
४ मंसिर, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि भिसा लागिसकेर कोरिया जान प्रतिक्षामा रहेका श्रमिकहरू दशैंअघिदेखि उड्न पाएका छैनन् । कोरियन एयरको नेपाली एजेन्ट युनिर्भसल टुर्स एन्ड ट्राभल्सले टिकट नदिएपछि करिब १४ सय श्रमिकहरू समयमै कोरिया जान नपाएका हुन् ।
सरकारले कोरिया जाने श्रमिकले किन्ने हवाई टिकट टेन्डरमार्फत दर तोकेर युनिभर्सलसँग सम्झौता गरेको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले आगामी २० मंसिरसम्म टेन्डर हाल्न पाउने गरी बोलपत्र आह्वान गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार आफूसँगको सम्झौता नवीकरण हुनुपर्ने भन्दै युनिभर्सलले लामो समयदेखि श्रमिकलाई हवाई टिकट उपलब्ध गराएको छैन । ‘विभिन्न बहाना गरिए पनि नयाँ सम्झौता गर्न लागिएपछि घुमाउरो रूपमा दबाब दिइएको हो,’ मन्त्रालयका एक अधिकारीले भने ।
यअसघि असारमा टेन्डर आह्वान गर्दा कोरियन एयरको नेपाली एजेन्ट युनिभर्सलले दायर गरेको रिटमा सर्वोच्च अदालतले २० मंसिरसम्म पुरानै सम्झौता अनुसार काम गर्न दिन आदेश गरेको थियो । यसअनुसार विभागले २० मंसिरपछि नयाँ सम्झौता गर्ने गरी टेन्डर गरेको छ ।
ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार अहिले कोरिया जाने श्रमिकहरू कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रूपैयाँ तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्सका साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी निकै कम भाडा लिने गरेका छन् ।
ईपीएस कोरिया शाखाले आह्वान गरेको टेण्डरअनुसार सम्झौता भएमा अब सस्तो दरमा श्रमिकलाई कोरिया पु¥याउन सकिने अपेक्षा छ । यसअघि सोझै उडानमार्फत लैजानुपर्ने भन्दै कोरियन एयरसँग माघ २०७९ मा एक वर्षका लागि प्रतिव्यक्ति ८९५ डलरको भाडादरमा लैजाने गरी सम्झौता भएको थियो । महंगो भाडादरमा जान बाध्य पारेको भनेर त्यसबेला पनि प्रश्न उठेको थियो । तर ईपीएस कोरिया शाखाले बढीमा एक वर्षसम्मका लागि भन्दै म्याद थप गरिदिएको थियो ।
अहिले नयाँ टेन्डर भएपछि युनिभर्सलले श्रमिकलाई रोकेर पुरानै सम्झौता नवीकरण गर्न दबाब दिएको हो ।
वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठ दशैं तिहार जस्ता चाडपर्वका कारण उडान घटेर टिकट नपाउँदा १२ देखि १४ सय श्रमिक कोरिया जान केही ढिलाइ भएको बताउँछन् । सबै समस्या समाधान भइसकेकोले अब भने नियमित उडानमार्फत नै सबै श्रमिकहरू कोरिया जान पाउने उनी दाबी गर्छन् ।
युनिभर्सलले दबाब दिन खोजेको हो कि भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘चाडपर्वको समय भएकाले केही समस्या भएको हो, अब नियमित रूपमा श्रमिक लैजाने कुरा भएको छ । उहाँहरूको पनि यो व्यवसायको कुरा हो ।’
२० मंसिरमा नयाँ टेन्डर खोलिने र त्यसअनुसार नै कम भाडादर प्रस्ताव गर्ने कम्पनीसँग सम्झौता हुने पनि प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया 4