 
																			३० कात्तिक, पोखरा । इमेज सहकारीका सञ्चालक देवकुमार नेपालीको नाममा रहेको तीन वटा घर लिलामी भएको छ । बागलुङका दुई र पोखरा सिर्जनाचोकको घर (कर्मा भवन) बैंक लिलामीमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य गोमाकुमारी क्षेत्री र विकास गौतमले लिएका छन् ।
तीन वटै घर नेपालीको नाममा थियो र, त्यसमा इमेज सहकारीको कार्यालय राखिएको थियो । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारी समस्यामा छ । बैकले पनि धितो राखेको घर लिलाल गर्यो ।
बैंकहरुले प्रक्रियाअनुसार घर लिलाल गरेर आफ्नो पैसा उठाएपछि पीडित बचतकर्ताले चासो देखाएका छन् । बागलुङ बजारस्थित सहकारी रहेको घर, देवकुमार पक्राउ पर्नु अगाडि नै गोमाकुमारीको नाममा पास भइसकेको मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्रबहादुर थापाले जानकारी दिए । उनकाअनुसार गत भदौमा देवकुमारको नामबाट गोमाकुमारी र विकासको नाममा पास भएको हो ।
गोमा रास्वपा केन्द्रीय सदस्य छन् भने गौतम पनि रास्वपाकै विदेश विभागमा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । गोमाकुमारी बागलुङ–११ कि हुन् भने विकास शुक्लागण्डकी–१२ तनहुँका । राष्ट्रिय सहकारी बैंक, बागलुङको १३ करोड, गरिमा विकास बैंकको ३ करोड ६५ लाखको रुपैयाँ गरी लिलाम घर गोमा र गौतमले बोलकबोल गरेका छन् ।
ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका देवकुमारले यो घरको रकम ३२ करोड भनेको थिए । तर साह्रै कममा लिलाम भएको पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीले बताए ।
उनका अनुसार बैंकले लिलामी पैक्रिया अगाडि बढाएपछि पीडित बचतकर्ताले पटक पटक रोक्न पत्र लेखेका थिए । ‘राष्ट्रिय सहकारी र बैंकले सानो रकम उठाउन ठूलो सम्पत्ति लिलाम गर्न लागेको भन्दै पटकपटक पत्र लेख्यौं, राष्ट्र बैंकका गभर्नरसम्म पुग्यौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त फोन नै गरिदिनुभएको हो,’ कार्कीले अनलाइनखबरसँग भने ।
उनका अनुसार गोमाका श्रीमान रामबहादुर केसीले बचतकर्ताहरुको भेलामा देवकुमारकै सल्लाहमा आफूले घर लिएको मात्र बताएनन्, पछि ब्याजसहित उनैलाई फिर्ता गर्ने बताएका छन् ।
‘सार्वजनिक भेलामै आएर मैले तपाईंहरुको कल्याण गरिदिएको हुँ । सबै घरजग्गा बैंकले लिलाल निकाल्दै थियो, म यहाँ वासिन्दा भएको हिसाबले एक वर्षभित्रमा मेरो सावामात्र दिनुस्, म फिर्ता गर्छु भनेका थिए’ कार्की भन्छन्, ‘फिर्ता दिने कागजै गर्न पनि तयार छु भनेपछि हामीले रोक्का घर फुकुवा गराउन सहयोग गरेको हो ।’
पोखराको सिर्जना चोकमा रहेको कर्मा भवन पनि गरिमा विकास बैंकमार्फत यही जोडीले लिलामी कबोल गरिसकेको छ ।
सिर्जनाचोकमा २४९.३० वर्गमिटर जग्गामा इमेज सहकारीसमेत रहेको कर्मा भवन छ । यसका लागि गोमा र विकासले ४ करोड ५० लाख कबोल गरेका हुन् भने ८२ लाख रुपैयाँ धरौटीबापत बुझाएका छन् । तर नामसारी भइसकेको छैन ।
इमेज सहकारी पोखराको संघर्ष समिति सचिव गोपाल लामाका अनुसार बैंक र गोमाकुमारीका मानिसहरुले रोक्का खुलाइदिन आग्रह गर्दै बचतकर्ताको रकम फिर्ता गराउन आफूहरु नै लाग्ने बताएका छन् । ‘हामीले नै अब पीडितको पनि बचत रकम फिर्ता गराउन हो, बिस्तारै तपाईंहरुले बचत पनि फिर्ता पाउनुहुन्छ, रोक्का घर फुकुवा गर्न पीडितहरुले सहयोग गरिदिनुस् भनेपछि हामीले हुन्छ भनेका हौं,’ लामाले भने ।
तर वडाबाट बाटो खुला सिफारिस रोकिएको पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख अनिल कार्कीले बताए । पोखराका मेयर धनराज आचार्यकै जोडबलमा घरको बाटो खुलाउने सिफारिस रोकिएको हो ।
संघर्ष समितिका पदाधिकारीहरुले भने सम्पत्ति बेचेर रकम फिर्ता गर्न माग गर्दै आएका छन् । संयोजक दिलबहादुर कार्कीले भने, ‘देवकुमारले मेरो सम्पत्ति बेचेर लिनु भनेकै छ, त्यो प्रक्रिया पनि छिटो बढाइदिनुपर्यो ।’
बागलुङ र पोखरामा गरी २ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर फरार भएका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका नेपालीले आफ्नो घरजग्गा बेचेर ऋण तिर्न तयार रहेको बताएका थिए ।
कास्की र बागलुङमा गरी झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको सार्वजनिक भएसँगै मेयर नेपाली २०८० जेठ ५ गते फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो ।
११ असोजमा भारतमा पक्राउ गरी उनलाई बागलुङ ल्याइएको छ । असोज १५ गते उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनीसँगै पक्राउ परेका दाइ ओमबहादुर दर्जी डेढ लाख धरौटीमा छुटे ।
बागलुङ बजारमा मुख्य कार्यालय र बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्रका नाममा सहकारी ऐनबिपरीत बचत रकम अपचलन गरेका नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट पनि बचत रकम अपचलन गरेको आरोपमा कास्कीमा पनि उनीविरुद्ध मुद्धा छ । नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4