचमै स्थगित गर्नुपर्‍यो । हाम्रो घमण्ड चूर भयो ।

विष्णुप्रसाद आचार्य विष्णुप्रसाद आचार्य
२०८१ कात्तिक २९ गते १७:२६

हामी गणेश हिमाल बेस क्याम्प, गणेशकुण्ड, कालो दह, सेतो दह लगायतका पर्यटकीय स्थानको अध्ययन अनुसन्धान र प्रवर्द्धन गर्ने अभियानमा छौं । ती क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्ने उद्देश्यसहित रुवीभ्याली गाउँपालिकालाई पनि समेटेर हाम्रो टोली एउटा ठूलो मिसनमा थियो । त्यही मिसनअनुसार कात्तिक २२ गते धादिङबेसीबाट गणेश हिमालको आधार शिविरतर्फ २८ जनाको टोली प्रस्थान गर्‍यौं ।

हामीसँग आठ जना भरिया थिए । साथमा, टेन्ट, खानेकुरा सबै कुरा थियो । लोकल गाइड, सामुदायिक वनका मान्छेहरू पनि थिए । यसको अर्थ वेल–इक्विप्ड (साधनस्रोत सम्पन्न) टोली थियो हामीसँग ।

पदयात्राको क्रममा ४ हजार ६५० मिटर माथि हार्चेपास क्रस गर्‍यौं । त्यसपछि तल ४ हजार १२० मिटरमा आयौं । र, कालोदह, सेतो दह क्षेत्रमा एकरात बस्यौं । अर्को दिन ३१ सय मिटर तलको एउटा खोला किनारमा बस्यौं ।

त्यसपछि हामी गणेश हिमालको बेसक्याम्प उक्लिंदै थियौं । ३ हजार ४५० मिटर माथि पुगेपछि बल्ल टोली सदस्य अनुसिया ढुंगानालाई अलिअलि चिसोको समस्या देखिन थाल्यो । त्यसपछि हामी ३ हजार मिटरमा झर्‍यौं । त्यहाँको गुफामा टेन्टभित्र दुई रात बस्यौं । त्यहाँ पुगिसकेपछि उनलाई कामज्वरो आयो र निमोनियाको लक्षण पनि देखियो ।

त्यसपछि मैले तत्काल निर्णय गरेर सबै २८ जनाको टोलीलाई एक घण्टाभित्रै फेरि ३ हजार मिटर तल झारें । उनलाई हिंडाउन एकदमै गाह्रो भयो ।

भरियाहरूले बोकेर भए पनि हामी लैजान्छौं भनेका थिए तर जोखिम होला भनेर डर लाग्यो । मैले योभन्दा बढी जोखिम उठाउन सकिनँ । र, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे सरलाई खबर पठाएर उद्धारको सहयोग मागें ।

तर समस्या के भयो भने हामी एकदमै खोंचमा थियौं यद्यपि बस्ने ठाउँ चाहिं सुरक्षित थियो । वरपर बस्ती थिएन । सञ्चार सम्पर्क पनि हुँदैनथ्यो । फोन लाग्ने ठाउँसम्म पुग्न कम्तीमा पाँच सात घण्टा हिंड्नुपर्थ्यो । केही साथीहरू त हिंडेर हिन्दुङ गाउँतर्फ जानु पनि भयो । मसहित १६ जनाको टोली भने अनुसियासँगै रह्यौं ।

बुधबार हामीलाई उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर आएको रहेछ तर ल्याण्ड गर्न नसक्दा र सञ्चार सम्पर्क पनि नहुँदा फर्किएपछि आज दिउँसो बल्ल हाम्रो उद्धार भयो । हामी ट्रेकिङमा निस्किएको नवौं दिनको दिन केएमसी अस्पताल सिनामंगलमा छौं ।

उद्धारपछि काठमाडौंमा लेखकसहितको टोली

मेरो स्वास्थ्य सामान्य छ । मलाई चिसोले गर्दा सामान्य रुघाखोकी मात्र लागेको छ । अलि धेरै बिरामी परेको भनेको अनुसिया हुन् । डाक्टरहरुले प्रारम्भिक जाँच गर्दा उनी खतरा मुक्त रहेको भन्नु भएको छ । उनको रगत जाँच, एक्सरे लगायतका काम भइरहेको छ ।

तर सहजरुपमा सञ्चार सम्पर्क नहुँदा र एक व्यक्तिमार्फत् अर्को व्यक्तिसम्म सूचना प्रवाह हुँदा मिस कम्युनिकेसन भएर एकदमै आतंक फैलिएको रहेछ । मैले त आज मात्र सामाजिक सञ्जाल चलाउन पाएँ । सामाजिक सञ्जाल र मिडियातिर त केके न भयो भनेजस्तो आतंक फैलिएको रहेछ । जब फोन सम्पर्क भयो, मिडियाको सम्पर्कमा आइयो अनि बल्ल पो हामी आत्तियौं ।

‘तीनवटा पाठ सिकियो’

म आफैं टेक्रर हुँ । त्यसैले यो मिसनको नेतृत्व मैले नै गरेको थिएँ । म पदयात्रा गर्दै हिमाली क्षेत्रमा धेरैपटक गएको छु ।

वन कार्यालयको कर्मचारी, धेरै ठाउँमा हिंड्नुपर्ने भएकाले यस्ता कुरा सामान्य लाग्थ्यो । ५ हजार ४०० मिटर थोराङ्ला काटेको घमण्ड थियो । तर ३४ सय मिटर पुग्दा नै एक जनालाई चिसोले च्यापेपछि हाम्रो मिसन यसपटक बीचमै स्थगित गर्नुपर्‍यो । हाम्रो घमण्ड चूर भयो ।

यो घटनाबाट मुख्यगरी तीनवटा पाठ सिकियो । ट्रेकिङमा जाँदा मेडिकल टिम लिएर जानुपर्थ्यो, हामीले लगेनौं ।

दोस्रो कुरा, हामी त फाइभजी चलाएर शहरमा बसेका मान्छे, पहाडमा कतिधेरै ‘कम्युनिकेसन ग्याप’ रहेछ भन्ने बल्ल थाहा भयो । त्यसैले पहाडी क्षेत्रका डाँडाकाँडा सबैतिर टेलिफोन लाग्ने व्यवस्था गर्नुपर्ने रहेछ । यदि टेलिफोन सजिलै लागेको हुन्थ्यो भने यति धेरै आतंक र समस्या हुने नै थिएन ।

तेस्रो कुरा, वाकीटाकी वा स्याटेलाइट फोन पनि साथमा लैजानुपर्ने रहेछ । त्यो हाम्रो दिमागमै आएन र दुःख पाइयो ।

(उद्धारपछि काठमाडौं आइपुगेका आचार्यसँग कुराकानीमा आधारित)

लेखकको बारेमा
विष्णुप्रसाद आचार्य

लेखक धादिङका डिभिजनल वन अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?