 
																			१२ मंसिर, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर-१ मा वडाध्यक्षको लागि हुने उपचुनावको सरगर्मी छ । चुनाव नजिकिंदै जाँदा मतदाता फकाउन उम्मेदवारहरुलाई भ्याइनभ्याइ छ ।
यस वडामा नेपाली कांग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको ३१ जेठ २०८१ मा निधन भएपछि अगामी मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो । तीन हजार २२६ मतदाता रहेको यस वडामा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट प्रमोद यादव, कांग्रेसबाट अशोककुमार मण्डल, नेकपा माओवादी केन्द्रबाट सुनिल कापर केवट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रामदेवसिंह दनुवार, जसपा नेपालबाट अजयकुमार यादव, जनमत पार्टीबाट कुशेश्वर मण्डल, बहुजन एकता पार्टीबाट प्रमिला कुमारी सदा उम्मेदवार छन् ।
एमालेका उम्मेदवार प्रमोद यादव घरदैलो सकाएर मंगलबार दिनभर समूहमा भेटघाट गर्ने कार्यमा व्यस्त रहे । मतदाताको मनस्थिति बुझ्दै रणनीति बनाउन उनले समूहमा भेटघाटलाई निरन्तरता दिएका हुन् । ‘घरदैलो सकाइसकें । अब ग्रुप–ग्रुपमा भेटेर निर्वाचनबारे छलफल गरेर गर्नुपर्ने तयारी गर्दैछौं’ उनले भने ।
पेसाले किसान रहेका यादव आफू पराजित भए पनि विगतमा निरन्तर जनताको लागि काम गरेको र कृषि, शिक्षा स्वास्थ्यमा काम गर्ने सहितको एजेण्डा लिएर जनताको बीचमा मत मागिरहेकाले यसपटक परिणाम आफ्नो पक्षमा आउने उनले विश्वास व्यक्त गरे । गत निर्वाचन २०७९ मा यादव निकटतम प्रतिद्वन्दी थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका विश्वनाथ यादव ठूलो मतान्तरले विजयी भएका थिए । उनले ६१८ मत ल्याएर वडाध्यक्ष जित्दा निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार प्रमोद यादवले ३७७ मा मत पाएका थिए । ३६९ मतसहित तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका शुनिल कापर केवट उपनिर्वाचनमा पनि उम्मेदवार बनेका छन् ।
तत्कालीन चुनावमा चौथो स्थानमा जसपाका उम्मेदवार देवनारायण यादवले ३२५ मत पाएका थिए भने पाँचौ स्थानमा बहुजन एकता पार्टीका उमेशकुमार सदाले १२५ मत पाएका थिए । अन्य उम्मेदवारले ५४ मत कटाउन सकेका थिएनन् ।
एमालेका उम्मेदवार प्रमोद यादव जस्तै माओवादी केन्द्रका उम्मेदवार शुनिल कापरले घरदैलो सकाइसकेका छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन भेटघाटलाई तीव्रता दिएको बताए । ‘घरदैलो सकाएपछि भेटघाट जारी राखेको छु । आफूले समाजमा दिएको योगदान सम्झाउने र जितेपछि अगामी दिनमा गर्ने कामबारे बुझाउने प्रयास गर्दैछु’ उनले भने ।
उनले आफ्ना एजेण्डा भएका चुनावी पर्चा छपाएका छैनन् । ‘विगतमा एजेण्डा पत्र लिएर जानेहरुले काम गर्न सकेनन् । म गर्न नसक्ने कुराको झुटो आश्वासन बाँड्ने पक्षमा छैन’ उनी भन्छन् ।
यहाँ माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीको साथ छ । एकीकृत समाजवादीबाट मनोनयन दर्ता गराएका गोपाली साहले माओवादी उम्मेदवार कापरलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
विगतका दुईपटकको निर्वाचन परिणामले वडा नम्बर १ कांग्रेसको आधार किल्ला मानिन्छ । किनभने नगरपालिकामा दोस्रोपटक कांग्रेसबाट मेयर जितेका बालेश्वर मण्डल र कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगानाको घर पनि यसै वडाको धनुषा खोइर टोलमा पर्छ । त्यसमा पनि कांग्रेस उम्मेदवार अशोक मण्डल मेयर बालेश्वरका नातामा भतिज पर्छन् । अशोकको बुवा भोला मण्डल माओवादी सशस्त्र युद्धमा सुराकी आरोपमा मारिएका थिए ।
बिरासत जोगाउन कांग्रेस चुनावी तयारीमा जुटेको छ । कांग्रेसका उम्मेदवार अशोक विगतमा पनि कांग्रेसका वडाध्यक्षले गरेका राम्रा कामको जस जनतामा पाउने गरेको र बाँकी कामको अभिभारा जनताले पूरा गर्ने पक्षमा जनता देखिएको उनको भनाइ छ ।
‘कांग्रेसले राम्रो काम गरेकै कारण दुईपटक जनताले विश्वनाथ यादवलाई जिताउनु भयो । अब उहाँको बाँकी काम मैले जितेर गर्छु’ उनले भने । आफूले जिते यो वडालाई नमूना बनाउने उनको चुनावी एजेण्डा छ ।
जसपा नेपालका उम्मेदवार अजयकुमार यादवले पनि घरदैलो सकाएर व्यक्तिगत तवरमा भेटघाटलाई निरन्तरता दिएका छन् । उनले वडामा विगतमा जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य र कृषिमा केही पनि काम गर्न नसकेको र आफूले जिते यी क्षेत्रमा उदाहरणीय काम गर्ने बताए ।
‘शिक्षा र स्वास्थ्य निकै भद्रगोल छ । विगतमा केही भएन । कृषिमा सिंचाइ मिटर फ्रि गर्ने लगायतको मेरो चुनावी एजेण्डा छ’ उनले भने । यसपटक जनताले विगतको मत परिवर्तन गरेर आफूलाई जिताउने उनको विश्वास छ ।
आ-आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन नेताहरुको दौडधुप जारी छ । विगतको चुनावी गणितले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन छ । यद्यपि कांग्रेसको किल्ला भत्काउन दलहरुलाई चुनौती छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4