 
																			५ मंसिर, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकास निर्माणका काममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौं,’ उनले भने, ‘चुनाव जितिसकेपछि विकासका मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।’ गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताए ।
‘लोकतन्त्रमा जनताका अधिकार सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने व्यवस्था हो । त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ । यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ । त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्त्वपूर्ण छ,’ उनले भने ।
उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ उनले भने, ‘सेवा प्रदान गर्दा जनतालाइै सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्,’ उनले भने ।
गृहमन्त्री लेखकले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए ।
‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘यो सरकार देशमा स्थीरताका र सुशासन कायम राख्नका लागि बनेको हो ।’
जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको उनले बताए ।
‘एकै महिनामा परिणाम आउँदैन, सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौं ।’
पछिल्लो समय लागूऔषधका कारण दुर्घटना बढेको भन्दै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4